arrow

लुम्बिनी प्रदेश सरकार गठन: धारा १६८(२) कि (३) अनुसार ?

logo
नारायण वली,
प्रकाशित २०८० वैशाख ११ सोमबार
lumbini-province-9.jpg
तस्बिर – फाइल ।

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत नपाएपछि नयाँ सरकार गठन आह्वानका लागि प्रदेश प्रमुख अमिक शेरचनको हातमा गएको छ । मुख्यमन्त्री गिरी अल्पमतमा परेपछि प्रदेश प्रमुख अमिक शेरचनले अब नयाँ सरकार गठनका लागि आह्वान गर्ने छन् । तर नयाँ सरकार गठन गर्दा कुन धारा प्रयोग गरिनेछ भन्ने विषय चासोको रुपमा रहेको छ ।

संसद सचिवालयले आज विश्वासको मतको पक्ष र विपक्षमा भएको मत विभाजनको नतिजा प्रदेश प्रमुखलाई जानकारी गराउने छ । सो जानकारी प्राप्त भएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्ने बताइएको छ।

प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले भने, ‘आफूहरुले आज विश्वासको मतको पक्ष र विपक्षमा प्राप्त मतको जानकारी प्रदेश प्रमुखको कार्यालयमा पठाउँछौँ, त्यसपछि प्रदेश प्रमुखबाट नयाँ सरकार गठनका लागि आह्वान हुन्छ ।’

संविधानको धारा १६८(२) अन्तर्गत सरकार गठनका लागि आह्वान भएमा नेपाली कांंग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी नेतृत्वमा सरकार गठन हुनेछ । वर्तमान गठबन्धनमा आवद्ध दलहरुले १६८(२) अन्तर्गत सरकार गठनका लागि आह्वान माग गर्दै यसअघि प्रदेश प्रमुख शेरचन समक्ष चौधरीलाई मुख्यमन्त्री प्रस्ताव पेश गरिसकेका छन् ।

यसैगरी संविधानको धारा १६८(३) अन्तर्गत सरकार गठनका लागि आह्वान भए संसदको ठूलो दलको हिसाबले पुनः एमालेले नै सरकारको नेतृत्व गर्न पाउने बताउँछ ।

एमाले सांसद भुमिश्वर ढकालले भने, ‘हामीहरुले धारा १६८ (३) अन्तर्गत नै सरकार गठनका लागि आह्वान हुन्छ भन्नेमा आशावादी छौँ ।’  उनले १६८ (२) अन्तर्गत नै अहिलेको सरकार बनेकाले अबको नयाँ सरकार गठनको बाटो १६८ (३) नै भएको दाबी गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ