arrow

फलदायी भ्रमणको अपेक्षा

logo
राजेन्द्र पन्थी, 
प्रकाशित २०८० जेठ १७ बुधबार
article-rajendra-panthi-67.jpg

हिजोआज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अत्यन्तै खुशी देखिन्छन् । छिमेकी मुलुक भारतले निमन्त्रणा गरेपछि उनको मुहार बल्ल उज्यालो भएको हो । सरकार बनेको पाँच महिना बित्दा पनि उनी पहिले अन्य देश नगइ भारत नै जानुपर्छ भन्ने मानसिकतामा थिए । भारत पहिले जाने भन्दाभन्दै उनले केही देशको भ्रमण त गुमाउनै पुगे । 

बुधबारदेखि शनिबारसम्म भारत सरकारले भ्रमणको औपचारिक निमन्त्रणा गरेपछि उनको मुहारमा खुशी छाएको देखिन्छ । नेपालका प्रधानमन्त्रीहरूलाई एउटा यस्तो  मनोरोग छ कि कतै भारतले निमन्त्रणा नै गर्ने होइन कि भन्नेमा । वर्तमान प्रधानमन्त्रीले पनि सपथ खाँदा बित्तिकै भारतले बधाई दियो भनेर ठूलो स्वरमा भनेका थिए । नेपालको आफ्नै संविधान अनुसार प्रधानमन्त्री बन्दा पनि भारतको आशीर्वाद पाइने होइन कि भन्ने ठूलो आशंका रहेको देखिन्छ ।

पहिलो दिनदेखि नै प्रचण्डले पनि ‘मलाई भारतले बधाई र औपचारिक निमन्त्रणा गरेको छ, समय मिलाएर जाने हो’ भनेर बारम्बार भनेकै थिए । यति भएपछि उनले भित्रबाहिर बलियो भएको अनुभूति गरेका पनि थिए । नेपालका प्रधानमन्त्रीलाई आफू सार्वभौम मुलुकको प्रधानमन्त्री हुँदा पनि भारतले केही नकारात्मक प्रतिक्रिया दिने हो कि वा असहमत जनाउने हो कि भन्ने ठूलो डर भएको देखिन्छ ।

यतिसम्म डर छ कि पहिलो भ्रमण भारतै हुनुपर्छ । प्रचण्डले पनि चीनबाट निमन्त्रणा आउँदासमेत त्यसलाई अस्वीकार गरी आफ्नो पहिलो भ्रमण भारत नै बनाए । यसअघिको पहिलो कार्यकालमा पहिले चीन गएकै कारण आफू नेतृत्वको सरकार छिट्टै ढलेको हो कि भन्ने आशंका उनमा रहेकाले पनि यो मनोवृत्तिले काम गरेको हुन सक्छ । तर उनले आफूले त्यतिबेला चालेको कदम भने भुलेका छन् । 

सार्वभौम र स्वतन्त्र मुलुकको प्रधानमन्त्री हुँदा पनि भारतको तथास्तु बिना आफू बलियो हुन नसक्नु भनेको नेपालका प्रधानमन्त्रीले आफ्नो अस्तित्व आफैँ नस्वीकार्नु हो । 

नेपालका प्रधानमन्त्रीहरू आफ्नै खुट्टामा कहिल्यै उभिन सक्दैनन् । अलि ठूलो निर्णय लिनुपर्दा सहारा लिएका हुन्छन् । कुनै निर्णय लिनुपर्दा दूतलाई ओछ्यानमै भेट दिन्छन् । सरकार गठन र कानुन निर्माण गर्दा यसमेन हुने परिपाटी छ । नेपालका राजनीतिक दलहरूले पनि बाहिर जतिसुकै विरुद्धमा ठूल्ठूला भाषण र गफ गरे पनि व्यक्तिगत स्वार्थका लागि  लम्पसार बनी आशीर्वाद थापिरहेका थुप्रै दृष्टान्तहरू छन् ।

नेपालको आफ्नै अस्तित्व छ । यो देश कुनै पनि देशको दाइ वा भाइ होइन । असल छिमेकी हो । भारत र चीन भनेका नेपालका छिमेकी मुलुक हुन् । कुनै मानेमा शिर झुकाउनु पर्दैन । संस्कृति र सभ्यता मिल्ने भारतले कहिल्यै शिर झुकाउन भन्दा पनि भन्दैन होला । 

छिमेकी देश भनेका दाइ वा भाइ होइनन् छिमेकी नै हुन् । नेपाल दुई ढुङ्गाको तरुल हो भनिए तापनि ढुङ्गा बढेर तरुल किच्न सक्दैन । बरु तरुल फस्टाउन सक्छ । त्यतिबेला भने ढुङ्गाले नियन्त्रण गर्न सक्नेमात्रै हो । ढुङ्गा र तरुलका आ–आफ्नै अस्तित्व र पहिचान छन् । 

नेपालको राजनीतिक परिवर्तनमा नेपाली जनताको प्रत्यक्ष सहभागिता र महत्त्वपूर्ण भूमिका देखिए पनि अन्त्यमा सम्झौता गर्ने बेलामा छिमेकी मुलुक भारतको पनि हस्तक्षेप र साक्षी रहेका थुप्रै उदाहरण छन् । प्रजातन्त्रको पुनःबहाली, नेपालको संविधान २०४७ घोषणा, माओवादीको जनयुद्धको भरणपोषण, १२ बुँदे वृहत् शान्ति सम्झौता, गणतन्त्र घोषणा, संघीय संविधान २०७२ घोषणा आदिजस्ता मुख्य राजनीतिक परिवर्तनमा भारतको प्रत्यक्ष हस्तक्षेप र निर्णायक भूमिका रहेकै थियोे र नेपालका राजनीतिक दलहरू उतैबाट परिचालित भएका पनि थिए ।

त्यसैले पनि आज भारतले नेपाललाई सानो भाइको रुपमा व्यवहार गर्छ । नेताहरु यही सम्बोधनलाई माया मान्छन् । भारतले आफू नेपालको अभिभावक भएजस्तो व्यवहार गरेको देखाउँछ । नेपालका प्रधानमन्त्रीले पनि आफ्नो ठूल्दाजुले कहिले निम्तो गर्ने होलान् भनेर औंला गनेर बस्नुपर्ने भएको हो । जब निम्तो आउँछ अनि हुर्रे ! निम्ता आयो भनेर तीन फिट उफ्रिनुपर्छ । यस्तो हुनु भनेको आफू कमजोर भएको अनुभूति गर्नु हो । 

संसारका जतिसुकै धनी वा गरिब मुलुक हुन् ती सबैको आआफ्नो अस्तित्व छ । सबैले सबैको अस्तित्व स्वीकार्नु पर्छ । भारतको प्रधानमन्त्री ठूलो र नेपालको प्रधानमन्त्री सानो भन्ने होइन । प्रधानमन्त्रीको हैसियतमा दुवै बराबर हुन् । छिमेकीपन र सहयोगीपनसँगै सँगसँगै विकास र समृद्धिमा हातेमालो गर्नु नै दुवै देशका जनताका लागि उत्तम मार्ग हो ।

प्रचण्डको यो भ्रमण केवल औपचारिकतामा मात्र सीमित नहोस् । उनको तेस्रो कार्यकालको तेस्रो भ्रमणमा मात्र भनेर सीमित नहोस् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका अगाडि स्पष्टसँग वार्ता गरुन् । नेपालका नदीनाला नबेचियुन् । यो भ्रमण ऐतिहासिक बनोस् । नेपाल र भारतबीच रहेका केही ऐतिहासिक र महत्त्वपूर्ण विवादहरू रहेका छन् । ती सबै समाधान होउन् । हिजो सरकार बाहिर रहँदा प्रचण्डले बोलेका र भनेका कुराहरू जनताले भुलेका छैनन् । प्रचण्डको नेतृत्वमा भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवाद मुर्दावाद भनेर लगाइएका र घन्काइएका नाराहरू अझै सेलाएका छैनन् । 

प्रधानमन्त्रीको यो भारत भ्रमणले तिनलाई झन् व्युँताएका र सम्झाइदिएका छन् । नेपाली जनतासँग एउटा कुरा गर्ने अनि भारत गएर लम्पसार नबन्नू । प्रचण्डको द्वैध स्वरुप रह्यो भन्ने सुन्न नपरोस् । 

सन् २०१८ मा नेपाल र भारतका प्रबुद्ध समूहले बनाएको प्रतिवेदन अझैसम्म भारतले बुझेको छैन र त्यसलाई उसले अध्ययन गर्न नै खोज्दैन । यसका बारेमा प्रधानमन्त्रीले समकक्षीसँग कसरी कुरा गर्लान् भन्ने कुरा विशेष चासोको रुपमा हेरिएको छ । नेपाल भारत बीचको सन् १९५० को सन्धिको पुनरावलोकन, नेपाल भारतका सीमानामा हराएका सीमास्तम्भ, कालापानी, लिम्पियाधुरा र लिपुलेकको सीमानाको मुद्दा, विद्युतको खरिद बिक्रीको सम्झौता, नेपालबाट बगेका नदी, नहर र बाँधको समस्याका मुद्दा, नेपालका नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलहरूको लागि भारतको हवाइबाटोको लागि सम्झौता आदि थुप्रै नयाँ तथा पुराना विषयहरू नेपाल र भारतबीच सम्झौता गर्नु पर्नेछन् । 

प्रधानमन्त्रीको यो भ्रमण दाइ वा भाइको घरमा निम्तो मान्न गएर विभिन्न परिकार खाएर फर्किए जस्तो नहोस् । छिमेकीको घरमा गएर सीमाना र सम्बन्धका बारेमा एउटा ठोस निकास आओस् । यो भ्रमणले दुई देशको कूटनीतिक सम्बन्ध अझै सुमधुर र गाढा बनाओस् । प्रधानमन्त्रीज्यू, भारत भ्रमणको शुभकामना !
 



नयाँ