arrow

नक्कली भुटानी शरणार्थी धन्धा

एमाले सचिव टोपबहादुरका छोरा सन्दीप पक्राउ, रायमाझी अझै परेनन्

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २१ बिहिबार
topbahadur-rayamajhi-son-sandiip.jpg

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाउने धन्धामा मुछिएको भन्दै नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप पक्राउ परेका छन् । हिजो साँझ उनलाई बुटवलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

उनलाई आज काठमाडौं ल्याउने तयारी गरिएको छ । काठमाडौं जिल्ला अदालतले टोपबहादुर र उनका छोरालाई हिजो पक्राउ पुर्जी जारी गरेको थियो । तर टोपबहादुर भने पक्राउ परेका छैनन् । उनलाई पक्राउ गर्न पुर्जी जारी भइसकेको छ । पक्राउ पुर्जी जारी भइसकेपछि उनी अर्घाखाँचीको कार्यक्रम छाडेर बुटवल आएका थिए । 

उनले बुटवलमा आएर सभामुख देवराज घिमिरेसँग सल्लाह गरेका थिए । तर राति ९ बजे भैरहवाबाट सँगसँगै आउने भनेका रायमाझी पक्राउ परिने डरले बुटवलमै बसे ।

अर्घाखाँचीमा भने उनले आफू काठमाडौं जाने र त्यसपछि बुझेर जानकारी गराउने भनेका थिए । उनले चेकका बारेमा आफूलाई केही थाहा नभएकोसमेत बताएका छन् । तर पक्राउ परिने डरले बुटवलमै लुक्दा भने आशंकासमेत उब्जिएको छ । 

उनी २०७७ पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि मन्त्रिपरिषद् पुनर्गठन गर्दा ऊर्जामन्त्री भएका थिए । 

उनले भुटानी शरणार्थीलाई सहयोग पुगोस् भन्ने मानवीय भावनाले लबिङ गरेको दाबी गरे पनि गिरोहका सदस्यका तर्फबाट उनका छोरा सन्दीपका नाममा काटिएको १ करोड ५० लाखको चेक प्रहरीले बरामद गरेको जनाइएको छ । 

 भुटानी शरणार्थी बनाएर अमेरिका लग्ने भन्दै ८ सय ७५ नेपालीबाट १० देखि ५० लाखसम्म ठगी गर्ने गिरोहसँग मिलेमतो गर्ने राजनीतिक तथा प्रशासनिक नेतृत्व कानूनी पकडमा तानिएको हो । यससम्बन्धी फेहरिस्त खोज पत्रकारिता केन्द्र नेपालले सार्वजनिक गरेको थियो । 

तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजित राई मंगलबार र उपराष्ट्रपति कार्यालयका सरकारका सचिव टेकनारायण पाण्डे बुधबार पक्राउ परेका छन् । 

नाइकेहरू केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ राई पक्राउ परेपछि उनीहरुबाट प्राप्त प्रमाण र बयानका आधारमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ