- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । बलात्कार आरोपमा मुद्दा खेपिरहेका नेपालका स्पिन बलर सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा एक सय विकेट पूरा गरेका छन् ।
उनले विश्व कीर्तिमानसहित एक सय विकेट पूरा गरेका हुन् । ओमानका अदिल शाफिकको विकेट लिएसँगै सन्दीपले सय विकेट पूरा गरेका हुन् ।
उनले कम खेलमा सय विकेट पूरा गर्ने कीर्तिमान बनाएका हुन् । यसअघि ओडीआईमा ४४ खेलमा सय विकेट पूरा गरेर अफगानिस्तानका खेलाडी राशिद खानको नाममा कीर्तिमान रहेको थियो । खानले सन् २०१८ मा ४४ एक दिवसीय अन्तराष्ट्रिय खेलमा एक सय विकेट पूरा गरेका थिए ।
सन्दीपले ४२ एक दिवसीय अन्तर्राष्ट्रियमा सय विकेट पूरा गरेका छन् । यसअघि अष्ट्रेलियाका मिचेल स्टार्कले ५२ खेलमा सय विकेट पूरा गरेका थिए ।
नेपालका लागि सन्दीपपछि सोमपाल कामीले ४४ खेलमा ६१ विकेट लिएका छन् । यो विकेट नेपालले ओमानविरुद्ध ५० औं ओडीआई खेल्नुअघिको हो ।
सन्दीपले सन् २०१८ अगष्ट १ का दिन खेलिएको नेपालको पहिलो ओडीआई खेलमा डेब्यु गरेका थिए । सन्दीपले नेपालको लागि १४ ओडीआई खेलमा कप्तानी गरेका थिए ।
तर निकै नै उत्कर्षको क्रिकेट खेलिरहेका बेलामा नाबालिग बलात्कार आरोपमा परेपछि उनी गत वर्षको भदौ अन्तिमदेखि फागुनसम्म खेल्न पाएनन् । केही समय उनी जेलमासमेत रहे । उनको मुद्दाको अन्तिम सुनुवाइ हुँदैछ ।