arrow

सुपारीमा झेल

पाम नटको नाममा सुपारी तस्करी, करोडौँको राजश्व छलि

सुविधाभन्दा १० हजार टन बढी तस्करी, बजेटबाट भन्सार र अन्तशुल्क घटाउने तयारी, राज्यलाई दुई अर्ब बढी नोक्सान

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ११ बिहिबार
supari-005.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । मुलुकमा २५ हजार टन सुपारी आयत खुला भएकोमा तस्करहरुले पाम नटको नाममा करिब ३५ हजार टन सुपारी तस्करी गरेको खुलेको छ । 

उद्योगहरूले कच्चा पदार्थका रूपमा मात्र प्रयोग गर्ने गरी वाणिज्य विभागबाट अनुमति लिएर सुपारी आयात गर्न पाउने सुविधालाई दुरुपयोग गर्दै आयातमा पाएको सुविधा भन्दा १० हजार बढी टन सुपारी तस्करी गरेको खुलेको छ । 

उनीहरुले पामको तेल निकाल्ने दाना ‘पाम नट’ को नाम दिएर प्रतिबन्धित सुपारीको व्यापक तस्करी गरेका हुन् । यसबाट भन्सार, अन्तःशुल्क र मूल्य अभिवृद्धि कर (भ्याट) समेत गर्दा झन्डै पौने तीन करोड राजस्व छलि भएको स्रोतको दाबी छ । 

नेपालमा वर्षमा औसत पाँच हजार टन मात्रै खपत हुने सुपारी स्वदेशमै साढे १० हजार टन उत्पादन हुने भए पनि वर्तमान सरकारले मूल्य नै निर्धारण गरेर आयात स्वीकृति दिने तयारी भएको छ । 

मन्त्रिपरिषद् बैठकबाट २२ वटा फर्मलाई सुपारी आयात र १० वटा फर्मलाई पोस्ता दाना आयातको बाटो खोल्ने निर्णय गर्ने गरी गृहकार्य भइरहेको छ । 

वाणिज्य विभागलाई पन्छाउँदै सरकारले सिधै फर्मलाई यसको जिम्मा दिन लागेको हो । यसमा उद्योग मन्त्रालयका नेतृत्वकर्ता पनि सहमत भैसकेकाले प्रधानमन्त्री कार्यालय मातहत रहेको राजश्व विभागलाई ताकेता भैरहेको छ । 

तेस्रो देशबाट नेपाल आएको सुपारी भारत निकासी हुने गरेको छ । सुपारी नेपालबाट भारत निकासी गर्दा सस्तो पर्ने व्यवसायीहरूले बताउँदै आएका छन् । 

सरकारले यसरी व्यापारिक फर्म तोकेर आयात खुलाउने यो सेटिङमा विचौलियासमेत लागेका छन् । 

क्याबिनेटबाट बाटो खुलेपछि बजेटबाट भन्सार र अन्तशुल्क घटाउने तयारी भइरहेको छ । 

सुपारीमा भन्सार, अन्तशुल्क र १३ प्रतिशत भ्याट गरी प्रतिकेजी १ सयसम्म छुट गराउन पहल भइरहेको बताइन्छ । 

यसले राज्यलाई २ अर्बभन्दा बढी नोक्सान हुन्छ । विचौलियाहरु भारतले सुपारी आयातमा रोक लगाए पनि निकासी हुन नसकिरहेका बेला तस्करले विभिन्न माध्यमको प्रयोग गरेर अवैध रुपमा भारत कटाउने गरेका छन् । 

‘नेपालमा आयत गर्ने र भारत निकासी गर्ने उनीहरुको धन्दा छ’, स्रोतले भन्यो । विराटनगरका दिनेश राठी र प्रदीप मुरारका तथा झापाका प्रदीप मित्तल र शंकर अग्रवाल पूर्वका ‘सुपारी किङ’ हुन् । 

उनीहरूले जुनसुकै सरकार आए पनि राज्य संयन्त्रलाई प्रभाव पारेर २५ हजार टन  आयत खुला गराउने र विभिन्न नाममा ३५ हजार टन ल्याउने गरेको स्रोतको दाबी छ । 

सुपारीका चार ‘किङ’ मध्ये विराटनगरका राठीको जिम्मा विदेशमा खरिद गर्ने र झापाका मित्तलको जिम्मेवारी बिक्री गर्ने हो रहेको स्रोतको दावी छ । विदेशमा सुपारी किन्दा परल मूल्य प्रतिकिलो बढीमा चार सय रुपैयाँ पर्छ । 

त्यति मूल्यमा किनिएको सुपारी ल्याएर स्थानीय व्यापारीलाई प्रतिकिलो ६ सय ५० रुपैयाँमा बिक्री गर्ने गरिएको छ । 

भारतमा प्रतिकिलो सुपारीको भारु ७ सय रुपैयाँ पर्छ । ‘नेपालमा ल्याउँदा सस्तो ल्याइन्छ, भारत पुर्याउँदा महँगोमा बिक्री हुन्छ त्यसकारण सधैँ चलखेल हुने गरेको छ यो वर्ष त मन्त्रिपरिषदले नै बैधानिकता दिन लागेको छ’, स्रोतले भन्यो । 

अहिलेको अवस्थामा विदेशबाट थप साढे आठ हजार टन (भन्सार छलेर अझै धेरै) आयात हुन्छ । तर स्वदेशमा खपत हुने बाहेक कम्तीमा १४ हजार टन सुपारी कहाँ जान्छ ? भन्ने प्रश्नमा गत चैत महिनासम्म्को तथ्यांकलाई हेरेमात्रै पुग्छ ।  

गत आर्थिक वर्ष ०७८–७९ मा एक हजार चार सय ११ टन मात्रै सुपारी नेपालबाट निर्यात भएको विभागको तथ्यांक छ । साढे १२ हजार टन सुपारी नेपालबाट सिधै तस्करी भएको छ ।  

प्रहरीले तस्करीको सुपारी पटक–पटक बरामद गर्दै आएको छ । सबैभन्दा धेरै सुपारी तस्करी झापा हुँदै हुन्छ । 

प्रहरीले ०७९–८० को ६ महिनामा काँकडभिट्टा नाकाबाट मात्रै ४.४६ टन सुपारी बरामद गरेको थियो । अघिल्लो वर्ष ०७८–७९ मा सोही नाकाबाट ७.९५ टन तस्करीको सुपारी बरामद गरेको थियो । 

त्यस्तै, ०७७–७८ मा ३.६५ टन, ०७६–७७ मा ४.२५ टन र ०७५–७६ मा ४.५ टन अवैध सुपारी बरामद गरेको थियो । 

यस्तै, भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको ६ महिनामा तीन हजार सात सय ८३ टन सुपारी आयात भएको छ । तर यही अवधिमा जम्मा ९६ टन मात्रै अर्थात् तीन करोड ८७ लाख रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ । 

करिब तीन हजार सात सय टन अर्थात् ७४ करोड ८६ लाख ९५ हजार रुपैयाँ बराबरको सुपारी गायब भएको छ । 

विभागकै अनुसार गत वर्ष ०७८–७९ मा ७० करोड ८५ लाख ८५ हजार रुपैयाँबराबरको आठ हजार चार सय ५२ टन सुपारी आयात भएको थियो । 

जब कि निर्यात भने ५६ करोड ८७ लाख ७० हजार रुपैयाँ बराबरको एक हजार चार सय ११ टन मात्रै भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ