arrow

नक्कली भुटानी शरणार्थी प्रकरण

पक्राउ परेका प्रतिवादीहरुको न्यायाधीशसमक्ष आजदेखि बयान

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १२ शुक्रबार
nakkali-bhutani-sharanarthi-16-aaropi.jpg

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतिवादीहरुको बयान आजदेखि न्यायाधीशसमक्ष शुरु हुँदैछ । गत बुधबार उक्त प्रकरणमा ३० जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो । उक्त मुद्दामा १६ पक्राउ परेका छन् भने १४ फरार छन् ।

बुधबार दर्ता भएको मुद्दामा आजदेखि पक्राउ परेका प्रतिवादीहरूको न्यायाधीशको अगाडि बयान हुन लागेको हो । यसअघि पटक पटक समय थपिएको भए पनि अब भने बयानका क्रममा समय थपिरहनु पर्दैन । 

सबैको बयान सकिएपछि मात्र थुनछेकको बहस शुरु हुनेछ । थुनछेकको बहसपछि प्रतिवादीहरूलाई थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश हुनेछ ।

यसअघि सरकारी वकिलसमक्ष प्रहरीले पनि उक्त प्रतिवादीहरूको बयान लिएको थियो । उक्त बयानको आधारमा सरकारी वकिलको कार्यालयले २२४ पृष्ठ लामो अभियोगपत्र दायर गरेको हो ।

राज्यविरुद्धको अपराध, संगठित अपराध, कीर्ते, ठगीलगायतका आरोप लगाएर मुद्दा दर्ता गराइएको हो । बिहीबार सार्वजनिक बिदा परेकाले आजदेखि अदालतमा बयान शुरु गर्न लागिएको हो ।

१६ जनाको बयान सकिन भने केही दिन लाग्ने छ । 

यता कथंकदाचित अदालतबाट छुट्ना साथ उनीहरुलाई पक्राउ गर्ने गरी अभियोगपत्र दर्ता भएको छ ।

सरकारी वकिलको कार्यालयले बुधबार काठमाडौँ जिल्ला अदालतमा दायर गरेको मुद्दामा प्रतिवादीहरु छुटी जाने भएमा सम्बन्धित प्रहरी कार्यालयमा फिर्ता पठाइदिन अनुरोध गरिएको भन्दै सम्पत्ति शुद्धीकरणमा पनि अर्को मुद्धा जाने जनाएको छ । 

उनीहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा थप अनुसन्धानका लागि लेखी पठाउने निर्णय भएकाले पुनः पक्राउ गरेर प्रहरी कार्यालयमा फिर्ता पठाइदिन अभियोगपत्रमा उल्लेख गरिएको हो । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ