arrow

जङ्गली जनावरबाट हैरानीपछि परम्परागत खेती छाडेर कफी खेतीमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १७ बुधबार
coffee-plant.jpg.jpeg
तस्वीर फाइल

गुल्मी । गुल्मीको मदाने गाउँपालिका-३ सिर्सेनीका किसान परम्परागत खेती छाडेर कफी खेतीमा आकर्षित भएका छन् ।

बाँदर, बँदेललगायत जङ्गली जनावरबाट परम्परागत खेती जोगाउन सास्ती हुन थालेपछि यहाँका किसान पछिल्लो समय कफी खेतीमा लागेका हुन् ।

तीन वर्ष अगाडिसम्म यहाँ मकै, कोदो, गहुँ र फाँपर खेती मात्रै हुने गर्दथ्यो । बाँँदरले सबै खेतीलाई हानी पुर्याउन थालेपछि परम्परागत खेतीपाती छाडेर कफी खेती गर्न बाध्य भएको यहाँका किसानको भनाइ छ ।

सिर्सेनीका जितबहादुर अर्यालले आफ्नो सबै खेतबारीमा अहिले कफी खेती सुरु गरेकम छन् । “मकै र कोदो खेती गर्दा बाँदरले हैरानी दियो”, उनले भने, “कफी खेतीमा लागेपछि ढुक्क भएको छ ।” उनले तीन वर्षको अवधीमा सबै खेतबारीमा कफी खेती विस्तार गरेका छन् । 

सोही ठाउँकी दमन्ता अर्यालले पनि मकै र कोदो मात्रै खेती हुने ठाउँमा अहिले कफी खेती गरेका छन् ।

“छोराछोरी अध्ययनको लागि सहर छिरेपछि श्रीमान् श्रीमतीले मात्रै मकै र कोदोको खेती जोगाउन सकेनौँ”, उनले भने, “कफी खेती सुरु गरेपछि दैनिक हेरचाह गरेमात्र पुग्छ ।” अहिले सबै खेतबारीमा कफीका बिरुवा रोपेको उनले बताए ।

मेघराज अर्यालले परम्परागत खेतीभन्दा कफी खेती निकै सहज भएको बताए । “कफीबाट आर्थीक आम्दानी राम्रै हुन्छ भन्ने आशा छ”, उनले भने, “हामीले मकै, कोदो र गहुँ खेती छाडेर कफी खेतीमा लाग्यौँ ।” आर्थिक आम्दानीको तुलनामा परम्परागत कृषि भन्दा आधुनिक कृषि बढी लाभदायी हुने उहाँको भनाइ थियो ।

सिर्सेनीका ४५ किसान अहिले कफी खेतीमा आवद्ध छन् । यहाँको कुल एक सय ५० रोपनी क्षेत्रफल जग्गामा १५ हजार कफीका बिरुवा लगाइएको छ ।

किसानलाई कफी खेतीका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ गुल्मीले सहजीकरण गरिरहेको परियोजनाका सहजकर्ता प्रेम अर्यालले बताए । 

उनका अनुसार उक्त परियोजनान्तर्गत सिर्सेनी प्राङ्गारिक कफी कृषि पाठशाला १५ हप्तासम्म कफी पाठशाला कार्यक्रम सञ्चालन गरेर प्रशिक्षण प्रदान गरिएको थियो ।

परियोजना प्रमुख गङ्गाकुमारी पोखरेलले कफी खेतीमा किसानलाई आकर्षित गरिएको बताए । “कफी खेतीसम्बन्धी जानकारी दिनुका साथै आधुनिकताका बारेमा  सचेतना गराएका छौँ”, उनले भने, “कफीमा पछिल्लो समय किसानको आकर्षण बढ्दो छ ।” 

गुल्मीस्थित कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले ग्रामीण भेगमा कफी किसान उत्पादनमा अग्रसर भएको बताए । “कफीको उत्पादनमा मात्रै समस्या हो, बजारीकरणको समस्या छैन”, उनले भने, “सिर्सेनीका किसानको सक्रियताले कफीमा आशा जगाएको छ ।” 

प्रमुख भण्डारीले पाठशालामार्फत सिकेका कुरा कार्यान्वयन गर्नुपर्ने भन्दै यसबाट कफी खेतीलाई विस्तार गर्न सहयोग पुग्ने बताए । -रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ