गुल्मी । नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा गुल्मी क्षेत्र नम्बर दुईका सभासद चन्द्र भण्डारीले यसपटकको दशै माझी समुदायसँग मनाएका छन् । गुल्मीका खोला तथा नदी किनारमा बस्दै आएका झण्डै ६३ घर परिवारका एक सय बालबालिका सहित तीन सय त्रिसठी जनासँग खुसीयाली साटेर उनले दशै मनाउन लागेका हुन् ।
उनीहरुलाई खानाको व्यवस्था सहित बच्चाहरुलाई दक्षिणा र शैक्षिक सामग्रीहरु पनि दिने तयारी गरेको उनले जानकारी दिए । बलिथुमलाई मुख्य थलो बनाएर बसेका सिमान्तकृत माझी समुदायसँग दशैं मनाउन उनि त्यता गएका हुन् । गुल्मीको हुँगा गाविसका स्थायी बासिन्दा भण्डारीले यसपालि आफू घर नजाने र माझी समुदायसँगै बसेर दशैं मनाउने जानकारी दिए ।
उनले संविधान सभाको दोस्रो निर्वाचनमा विजयी भएदेखि नै झण्डै एक दर्जन विद्यालयलाई प्रति विद्यालय बार्षिक एक हजार कपीकलम, २० हजार रुपैया नगद दिने गरेका छन् भने जिल्लाका १५ जना विद्यार्थीलाई शैक्षिक शुल्क, व्यक्तिगत खर्च रकम गरी प्रत्येकलाई बार्षिक रुपमा झण्डै तीस हजारको दरले सहयोग प्रदान गर्दै आएका छन् ।
काठमाडौंमा पाँच जनालाई आवासिय सुविधा सहितको निःशुल्क पढाईको व्यवस्था, काठमाडौमै झण्डै २० जनाको शैक्षिक शुल्क तिरिदिने व्यवस्था र अछाम तथा रामेछापका तीन बच्चालाई आर्थिक सहयोग गर्ने गरेको भण्डारीले जानकारी दिए ।