arrow

केपी ओलीले संसदमा बोल्दै, के भन्लान् आफ्नै पालामा शुरु भएको शरणार्थी प्रकरणबारे ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ७ आइतबार
kp-sharma-oli-parliament-2079.jpg
तस्बिर – फाइल ।

काठमाडौं । एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमामाथि आज संसदमा आफ्नो धारणा राख्ने भएका छन् । सरकारको नीति तथा कार्यक्रम पारित हुन नदिने घोषणा गरेका ओलीले आज संसद बैठकलाई सम्बोधन गर्ने भएका हुन् । 

जेठ ४ मै नक्कली शरणार्थीबारे आफ्नो धारणा राख्ने बताएका ओलीले त्यसदिन आफू बिरामी परेकाले उपस्थित हुन नसकेको बताएका थिए । सामाजिक सञ्जाल फेसबुकमा आफू बिरामी भएकाले कुनै दिन संसदमा बोल्ने बताएका ओलीले आज भुटानी शरणार्थीबारे के धारणा राख्लान् भन्ने चासो बढेको छ । 

एमाले सचिव टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी, एमाले सल्लाहकार विभागका सदस्य इन्द्रजित राई र उनका छोरा तथा एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पनि नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा मुछिएका छन् । 

एमाले अध्यक्ष ओली नै प्रधानमन्त्री भएको बेलामा शरणार्थी प्रकरण शुरु भएकाले पनि उनको धारणा महत्वपूर्ण हुने बताइएको छ । 

ओलीले शनिबार मात्रै प्रचण्ड सरकारले ल्याएको नीति तथा कार्यक्रम स्वीकारयोग्य नरहेको भन्दै विरोध जनाउन एमाले सांसदहरूलाई निर्देशन दिएका थिए । 

‘सरकारले ल्याएको नीति तथा कार्यक्रम बेकारको पुलिन्दा हो, स्वीकारयोग्य छैन, समर्थनयोग्य छैन । विरोधयोग्य छ । र, यस्तो फाल्तु कार्यक्रम, नीतिका नाउमा दस्ताबेज पेस हुनु दुःखको कुरा हो,’ ओलीले शनिबार बसेको संसदीय दलको बैठकमा भनेका थिए, ‘यसर्थ, यसलाई पास गर्न मिल्दैन, हुँदैन । यसको विरोध गर्नुपर्छ । हाम्रो मुख्य पोजिशन त्यही हो ।’ 

ओलीले संघीय संसदमा पार्टीका सांसदहरू उपस्थिति फितलो भएको गुनासो मात्रै गरेका थिएनन् एमालेका सांसदहरु नुन खाएको कुखुरा जस्तो भएको भन्दै अपहेलनासमेत गरेका थिए । सरकारको आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम संघीय संसदमा पेस गरेको भोलिपल्ट शनिबार संसदीय दलको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका ओलीले आफ्नै सांसदप्रति असन्तुष्टि जनाएका हुन् ।

 ‘संसदमा हाम्रो उपस्थिति लुलो भयो, नुन खाएको कुखुराजस्तो भयो,’ संसदीय दलको बैठकमा ओलीले भने, ‘एमाले किन ओइलाए ओइलाए जस्तो, नुन खाएको कुखुरा जस्तो भयो ?’

संघीय संसद्को बैठकमा प्रभावकारीरूपमा प्रस्तुत हुन र उपस्थित हुन निर्देशन दिँदै एमाले अध्यक्ष ओलीले भने, ‘विचार, तरिका, प्रस्तुति नयाँ छैन भने पार्टी पुरानो हुन्छ । तर हामी विचारको हिसाबले, जोश जाँगरको हिसाबले बलियो छौं भन्ने लाग्छ।’

सरकारले पेस गरेको नीति तथा कार्यक्रम समर्थन गर्न लायक नभएको धारणा राख्दै ओलीले भने, ‘नीति तथा कार्यक्रमले मुलुकको राजनीतिक, आर्थिक, सामाजिक कुनै पनि समस्या पहिचान गर्न नसकेको छैन ।’ सरकारको नीति तथा कार्यक्रममा कुनै गम्भीरता नदेखिएको आरोप लगाउँदै ओलीले नीति तथा कार्यक्रम संविधान, देशका आवश्यकतासँग नजोडिएको आरोप लगाए । 

आज संसदमा शुक्रबार सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथि छलफल हुँदैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे शुरु हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ