arrow

प्रहरी नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा थप आरोपीको खोजी गर्दै, टोपबहादुर फरार

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २२ शुक्रबार
top-bahadur-rayamajhi-argakhanchi-uml-mp-2079-2022.jpg
तस्बिर – फाइल ।

काठमाडौं । प्रहरीले नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने लोभमा करोडौँ रकम ठगीमा संलग्न रहेका आरोपीको खोजी तीव्र पारेको छ । पक्राउ पुर्जी जारी भएका आरोपी सम्पर्कविहीन भएपछि खोजी तथा अनुसन्धानमा विशेष सावधानीका साथ टोली परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

जाहेरीमा नाम किटान गरिएका कतिपय व्यक्तिका बारेमा थप प्रमाण सङ्कलन गर्ने तथा पक्राउ पुर्जी जारी भएका आरोपीको खोजी कार्यमा प्रहरी टोली जुटेको परिसरका प्रहरी उपरीक्षक सीताराम रिजालले बताए । 

उनले पुर्जी जारी भएका नेकपा एमालेका सचिव तथा पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझी प्रहरीको सम्पर्कमा नरहेको बताए । रायमाझी पक्राउ पुर्जी जारी भएपछि बुधबार अर्घाखाँचीबाट काठमाडौं आउन भैरहवासम्म आएका थिए । 

उनका छोरा सन्दीप बुधबार साँझ बुटवलबाट पक्राउ परेका थिए । उनलाई बिहीबार काठमाडौं ल्याएर अनुसन्धानका लागि तीन दिनको समय पनि थपिएको छ । तर टोपबहादुर भने फरार भएका छन् । 

उनी फरार भएको बारेमा गम्भीर षडयन्त्र भएको आँकलनसमेत भइरहेको छ । 

उनी बेपत्ता भएपछि नै एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सिंहदरबारमा भेट्न गएका थिए । ओलीले पार्टीका सचिवलाई पक्राउ नगर्न खबरदारी गरेकोसमेत बताइन्छ । 

ओलीले मिडियासँग भने बिना प्रमाण पक्राउ गरेर दुःख दिन थाले नछाडिने चेतावनी दिएको बताए । 

यसअघि पक्राउ परेका तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार ईन्द्रजित राईका छोरा निरजका बारेमा प्रहरीले कुनै जानकारी पाउन सकेको छैन ।

“अब १० देखि ११ जना आरोपीको खोजी तथा अनुसन्धान भइरहेको छ”, परिसरका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक रिजालले भने, “अहिलेसम्म आठ जना पक्राउ गरी अनुसन्धान भइरहेको छ ।” 

पक्राउ परेकामा तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राईसहित बहालवाला सचिव (तत्कालीन गृह सचिव) टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ छन् । 

जिल्ला प्रहरी परिसरले उनीहरु विरुद्ध सङ्गठित अपराधमा अनुसन्धान गरिरहेको छ । यसको अनुसन्धानका लागि प्रहरीले ६० दिन समय पाउँछ । उक्त घटनामा हालसम्म एक सय छ जनाले २० जाहेरी दिएका छन् । 

उनीहरूले कूल रु २३ करोड २५ लाख ठगी भएको भनी जाहेरी दिएका छन् । शुरुमा पीडितले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएकामा कार्यालयले केहीलाई पक्राउ गरी थप कारबाहीका लागि जिल्ला प्रहरी परिसरलाई बुझाएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ