काठमाडौ। १२ औं दक्षिण एसियाली खेलकुद सागमा नेपाललाई एकमात्र स्वर्ण दिलाउनेमा थिए जुडोका फूपू ल्हामू खत्री । तिनै फूपू रियो ओलम्पिकमा २०१६ मा पनि सहभागी भए तर रियो यात्रा उनका लागि त्यति फलदायी रहन सकेन । यद्धपि राष्ट्रिय स्तरमा जुडोतर्फ फूपूको बलियो पकड छ। दशैं सुन्नेवित्तिकै उत्साहित हुने फूपू यतिखेर सातौं राष्ट्रिय खेलकुदका लागि प्रशिक्षणमा छन्। फूपूलाई दशैं किन मनपर्छ ? यसपालिको दशैं फूपूले कसरी मनाउदैछन् ? उनकै भाषामा।
मेरो दशैं त घटस्थापना देखि नै लागिसक्यो । घटस्थापनाको दिन नै मनकामना गएको थिए गुरुसँग । सुरुमा त थाहाँ थिएन पछि गुरुले पो आज घटस्थापना भन्नुभएपछि झसङ्ग भए । जे होस् साइतकै दिन गइएछ।
झट्टै अहिले किराको नाम थाहाँ भएन तर भन्न चाँही दशैं किरा पनि भन्छ । त्यस्तो किरा देखेपछि बल्ला दशैं सुरु भयो है जस्तो लाग्छ ।
घुमफिर
यसपालिको दशैं घर (काठमाडौं) मै मनाउँछु । बाहिर घुम्न जाँदिन । भावुक हुँदै- बुवा बितेदेखि घरमा दशैं राम्रो भएको छैन । बुवा बित्नु भएको दुई वर्ष भयो । त्यसैले यसपालिको दशैं परिवारको साथ मनाउने सोच छ । बाहिर घुमफिर भने नहुने भो । सुरुमा बाहिर जाने सल्लाह पनि भएको थियो तर खेलले गर्दा फेरि नभ्याउने परेँ । टीकाको भोलिपल्ट साथीहरुसँग मुस्ताङ जाने भन्ने सल्लाह भएको थियो ।
सपिङ
हाँस्दै- ल्या सपिङ त गरिसिकियो त । नयाँ कपडा नलगाइ दशैं जस्तै लाग्दैन । सपिङ मज्जाले नै गरियो भनम न । घरपरिवार आफ्नो सबैको लागि सपिङ गरियो । दशैं हो सबैलाई नयाँ कपडा लाउनै मनपर्छ । के गर्ने !
सपिङमा खर्च अलिअलि भयो । अब आमा, भाइ बहिनीहरु सबैलाई सपिङ गरिदिनै पर्यो । हाँस्दै- मेरो व्याक्तिगत चाँही त्यस्तै पाँच हजार जति भयो होला । अरु चानका चुन्केको त के हिसाब गर्नु !
दशैं स्पेशल
दशैंको स्पेशल त्यस्तो छैन । त्यही हो बुवा बितेदेखि दशैं राम्रो भएको छैन । यसपालि अलिक फरक होला कि ! अनि अर्को भनेको हामी अहिले नयाँ घरमा सरेको छौं । त्यसैले यसपालिको दशैं नयाँ घरमा मनाउन लागेका छौं । यहि हो यसपालि दशैंको स्पेशल ।
बाल्यकालको दशैं
हाँस्दै- बाल्यकालको त कुरै नगर्नुस् म त सानोमा यति चन्चले थिए सबैजना छक्क पर्थे । सानोमा केटा मान्छे जस्तै थिए । सबैजना डराउथे । तर हेल्पफुल थिए । कसैलाई अप्ठ्यारो पर्यो भने मद्दत गर्थे ।
अहो ! केटाकेटीको दशैं त कुरै नगर्नुस् ! चङ्गा उडाउदा, पिङ खेल्दाको रमाइलो बयान गरि साध्य छैन । खै केटाकेटी वुद्धि त होला- सानोमा टीका लगाउँदा आशीर्वाद भन्दा नि पैँसा ठूलो लाग्थ्यो । टीका लगाएर खाममा पैँसा पाइन्थ्यो । आफूलाई भने खाममा कति पैँसा होला, कतिखेर खाम खोलेर हेरौं जस्तो लाग्थ्यो । अहिले पो थाहाँ भो पैँसा भन्दा ठूलो आशीर्वाद हो भनेर ।
दशैंको अविस्मरणीय क्षण
ठ्याँकै सम्झनालागयक त्यस्तो कुरा त छैन । तैपनि दशैं भन्नु वितिक्कै नयाँ लुगा, निधारमा टीका र कानमा जमरा सिउरेर पिङ खलेको याद आउछ । म त यसपालिको दशैंमा पनि उसैगरि पिङ खेल्न जानु भनेको । सम्झिन्दा पनि अहिले नै जाउ-जाउ लाग्छ । यति भएन भने त दशैं के दशैं, होइन र ?
र अन्त्यमा सबै नेपालीहरुमाझ ह्याप्पी विजया दशमी भन्न चाहान्छु ।