arrow

विद्युतीय पार्श्वचित्रका लागि घरधुरी तथ्याङ्क सङ्कलनको तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २२ शुक्रबार
Pokhara.jpg

पोखरा । विद्युतीय पार्श्वचित्रका लागि घरधुरी तथ्याङ्क सङ्कलन गर्ने तयारी गरिरहेको पोखरा महानगरपालिकाले वडा नं. २६ देखि ३२ का जनप्रतिनिधि सहित स्थानीय टोल विकास संस्था र आमा समूहका प्रतिनिधिसँग छलफल गरेको गरेको छ ।

लेखनाथ उद्योग वाणिज्य सङ्घको हलमा आयोजित विद्युतीय पार्श्वचित्र निर्माणका लागि तथ्याङ्क सङ्कलन तयारी भेलामा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले समग्र महानगरपालिकाको योजना तर्जुमा, समावेशी विकास, सम्भावित प्राकृतिक प्रकोपको व्यवस्थापन लगायतको पूर्व तयारीका लागि आवश्यक प्रबन्ध गर्न सहज हुने भएकाले विद्युतीय पार्श्वचित्र निर्माण गर्न लागिएको बताए । 

यस प्रकारको आधारभूत तथ्याङ्क सङ्कलनले मात्र कुनै पनि स्थानको प्राथमिकता र आवश्यकताको पहिचान हुने भएकाले विकास निर्माणका गातिविधिहरु सञ्चालन गर्न सजिलो हुने उनले विश्वास व्यक्त गरे । २५ गतेदेखि गणकहरू घरघरमा आउने जानकारी गराउँदै उनले गणकहरूलाई यथार्थ जानकारीहरू टिपाउन अनुरोध समेत गरे । 

महानगरको समग्र अवस्थाको विद्युतीय अभिलेखीकरणका लागि पारिवारिक विवरणसहितको तथ्याङ्क सङ्कलन गर्न लागिएको हो । यसक्रममा व्यक्तिको पारिवारिक अवस्था, आर्थिक अवस्था, व्यवसायीक विवरण, घर बहाल, कृषि तथा पशुपालन, रोजगारीको अवस्था, शिक्षा, स्वास्थ्यमा पहुँच, वैदेशिक रोजगारी, पञ्जीकरण अद्यावधिक लगायतका विवरणहरू सङ्कलन गरिनेछन् ।

महानगरका प्रमुख सुचाङ्कहरु, खण्डीकृत सुचाङ्कको पहिचान, आर्थिक सबलता र दुर्बलताको अवस्था, विपन्नता र विपत् जोखिम क्षेत्रहरूको पहिचान लगायतका अवस्थामा यो उपयोगी हुनेछ ।

महानगरपालिकामा सञ्चालित व्यवसायहरूको वैधानिकता र प्रत्येक आर्थिक वर्षमा आर्थिक गतिविधिहरूको विवरणसहित आर्थिक सर्वेक्षण प्रकाशनका लागि भरपर्दो सूचनाको रूपमा यसले सहयोग गर्नेछ । 

महानगरपालिका ३३ वडामा तथ्याङ्क सङ्कलनका लागि २२० जना सर्वेक्षकहरू छनौट भएका छन् । उनीहरूलाई आवश्यक अभिमुखीकरण तालिमसमेत प्रदान गरिसकिएको छ । उनीहरू तथ्याङ्क सङ्कलनका लागि यही २५ गतेदेखि फिल्डमा खटिनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ