काठमाडौं। लामो समयदेखि माग हुँदै आएको नेपाली काँग्रेस केन्द्रीय समितिको वैठक दशै पछि बस्ने भएको छ। पार्टीका विभिन्न महत्वपूर्ण निर्णयहरु सभापति शेर बहादुर देउवाले एक्लै लिएको बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले आरोप लगाउँदै आएको थियो। पौडेल पक्षले तत्काल केन्द्रीय समितिको बैठक बोलाउन यसअघी पटकपटक माग गर्दै आएको थियो।
यसैबीच पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ती निकाली नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७३ कार्तिक ४ गते विहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने जनाएका छन् । बैठकमा वर्तमान समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । बैठकमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यज्यूहरुलाई उपस्थितिका लागि मुख्य सचिव पौडेलले अनुरोध गरेका छन् ।
यो पटकको वैठकमा सभापति देउवा पक्ष र पौडेल पक्षबीच निकै चर्चाचर्की हुने अनुमान छ। पदाधिकारी मनोनयनमा समिकरण मिलाउन कमजोरी भए अझ देउवा थप दवावमा समेत पर्न सक्छन् । यस्तो बेलामा हुने यो वैठक पार्टीको आन्तरिक राजनीतिका हिसावले पनि महत्वपूर्ण हुने अनुमान छ ।