नक्कली भुटानी शरणार्थी प्रकरणका १८ औँ आरोपी पक्राउ
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १८ बिहिबार
1.1k
Shares
तस्बिर – फाइल ।
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न आरोपी फरार एक जना पक्राउ परेका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान रचिएको अपराधमा संलग्नमध्येका थप एक जना पक्राउ परेका हुन् ।
फरार रहेका हरिभक्त महर्जनलाई प्रहरीले बिहीबार काठमाडौंबाट पक्राउ गरेको हो । प्रकरणमा पूर्वउपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँड, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री एवं एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ३० जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा दायर गरेको थियो ।
उनीहरुमाथि राष्ट्रहित प्रतिकूल, संगठित अपराध, ठगी र किर्तेका दफा लगाएर बिगो, कैद र जरिबानाको मागदाबीसहित मुद्दा दायर गरेको थियो । आरोपितविरुद्ध २८ करोड ८१ लाख रुपैयाँ बिगो कायम गरिएको छ ।
मुद्दा चलाइएकामध्ये १६ जना पक्राउ परेका थिए भने १४ जना फरार थिए । जिल्ला अदालत काठमाडौंमा मुद्दा चलाइएकामध्ये पक्राउ परेकामाथि बयान जारी रहँदा थप दुई जना पक्राउ परेका हुन् । अहिलेसम्म पक्राउ परेकाहरुको संख्या १८ पुगेको छ ।