arrow

हेरौँ प्रचण्डको सिनेमा

logo
राजेन्द्र पन्थी, 
प्रकाशित २०८० वैशाख ३० शनिबार
article-rajendra-prachanda-ko-cinema.jpg

यतिबेला नेपाली राजनीतिमा ट्रेलर र सिनेमाका बारेमा निकै चर्चा, परिचर्चा र दोहोरी पनि चलेको देखिन्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक सार्वजनिक कार्यक्रममा नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मानव तस्कर गरेको अभियोगमा पूर्व उपप्रधानमन्त्री, पूर्व गृहमन्त्री, नेपाल सरकारका सचिवलगायत एक दर्जन आरोपीहरु समातिएपछि यो त भ्रष्टाचारी र अपराधीको गिरोह समातिएको ट्रेलर मात्र हो सिनेमा आउन त बाँकी नै छ, अब छिट्टै आउँछ भनेका थिए । 

त्यसैले पनि अहिले सिनेमा हेर्नको लागि आम नेपाली जनताले प्रतीक्षाको घडी कुरिरहेका छन् । प्रधानमन्त्रीले भने लगत्तै संसदभित्र र जनमानसमा उक्त ट्रेलरको सिनेमा नै हेर्न आतुर भएको भन्ने आवाज उठ्यो र केहीले टिकट किनेर नै बसेको पनि भने । 

प्रचण्डले उद्घोष गरेझैँ यस सिनेमाका मुख्य पात्रको भूमिकामा देखिन सकिने आँकलन गरिएका मध्येहरूमा आरोपित पूर्व गृहमन्त्री बालकृष्ण खाँण प्रहरीद्वारा समातिएर हिरासतमा छन् भने अन्य आरोपितहरूको खोजी भइरहेको छ । यस प्रकरणमा आरोपित पूर्व उपप्रधानमन्त्री, नेकपा एमालेका सचिव तथा अर्घाखाँची जिल्लाका सांसद टोपबहादुर रायमाझी संसद चलेको तेस्रो दिनमा सदनमा बिरामी छु भनेर जानकारी गराई फरार छन् । 

फिल्मले कस्तो रुप लिँदै जाने हो थाहा छैन । त्यत्ति हो कि माछोमाछो फ्यागुतो नहोस् । प्रधानमन्त्री प्रचण्डले ठूलो माछो समात्छु भन्दा भ्यागुतो पनि हात नपार्ने अवस्था नआओस् । कतै लहरो तान्दा पहरो जान्छ कि भन्ने डरले यो सिनेमाको ट्रेलर मात्र देखाइने हो कि भन्ने शंका पनि उठ्न थालेको देखिन्छ । सिनेमा निर्माण गरेर प्रदर्शन गर्दा कतै अधकल्चो त हुने होइन भन्ने पनि देखिन्छ । सिनेमा निर्माण गर्दै जाँदा नेपाल प्रहरीलाई कतैबाट राजनीतिक हस्तक्षेप हुने हो कि भन्ने शंका पनि उत्तिकै छ । 

एउटै सिनेमामात्र आउला कि यस्ता अरु सिनेमा निर्माण गर्न प्रधानमन्त्रीले हिम्मत निकाल्लान्, त्यो हेर्न बाँकी नै छ । आम जनमानसमा प्रचण्डले सिनेमाको नामकरण नै के राख्ने होलान्, कथावस्तु, परिवेश, घटना, समय, भाषाशैली, पात्र के कति समेटिने होला भनेर अत्यन्तै कौतुहलता र जिज्ञासा जागेको देखिन्छ ।

नेपाली राजनीतिको पछिल्लो चरणका शीर्षस्थ नेताहरू, झोले र चम्चेहरू, टिकेहरू, बैठके र हुक्केहरू, बा र छोराहरू, दाइ र भाउजूहरू, श्रीपेच बिनाका छोटे राजाहरू, भारदारहरू, छोराछोरी र नातेदारहरू, बिचौलियाहरू को को यो सिनेमामा कुन कुन भूमिकामा खेलेका होलान् भन्ने कौतूहलता पनि रहेको छ । 

फेरि कताकता आफ्नो कार्यकाल दुई वर्ष मात्र बताएका प्रधानमन्त्री प्रचण्ड कतै यस्तै ट्रेलरमा मात्र सीमित हुने त होइनन् भन्ने शंका पैदा भएको पनि छ किनकि अघिल्लो दुई पटक पनि यिनले यस्ता ट्रेलर देखाउने प्रयास गरेका थिए । 

प्रचण्डले ट्रेलरमात्र देखाइ सिनेमा प्रदर्शन गर्न नसक्नुको मुख्य कारण कतै आफू नै मुख्य पात्र बनिने हो कि भन्ने पनि हुनसक्छ । प्रचण्डको मुख्य भूमिका रहेको भनी आरोप लागेको उन्नाइस अर्ब हिनामिना र भ्रष्टाचार भएको भनिएको माओवादी लडाकु क्यान्टोनमेन्टको वास्तविक र यथार्थ हिसाबकिताब रहेको उनको सिनेमा पनि हेर्नुपर्छ । उनकै प्रमुख भूमिका रहेको भनिएको यो सिनेमाको सत्य घटना के हो, प्रचण्डले जनतामाझ ल्याउने हिम्मत गरून् ।

नेपालमा भ्रष्टाचारको महाजालो फैलिएको अवस्थामा प्रचण्ड निर्देशित सिनेमामा अन्य को को कलाकारहरू खेलेका होलान् र नाम चलेका कलाकारहरू परे कि परेनन् होला । एकल नायक–नायिका वा बहुनायक–नायिका छन् होला । जनतासमेत अग्रिम टिकट काटी फिल्म हेर्न आतुर छन् । नेपालका भ्रष्टाचार काण्डमा यस्ता ट्रेलरहरू देखाएको यो पहिलो घटना होइन । 

समय समयमा ट्रेलरहरू हेरिएकै हुन् तर सिनेमाहरू देखाइएनन् । हिजोआज शीर्षस्थ नेताहरूको खासखुस र हिमचिम बढ्दै गएको देख्दा यो नक्कली भुटानी शरणार्थी मानव तस्कर बारेमा बनाउन लागिएको यथार्थ कथावस्तुमा आधारित नेपाली कथानक चलचित्र हलहरूमा नआउने हो कि भन्ने शंका पनि देखिन्छ । 

प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठले फिल्मलाई जसरी भए पनि प्रदर्शन गरेरै छाड्ने बताएका छन् । प्रचण्डद्वारा निर्देशित यो नेपाली कथानक चलचित्र बजारमा जति सक्दो छिटो आओस् र यसले ‘ब्लकबस्टर’ नै प्राप्त गरोस् । शुभकामना !

यस्तो सिनेमाको कथावस्तुलाई यथार्थपरक र स्वभाविक बनाउँदा लहरो तान्दा पहरो जान्छ कि भन्ने डरले मुख बाराबार भएका शीर्षस्थ नेताहरूको हिमचिम र भेटघाट सिंहदरबारमा राम्रैसँग बाक्लिएको देखिन्छ । यस्तो हिमचिम बढ्नु यस्तो किसिमको सिनेमा प्रदर्शनका लागि शुभ संकेत भने पक्कै होइन । यस्तो अवस्थामा नेपाली जनताले खबरदारी गर्नुपर्ने देखिन्छ ।

प्रजातन्त्रको पुनः बहाली भएपछि भ्रष्टाचारका थुप्रै काण्डहरू भए । कतिका ट्रेलर मात्र हेरियो, कुनै गुपचुप गरिए भने केही कानूनी कठघरामा आए । पहिले पहिलेका प्रधानमन्त्रीलेहरूले पनि लोकप्रिय बन्न र स्टन्टबाजी देखाउन यस्ता किसिमका प्रचारबाजी नगरेका होइनन् । केही साना माछा समातिए । ठूला माछा अब समातिन्छ्न् भनेर भनेका पनि थिए । तर ती ठूला माछा कता पौडिए वा उछिट्टिए थाहा पाउन सकिएन ।

नेपालमा भ्रष्टाचारका यस्ता काण्ड मात्रै होइनन् महाकाण्ड भएका छन् । ती महाकाण्डहरूमा करोडदेखि अर्बसम्मका भ्रष्टाचार भएका छन् । यस्ता महाकाण्डका सिनेमाहरू पनि बाहिर आउनुपर्छ र कानूनको कठघरामा उभ्याइनु पर्छ । 

२०४६ साल पछिका केही प्रमुख महाकाण्डहरूमा सुडान घोटाला काण्ड, लाउडा काण्ड, धमिजा काण्ड, चेज एयर काण्ड, चाइना साउथ वेष्ट काण्ड, क्यान्टोनमेन्ट काण्ड, वाइडबडी खरिद काण्ड, सेक्युरिटी प्रिन्टिङ् प्रेस खरिद काण्ड, ओम्नी र यति काण्ड, ललिता निवास जग्गा काण्ड, तेत्तीस किलो सुन काण्ड, बुढीगण्डकी जलविद्युत परियोजना काण्ड आदि थुप्रै रहेका छन् । करोडका भ्रष्टाचारका काण्डहरू त सयौं छन् । यस्तै किसिमका मानव अपराध र भ्रष्टाचारका काण्ड र महाकाण्डले नेपालको प्रगति र उन्नति हुन नसकेको हो ।

आज विश्वमा भ्रष्टाचार गर्ने मुलुकहरू मध्येमा नेपाल अग्रपङ्तिमा नै पर्दछ । ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) द्वारा जनवरी २०२३ मा प्रकाशित भ्रष्टाचार अवधारणा सूचकांकमा (सीपिआई, २२) नेपालले एक सयमा चौँतीस अङ्क प्राप्त गरेको थियो भने एक सय असी देशमध्ये नेपाल एक सय दशौँ स्थानमा परेको थियोे । यो सूचकांकमा सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा नब्बे अङ्क प्राप्त गरी डेनमार्क रहेको छ भने सबैभन्दा बढी भ्रष्टाचार गर्ने मुलुकमा १२ अङ्क प्राप्त गरी सोमालिया रहेको छ ।

नेपालको समृद्धि हुन नसक्नुको प्रमुख कारण  भ्रष्टाचार र कुशासन नै हो । नेपालको राजनीतिमा भ्रष्टीकरण र अपराधीकरण अत्यन्तै मौलाएको छ । राजनीतिक नेतृत्वमा जवाफदेहिता, अनुशासनहीनता, बेइमानी र उत्तर दायित्व बोधको अभावले भ्रष्टाचारको महाजालो फैलिरहेको छ । नीतिगत र साङ्गठनिक भ्रष्टाचारले राज्यका कुनै पनि अङ्गहरू चोखा र स्वच्छ छैनन् । कर्मचारीतन्त्रमा राजनीतिक हस्तक्षेप र बिचौलियाको प्रवेश भएको हुँदा भ्रष्टाचारका काण्ड र महाकाण्ड घटेका देखिन्छन् ।

नेपाल देशलाई साँच्चै एउटा समृद्ध मुलुक बनाउनको लागि राजनीतिक नेतृत्व फेरिनै पर्छ । सोच फेरिनै पर्छ । नेपाली राजनीतिमा बारम्बार प्रयोग भई असक्षम भएको नेतृत्वलाई सदाका लागि बिदाई गर्नुपर्छ । अब नेपाली राजनीतिमा नयाँ नेतृत्व आइ भ्रष्टाचारमा चुर्लुम्म डुबेका र नेपाललाई डुबाएका ती भ्रष्टाचारीलाई कानूनको कठघरामा उभ्याइ पाता कस्नुपर्छ । 

नेपाली जनताहरू स्टन्टबाजीका ट्रेलर हेर्न होइन सत्य कथामा आधारित भ्रष्टाचार र अपराधका कथा वस्तुमा बनाइएका सिनेमा नै हेर्न टिकट बुकिङ गरी बसेका छन् र सुशासनलाई कुरिरहेका छन् ।


 



नयाँ