काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले शान्तिको मर्म र भावना युद्ध तथा विद्रोहबाट आएकालाई नै सबैभन्दा बढी अनुभूत हुने बताएका छन् ।
अन्तर्राष्ट्रिय अहिंसा दिवस तथा गान्धी जयन्तीका अवसरमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले गान्धीले शान्ति अहिंसाको मार्गबाट समाजलाई परिवर्तन गरे पनि राष्ट्रिय आवश्यकता र समाजको चाहनाले राजनीतिमा हिंसाको प्रयोग भए त्यसले अन्ततः शान्तिको मार्गमा नै देखाउने बताए ।
आफू र गिरिजाप्रसाद कोइरालाले मुलुकको हित र चाहनालाई आत्मसात् गर्दै १२ बुँदे सहमति, शान्ति सम्झौतामार्फत मुलुकलाई शान्तिको मार्गमा ल्याएको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, ‘मुलुकको हितका लागि हामीले गरेको प्रयास र प्रयत्नलाई लेखक तथा पत्रकारले विष्लेषण गरेर विश्व समुदायलाई जानकारी गराउनुपर्दछ ।’
दाहालले शान्ति र संविधानको मार्गबाट मुलुक अगाडि बढेको र त्यसलाई समृद्ध पार्न सबैको साथ र सहयोगको जरुरी रहेको आवश्यकता औंल्याए । प्रधानमन्त्रीले भने, ‘संविधानको सर्वस्वीकार्यता बढाउन र त्यसको अपनत्व बढाउनका लागि सरकार प्रयत्नशील छ । राजनीतिक दल त्यसमा इमान्दार भएर लाग्नुपर्दछ । गिरिजाप्रसाद कोइराला र मैले सुरु गरेको शान्तिको मार्गलाई फराकिलो बनाएर मुलुकलाई समृद्ध र स्थिर बनाउनु आजको आवश्यकता हो ।’
राजनीतिक दल र सरोकार भएका पक्षले ध्यान नदिने हो भने शान्ति र संविधानको प्रक्रिया धरापमा पर्नसक्ने भन्दै उहाँले मुलुकको विशिष्ठता र आवश्यकतालाई ख्याल गरेर अगाडि बढ्न र सकारात्मक सहयोग गर्न आग्रह गरे ।
प्रधानमन्त्रीले गान्धीवाद र माओवादको संष्लेषण गरेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै भने, ‘नेपालमा दुवै खालको विचारको नयाँ प्रयोग भएको छ । विष्लेषक, पत्रकार तथा लेखकले त्यसलाई सैद्धान्तिकीकरण गरेर विश्व समुदायलाई सन्देश दिनुपर्दछ ।’
दाहालले नेपालको विशिष्ठ र मौलिक प्रकारको शान्ति प्रक्रियाले समग्र दक्षिण एसियालाई प्रभाव पारेको भन्दै मुलुकमा भएको ऐतिहासिक प्रयोगबाट विश्व समुदायले शिक्षा लिनसक्नेछ भने ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई सर्वस्वीकार्य बनाएर मुलुकलाई समृद्ध बनाउनु प्रमुख आवश्यकता रहेको भन्दै प्रधानमन्त्रीले नेपालमात्रको हितका खातिर सबै लाग्नुपर्नेमा जोड दिए ।
नेपाली काँग्रेस र आफ्नो पार्टीले सुरु गरेको शान्ति र संविधानको मार्गलाई पूर्णता दिन आफूहरु लागिपरेको र सोही दिशामा सबैलाई अघि लैजाने प्रधानमन्त्रीको भनार्इ छ ।
कार्यक्रममा उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले शान्ति र अहिंसाको मार्गबाट नै मुलुकलाई अगाडि बढाउन सकिने बताए । भारत, दक्षिण एसियालगायत विश्व नै अशान्ति र अहिंसाको चपेटामा परेको भन्दै प्रधानमन्त्री दाहालले नेपालबाटै विश्व समुदायलाई सकारात्मक सन्देश दिनुपर्नेमा जोड दिए ।
दाहालले आफ्नो पार्टीले पनि विगतमा हतियारको राजनीति गरेको स्पष्ट पार्दै अशान्ति र अहिंसाबाट भन्दा शान्तिपूर्ण मार्गबाटै समाज र मुलुकको परिवर्तन गर्न सकिने धारणा राखे ।
अस्पतालको निरीक्षण
यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहालले महेन्द्रनारायण निधि अस्पतालको निरीक्षण गरे ।
प्रधानमन्त्री दाहालले महेन्द्रनारायण स्मृति प्रतिष्ठानले बसुन्धरामा सञ्चालन गरेको उक्त अस्पतालको निरीक्षण गरी अस्पतालबाट प्रदान हुँदै आएको सेवा, सुविधाबारे जानकारी लिनुभएको प्रधानमन्त्रीका स्वकीय उपसचिव मनोहरि तिम्सिनाले जानकारी दिए ।