arrow

नसा र हड्डीको समस्या कसरी छुट्टाउने ?

logo
डा कपिलमणि केसी, 
प्रकाशित २०८० जेठ १३ शनिबार
article-kapilmani-kc-veins.jpg

हिजोआज हाम्रो समाजमा ‘नसा रोग’ भन्ने दुई शब्दको गहिरो प्रभाव परेको पाइन्छ । यो कुरा कसरी पुष्टि हुन्छ भने दैनिक ओपीडीमा आउने बिरामीहरुले आफूलाई जे समस्या भए पनि नसाको नै समस्या हो भनेर आफ्नो दिमागमा त्यो छाप राखिसकेका हुन्छन् । जस्तो कि घुँडा दुखे पनि नसाको समस्या, युरिक एसिड भए पनि नसाको समस्या, मांसपेसी च्यातिए पनि नसाको समस्या, टाउको दुखे पनि नसा र गर्दा गर्दै कुनै कुनै बिरामीले पेट दुखेको समस्यालाईसमेत नसा रोग लागेको भनेर आफैँले आफैँलाई शंका गर्दछन् । 

त्यस्तो प्रकृतिको सोचाइ राखेर अस्पताल आउने बिरामीहरुलाई  जाँच गरिसकेपछि नसाको बाहेक अरु समस्या देखिएमा डाक्टरको लागि टाउको दुखाइको विषय बन्दछ । किनभने बिरामीहरु पहिलो कुरा त सजिलैसँग विश्वस्त हुँदैनन् । विश्वास दिलाउनु परे पनि लामो समय लगाएर परामर्श दिनु पर्दछ । 

विश्वस्त भएर घर पुगिसकेपछि पनि तिनीहरु चित्त नबुझाएर ‘सेकेण्ड ओपिनियन’ को लागि अर्को डाक्टरकोमा जाने गर्दछन् । हुनत मेडिसिनको तर्फबाट विश्लेषण गर्दा शरीरमा नसाको ठूलो भूमिका छ । यद्यपि बिरामीहरुले विषय बस्तुको गहिराइमा नपुगिकन आफूलाई लागेको समस्यालाई नसाको नै हो भनेर दाबी गर्नु कदापि राम्रो सोचाइ होइन । त्यसकारण यो लेखमा नसा के हो र नसाको समस्यालाई हड्डीको समस्याबाट कसरी छुट्टाउने भन्ने बारेमा चर्चा गरिने छ।

मेडिकल भाषामा नसा भन्नाले मसिना धागो जस्ता धर्साहरु हुन् जुन कि त प्रत्यक्ष रुपमा मस्तिष्कबाट अथवा मेरुदण्डमा भएको स्पाइनल कर्डबाट निस्किएर बाहिरका अंगहरु जस्तै टाउको, छाती, पेट, हात तथा खुट्टाको भागतिर जान्छन् । ती नसाहरुले ठाउँ अनुसार फरक फरक काम गर्दछन् । 

जस्तो कि हात खुट्टामा भएका नसाहरुले हात खुट्टा चलाउने र त्यो भागको सेन्स थाहा पाउने काम गर्दछन् । पिसाब थैलीको वरिपरि भएका नसाले दिमागको नसासँग समन्वय गरेर पिसाब रोक्ने र पिसाब लागेको चाल पाउने गर्दछन् । 

पेट भित्रको नसाले आन्द्रा भुँडीको चाललाई नियन्त्रण गर्दछन् । मलद्वारको वरिपरि भएका नसाले दिसा आएको थाहा पाउनुको साथै दिसा नियन्त्रण गर्न मद्दत गर्दछन् भने टाउकोबाट प्रत्यक्ष रुपमा आउने नसाले देख्ने, सुँघ्ने, बोल्ने, आवाज सुन्ने, टेस्ट थाहा पाउने, चपाउनेलगायत निल्ने जस्ता काम गर्दछन् । 

अर्को समूहमा रगतका नसाहरु पर्दछन् । जसलाई मेडिकल भाषामा नसा नभनेर धमनी (आर्टरी) र शिरा (भेन) भनिन्छ । धमनीले मुटुबाट शरीरका अरु अंगहरुमा शुद्ध रगत आपूर्ति गर्दछन् भने शिराले शरीरका अरु अंगहरुबाट मुटुमा अशुद्ध रगत ल्याउने काम गर्दछन् । यो बाहेक शरीरमा भएका अरु अंगहरुलाई नसा भनिँदैन ।

त्यसकारण ब्रेन स्ट्रोक भएर टाउकोको नसालाई असर गरेमा स्ट्रोकको लेवल अनुसार सुन्ने, देख्ने, बोल्ने, गन्ध थाहा पाउने लगायत हात खुट्टा चल्नेदेखि दिसा पिसाब गर्ने समेतका कार्यहरुमा असर गर्दछ । 

किनकि टाउकोले शरीरका सबै अंगहरुलाई नियन्त्रणमा राखेको हुन्छ । मेरुदण्डमा भएको स्पाइनल कर्डमा इन्जुरी भएमा हात खुट्टा नचल्नुका साथै दिसा पिसाब आफ्नो नियन्त्रणमा हुँदैन । शरीरको गर्धनमा स्पाइनल कर्डबाट निस्किएर हाततिर जाने नसा च्यापिएमा हात झम झम गर्ने, कुनै भागमा छोएको थाहा नपाउने अथवा कम थाहा पाउने, दुखाइ गर्धनबाट शुरु भएर हातको औँलासम्म पुग्नुको साथै दुखाइको मात्रा निकै बढी हुने र कहिलेकाहिँ हातको पावर पनि कम भएको महसुस हुन्छ । घाँटीको नसा च्यापिने समस्या अतिनै कमन समस्या मध्ये एक हो । यद्यपि नसा च्यापिँदा माथि उल्लेख गरेअनुसारको लक्षणहरु हुन्छन् । 

ढाडमा स्पाइनल कर्डबाट नसाहरु निस्केर दुवै खुट्टातिर जान्छन् । यदि ढाडको हड्डी खिइएर अथवा ‘डिस्क प्रोल्याप्स’ भएर खुट्टातिर जाने नसा च्यापिएमा दुखाइ ढाडबाट शुरु भएर बटक्स (नितम्ब), थाइ (तिघ्रा), खुट्टा हुँदै पैतालासम्म पुग्दछ । 

यसको साथै खुट्टा र पैतलाको भागमा झम झम गर्ने, छोएको थाहा नपाउने अथवा कम थाहा पाउने र कहिलेकाहिँ खुट्टाका औँलाहरु र कुर्कुच्चाको पावर कम भएको महसुस हुन्छ । 

यस्ता प्रकारका लक्षणहरु भएमा ढाडको नसा च्यापिएको अर्थ लाग्दछ । ढाडको हड्डी खिइएर हुने दुखाइ ढाडमा मात्र सीमित हुन्छ । खुट्टाको भागतिर जाँदैन । ढाड दुख्नुको अलावा ढाड जाम भए जस्तो हुने, निहुरिन, झुक्न गाह्रो हुने, राति निदाएको बेलामा कोल्टे फर्किन अप्ठ्यारो हुने हुन्छ । 

अरु नसा च्यापिने सम्भावित ठाउँहरुमा नाडी, कुहिनोको जोर्नी, एङ्कलको जोर्नी र कम्मर भन्दा अगाडिको भाग पर्दछन् । कुहिनोनेर हुने नसा जसलाई अल्नार नर्व भनिन्छ यो नसा च्यापिँदा हातको कान्छी औँला र साहिली औँलाको केही भाग लाटो हुनुको साथै  हातका मसलहरु कमजोर हुँदै जान्छन् । 

यस्तो अवस्थालाई क्युबाइटल टनेल सिन्ड्रोम भनिन्छ । महिलाहरुमा, कम्प्युटरमा काम गर्ने, थाइराइडको समस्या भएका र प्रेगनेन्सी (गर्भवती) भएको बेलामा नाडीमा भएको मेडिएन नर्व च्यापिने हुन सक्छ । जसलाई कार्पल टनेल सिन्ड्रोम भनिन्छ । 

यो समस्या अरु भन्दा निकै कमन हुन्छ र यो नसा च्यापिएका बिमारीहरुले हातका औँलाहरु विशेषगरी बुढी औँला, चोर औँला र माझी औँला झम झम गर्ने, दुख्ने, केही बस्तु समाउँदा गाह्रो हुने र राति सुतिसकेपछि हात दुखेर निद्राबाट बिउँझने र एक छिन हात चलाइसकेपछि हात केही मात्रामा दुख्न कम हुने हुन्छ ।

एङ्कलको जोर्नीनेर टिबिएल नर्व भन्ने नसा च्यापिँदा पैतालानेर झम झम गर्ने, दुख्ने हुन्छ । जसलाई टिबिएल टनेल सिन्ड्रोम भनिन्छ ।

यी त भए शरीरमा सामान्यतया हुने नासाका समस्याहरु । शरीरमा केही यस्ता समस्याहरु हुन्छन् जसलाई बिरामीहरुले नसाको रोग भन्ने मान्यता राख्छन् । 

जस्तो कि घुँडा खिइएका बिरामीहरुले दुखाइ घुँडामा मात्र नभएर घुँडा वरिपरिको मांसपेशी, घुँडा पछाडिको भाग, तिघ्राको मांसपेशीमा दुखेको महसुस गर्दछन् । 

यो बाहेक सिँढी उक्लिन ओर्लिन गाह्रो हुने, टुक्रुक्क बस्न असजिलो हुने र भुइँमा बसेर उठ्दा हात टेकेर उठ्नु पर्ने जस्ता लक्षणहरु देखिन्छन् । 

यस्ता लक्षणहरु घुँडा खिइएको रोगको स्पष्ट संकेत हो । त्यसैगरी धेरै तौल भएका, लामो समयसम्म उभिएर काम गर्नु पर्ने मानिसहरुको कुर्कुच्चाको झिल्ली च्यातिएर कुर्कुच्चामा दुखाइ हुन्छ । जसलाई प्लानटर फेसिआइटिस भनिन्छ । 

यो समस्या भएका बिरामीहरुले हिँड्दा, काम गर्दा दुखाइ कम महसुस गर्दछन् भने आराम गरेर हिँड्दा र बिहान बिस्ताराबाट उठेर केही समय हिँड्न निकै दुखाइ भएको महसुस गर्दछन् । 

अर्को मेडिकल प्रोब्लम जसलाई पनि बिरामीहरुले नसा भनेर झुक्किएका हुन्छन् । त्यो हो फ्रोजन सोल्डर । सजिलो भाषामा भन्दा फ्रोजन सोल्डर भन्नाले कुमको जोर्नी जाम भएको अवस्थालाई भनिन्छ । 

यो समस्या भएका बिरामीहरुले पनि भेग टाइपको दुखाइ महसुस गर्दछन् । जस्तो कि दुखाइ कुमको जोर्नीमा नभएर पाखुरामा हुन्छ । हात माथि उठाउन गाह्रो हुन्छ । हातलाई ढाडमा लैजान अप्ठ्यारो हुन्छ । कपाल कोर्न र नुहाउन पनि गाह्रो हुन्छ।

अब केही चर्चा टेनिस एल्बोको बारेमा गरौँ । यो समस्या  भएका बिरामीहरुले कुहिनो र कुहिनो भन्दा तलको भागमा दुखाइ महसुस गर्दछन् । 

यो समस्या दाहिने हातमा बढी हुन्छ । घरभित्र काम गर्ने महिलाहरुलाई ज्यादा हुन्छ । यस्ता बिरामीहरुले घर भित्रको काम गर्न जस्तो  खान पकाउन, कुकर उचाल्न, झाडु लगाउन, लुगा धुन र सानो सानो सामान उठाउँदा पनि दुखाइ ज्यादा हुन्छ। 

सामान्य भाषामा विश्लेषण गर्दा यो समस्या कुहिनोबाट आउने मांसपेशी माइक्रोस्कोपिक रुपमा च्यातिएर हुन्छ । नसाले गर्दा भएको होइन । 

अन्त्यमा नाडीमा दुख्ने समस्या हुन्छ । जसलाई डिकोएर्वेन टेनोसाइनो भाइटिस भनिन्छ । सामान्य भाषामा भन्दा यो रोग नाडी हुँदै बुढी औँलातिर जाने मोटो मासुको त्यान्द्रो (टेण्डन) रगडिएर  हुन्छ र बिरामीले नाडीमा दुखाइ महसुस गर्दछन् ।  

यो समस्या पनि घरभित्र काम गर्ने महिलाहरुलाई ज्यादा हुन्छ । विशेष गरी साना साना बच्चाबच्ची उचाल्ने मानिसहरुलाई बढी हुन्छ । 

यस्ता अरु धेरै समस्याहरु छन् जो हड्डीको हो कि अथवा नसाको हो भन्ने कुरा छुट्टाउन बिरामीको तर्फबाट गाह्रो हुन्छ । 

त्यसकारण बिरामीहरुले आफैँ नसा रोग लाग्यो भन्दा पनि डाक्टरको सुझाब अनुसार अगाडि बढ्दा रोग छिटो पहिचान हुन्छ र बिमारीहरुलाई कम झन्झट हुन्छ । (डा केसी अर्थोसर्जन हुन्)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ