- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाल प्रहरीका उपरीक्षक (एसपी) आभुषण तिम्सिनाले राजीनामा दिएका छन् । उनले लामो स्टाटस लेखेर आफूले राजीनामा दिनु पर्नाको कारण लेखेका छन् ।
यस्तो लेखेका छन् उनले –
म, प्रहरी उपरीक्षक आभुषण तिम्सिना मिति २०५६ साल असार ३ गतेबाट जनसेवा गर्ने उत्कृष्ट संस्थाको रुपमा दरिएको नेपाल प्रहरीमा प्रहरी निरीक्षक पदमा नियुक्त भई हालसम्म नेपाल प्रहरीमा कार्यरत छु।
मैले नियुक्तिको प्रमाणपत्र पाउने समयमा म लोकसेवा पास गरेर लोकसेवाको वरीयतामा पहिलो नम्बरमा नाम निकालेर भर्ना हुँदा म मा देशप्रतिको जुन अगाढ निष्ठा, जनसेवा गर्ने जुन प्रगाढ भावना थियो त्यसलाई बोकेर नेपाल प्रहरीमा मेरा सहकर्मी साथीहरुसँगै सेवा प्रवेश गरेको थिएँ।
तर आज मिति २०८० साल बैशाख १७ गतेबाट म मैले लगभग २५ वर्ष पूरा हुन ४९ दिन बाँकी रहँदा नेपाल प्रहरी जस्तो जनस्तरसम्म जोडिएको पबित्र संस्थाबाट राजीनामा दिएर अलगिने निर्णय गरेको छु।
नेपालको संविधान २०७२ को मौलिक हकमा नअटाएका भेदभाव, असमानता, अन्याय, थिचोमिचो, बिभेद, नातावाद, कृपावादको माखेसाङ्लोबाट नेपाल प्रहरीका क्षमतावान, उत्कृष्ट राष्ट्रसेवक कर्मचारीहरु कहिले मुक्त हुने र कानूनले नचिनेका शक्तिकेन्द्रहरु धाउने क्रम कहिले अन्त्य हुने भन्ने ठूलो प्रश्नको बोझले नेपाल प्रहरीका कर्मचारीहरु कहिले मुक्त हुने भन्ने प्रश्नको उत्तर खोज्ने प्रयास कहिले सार्थक हुने ?
अन्यायको शिकार भएका यी तिन दिन र रातहरुमा मैले अन्यायलाई चुपचाप सहनु भनेको अन्यायलाई र अन्यायी प्रबृत्तीलाई थप मलजल र जगेर्ना गर्नु हो भन्ने बिश्वब्यापक धारणालाई गहिरिएर मनन गरेको छु ।
आफ्नै मानव अधिकारको हरण पटक पटक ब्यहोरेको व्यक्तिले आम नागरिकका मानव अधिकारहरुलाई कसरी रक्षा गर्ला भन्ने चिन्ताले म यी ३ रात सुत्न सकिन।
चन्द्र शमशेरले राणा कालमै अन्त्य गरेको दासप्रथालाई निरन्तरता दिने पक्षमा म सार्बभौम नेपाली नागरिकको हैसियतमा कदापि छैन। पदबाट राजीनामा दिएर अलगिएको आजैका मितिबाट म सार्वभौम र कानूनको सम्मान गर्ने पूर्ण नेपाली नागरिकमा रुपान्तरित भएकोमा गौरवान्वित महसुस गरेको छु।
म आजैका दिनबाट नेपालको प्रत्यक्ष र समानुपातिक मतदाताको रुपमा दरिने आधारभुत योग्यतालाई पूर्ण विवेकका साथ प्रयोग गर्न पाउने हैसियतमा पुगेको गौरानुभूति भइरहेछ।
अन्याय, विभेद, अत्याचार, भेदभाव, थिचोमिचो जस्ता मत्स्यन्यायको शिकार भएका आम नेपाली सर्वसाधारण नागरिकलाई न्याय दिलाउने संवैधानिक उद्धेश्य लिएर स्थापना भएको नेपाल प्रहरी जस्तो पबित्र संस्थामा म आफैं अन्यायमा परेको कृत्रिम सुखानुभूति गरेर आफैँ अन्यायमा परेको भावनाले पीडित व्यक्तिको रुपमा कसरी नागरिकका हक अधिकारको संरक्षण गर्न सक्छु र कसरी देश प्रतिको प्रगाढ आस्थालाई जीवन्त राख्न सक्छ भनेर मैले मेरो जागिरलाई निरन्तरता दिएर आम करदाता नेपाली नागरिकको काँधमा बोझको रुपमा रहिरहनु उचित नलागेर मैले मेरो जवानी लुटाएको संस्थाबाट अलग्गीने निर्णय गरेको छु।
आफू अन्यायको शिकार भएको र आफूप्रति भएको अन्याय चुपचाप सहेर बस्ने अधिकारीले जागिरमा रहँदा बस्दा आफूमाथि भएको अन्यायको बिलौना मात्रै गरेर बस्ने, अन्यायको व्यक्त गर्न नसक्ने तर भित्रभित्रै पिरोलिरहने बोझ र कुण्ठा बोकेर संगठनमा अडेको व्यक्तिको रुपमा आफू समक्ष आउने आम नेपाली नागरिकहरुलाई कसरी न्यायको भरोसा दिलाउन सक्छु भन्ने कुरोको बोध पश्चात् मैले यो संगठनमा रहिरहनु उचित मानिन।
मैले यो संगठनमा रहँदा बस्दा मँसँग काम गरेका मेरा सहकर्मी, सहयोद्धा प्रहरी कर्मचारीहरुले मलाई गरेको सहयोग मेरो जीवनमा मार्गदर्शक सिद्धान्तको रुपमा रहिरहने छन्।
‘इन्जस्टिस एनिह्वेयर इज थ्रेट टु जस्टिस एभ्रिह्वेयर’ भन्ने मार्टिन लुथर किङको भनाइलाई आज मेरो अन्यायको विरुद्ध लडिरहने आदर्श मूल मन्त्र बनाएर मेरो जागिरे जीवनलाई यहीँबाट पूर्णविराम लगाउँदै न्याय दिलाउने संस्था आफ्नै सदस्यहरुलाई न्याय गर्न सक्दैन भने त्यो संस्थाको औचित्य विस्तारै समाप्त हुँदै जानेतर्फ समेत नेपाल प्रहरीका साथीभाइ र अग्रजलाई समेत सुझाब दिन चाहन्छु।
मैले जागिरे जीवनमा के कस्ता अन्याय सहनु पर्यो भन्ने कुरा म क्रमशः मेरा आफन्त, साथीभाइ र इष्ट मित्रले पाउने गरी यही सार्वजनिक मञ्चमार्फत राख्नेछु।
यसका साथै नेपाल प्रहरीमा कार्यरत रहँदा मलाई सकारात्मक कार्यको लागि प्रेरणा दिने सम्पूर्ण अमर प्रहरीहरु, संगठनमा कार्यरत हुँदा अशक्त भएका अशक्त प्रहरी कर्मचारीहरु,देशको लागि प्राणको आहुती दिन तयार भएका सम्पूर्ण पूर्व तथा कार्यरत प्रहरी कर्मचारीहरुप्रति हार्दिक नमनका साथ नागरिक समाजका मार्गदर्शकहरु प्रति कृतज्ञता व्यक्त गर्दै सम्पूर्ण प्रहरी कर्मचारीको सहज वृत्तिविकास, सकारात्मक कार्यवातावरणको प्राप्ति एवम् आगामी दिनमा सफलता र सुस्वास्थ्यको कामना गर्दछु । धन्यवाद । जयनेपाल
आभूषण तिम्सिना
प्रहरी उपरीक्षक