काठमाडौं। गत वर्ष बंगलादेशमा आयोजित बङ्गबन्धु गोल्डकपमा माल्दिभ्सविरुद्धको सेमिफाइनल खेलमा ह्याट्रिक गरेपछि नवयुग श्रेष्ठ एकाएक चम्किए । एकैवर्षमा तीन ह्याट्रिक गरेर नवयुगले अर्को जादु देखाइदिए । त्यसपछि नवयुगको प्रदर्शनलाई जोडेर नेपाली फुटबलमा नयाँ युग सुरु भयो भन्ने जमात ह्वातै बढ्यो। अहिले त नवयुगलाई नचिन्ने खै को होला र ! नेपालीहरुको महान चाँड बडा दशैंको रौनक सुरु भइसकेपनि नवयुगलाई भने भ्याइनभ्याइ छ । नवयुग आगामी नोभेम्बरमा मलेसियामा हुने सोलिडारिटी कपका लागि राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्पमा व्यस्त छन् । आफुलाई दशैं खासै नलागेको बताउने नवयुगले यसपालिको दशैं कसरी मनाउँदैछन् । उनकै भाषामा।
दशैं खाँसै लागेको छैन । अलि-अलि सुरु हुँदैछ । अहिले राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्पमै व्यस्त छु । त्यसले गर्दा पनि हो । अब केही दिनपछि घर जादैछु । त्यसपछि दशैं लाग्ला कि !
घुमफिर
यसपालिको दशैं घर (इमाल) मै मनाउँछु । बाहिर घुम्न जाने प्लान छैन । त्यही हो साथीभाइसँग यता-त्यता घुम्न गइएला । अरु स्पेशल घुमफिर भने छैन । दुईतीन वर्ष भयो घरमा दशैं मनाउन नपाएको । त्यसैले यसपालिको दशैं घरमै परिवारका साथ मनाउने सोच छ ।
सपिङ
सपिङ अलि-अलि हुँदैछ । तर म सपिङ नै गर्छु भनेर जाँदिन । यसो घुम्न जाँदा आफुलाई मन परेको चीज भेटे भने किनी पनि हाल्छु । म कपडामा त्यस्तो ‘चुजी’ छैन । कपडा ब्रान्डेड नै हुनुपर्छ भन्ने लाग्दैन । आफुलाई मनपर्ने भेटे भने ब्रान्डले फरक पार्दैन । काठमाडौंमा चाँही सपिङ गर्न प्राय: सिभिल मल नै जान्छु । एक्लै हैन, साथीभाइसँग । जुत्ताको अलिक सौखिन छु । राम्रो-राम्रो जुत्ता लगाउनु मनपर्छ । अरु त सामान्य नै हो ।
दशैं स्पेशल
स्पेशल खाँसै केही छैन । त्यही हो साथीभाइ जमघट गरेर रमाइलो गरिएला । हाँस्दै- धेरैपछि घरमा दशैं मनाइदैछ, परिवारको साथ, त्यही हो स्पेशल !
बाल्यकालको दशैं
रमाइलो हुन्थ्यो केटाकेटीबेलाको दशैं पनि । अब नयाँ कपडा लगाउन पाइने । खेल्न पाइने, घुम्न पाइने । चङ्गा उडाइन्थ्यो । पिङ खेलिन्थ्यो । अर्को भनेको दशैंमा गाउँमा फुटबल प्रतियोगिता हुन्थ्यो । फुटबल खेलिन्थ्यो । प्राय: टिकाको दिन फाइनल खेल हुने । रमाइलो हुन्थ्यो नि ।
टीका लगाएर पैँसा पाइने । केटाकेटीलाई त्यही त हो टीका भन्नुवित्तिकै पैँसा पाइन्छ भन्ने लाग्ने । टीका लगाएको पैसाले बजारमा गएर मनपर्ने खानेकुरा खाइन्थ्यो । जे होस रमाइलो थियो । अहिले त दशैं खाँसै त्यस्तो स्पेशल लाग्दैन । त्यही हो एउटा टिका चाँही लगाउन पाइयोस् भन्ने लाग्छ ।
दशैंको अविस्मरणीय क्षण
हाँस्दै- ल्या त्यस्तो अविस्मरणीय क्षण त केही पो छैन होउ । सबै दशैं सामान्य तरिकाले नै मनाइन्छ । अहिलेसम्म त्यस्तो विशेष केही भएको छैन । अरु त यस्तै हो । र अन्त्यमा मेरो परिवार, नेपाली सबैलाई साथै मेरा फ्यानहरुलाई बिजय दशमीको शुभकामना भन्न चाहन्छु ।