काठमाडौँ। आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापी मनाइएको छ।
आज स्वदेश तथा विदेशमा रहेका नेपालीले मान्यजनबाट टीका र जमरा ग्रहण गरी उमङ्गका साथ विजयादशमी मनाएका हुन्। बडादसैँको दसौँ दिन विजयादशमीको टीका र आशिर्वाद थाप्न आज दिनभर सर्वसाधरण व्यस्त रहे। राष्ट्रप्रमुख राष्ट्रपतिदेखि सर्वसाधरणसम्म दसैँको टीका र जमरा आदन प्रदानमा व्यस्त देखिए।
उपत्यकामा चहलपहल बढ्यो
दसैँका बेला फुलपातिदेखि करिब सुनसान बनेको उपत्यकामा आजदेखि चहलपहल बाक्लिएको छ। सर्वसाधरण विभिन्न पहिरनमा सजिएर आफन्तकहाँ टीका र आशिर्वाद लिन बाक्लो सङ्ख्यामा आवतजावत गरिरहेका देखिन्थे। सवारी साधन कम चलेकाले केही यात्रु पैदल भएपनि आ—आफ्नो गन्तब्यतिर लम्किरहेका थिए । उपत्यकामा अति आवश्यक सामानका पसल खुलेका छन् । सडकमा मानिसको आवत जावत पनि बाक्लिएको छ।
उपत्यकामा विगत तीन दिनको तुलनामा आज बढी सवारी साधन चलेको छ। टीकापछि आज उपत्यकामा सवारीको चाँप बढेको र हालसम्म कुनै गम्भीरप्रकृतिका घटना नभएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
पूर्वराजाबाट सर्वसाधरणलाई टीका
पूर्वराजा ज्ञानेन्द्र शाहले बडादसैँका अवसरमा आज सर्वसाधरणलाई टीका लगाइदिएका छन्। निर्मल निवासमा दिउँसो ३: ३० बजेदेखि पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल शाहले संयुक्तरुपमा टीका लगाई सर्वसाधरणलाई आशिर्वाद दिएका थिए।
टीका लगाउन मध्याह्नदेखिनै निर्मल निवासमा भीड लागेको थियो । टिक थाप्नका लागि पञ्चायतकालका राजनीतिज्ञ, पूर्व प्रशासक, तत्कालीन साही नेपाली सेनाका उच्च पदाधिकारीलगायतको बाक्लो उपस्थिति थियो। सबैभन्दा पहिला पूर्व उपप्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले लगाएका थिए। त्यसक्रममा उनीहरुबीचमा केहीबेर राजनीतिक कानेखुसी समेत भएको अध्यक्ष थापाले आफ्नो ट्वीटमा उल्लेख गरेका छन्।
कुमारीको हातबाट टीका ग्रहण
विजयादशमीको अवसरमा भक्तपुरको तलेजुमा जिवित देवीको रुपमा पुजिँदै आएको कुमारीको हातबाट आज टीका ग्रहण गर्नेको घुइँचो लागेको छ। कुमारी जिविका बज्राचार्यको हातबाट तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशी, पुजारी, जोशीहरु, कर्माचार्यहरु, गुरु तथा पुरोहितले साइतको टीका लगाएका छन्।
कुमारीको हातबाट मूल नाइकेलगायतले टीका लगाएपछि सर्वसाधारणले उहाँको हातबाट टीका लगाउने परम्परा रहेको तलेजुका मूल नाइके जोशीले बताए। सत्रौं शताब्दीमा मल्ल राजा जयप्रकाश मल्लले तलेजु भवानीसँग त्रिपाशा खेल्ने गरेको किम्बदन्ती रहेको छ। किंवदन्तीअनुसार राजा जयप्रकाशले कुदृष्टिले हेरेपछि तलेजु भवानी त्यहाँबाट हराएकी थिइन्।
राजाले क्षमा माग्दै धेरै रोइकराइ गरेपछि तलेजुले वर्षको एक पटक मात्र आउँछु भन्ने वचन दिएकीले हरेक वर्ष महानवमीका दिन तलेजु भवानी आफ्नो मन्दिरमा प्रकट हुने र विजयादशमीको दिन टीका लगाइदिने गरेको विश्वासका साथ मानिसहरुको घुइँचो यहाँ लाग्ने गर्दछ। रासस
नाचसहित टीका थाप्न थारु समुदाय वडघरमा
त्यसैगरी कञ्चनपुरका थारु समुदायले नाचसहित बडघरमा जम्मा भएर बडादशैंका टीका थापेका छन्। पालो पर्खदै पहुरा लिएर बडघरमा जम्मा भएका थारु समुदायका बालबालीका, बुढापाका, महिला र तन्नेरीले टीका टीका थापेका हुन्। थारु समुदायमा बडादशैंको टीका बडघरमा गएर थाप्ने चलन रहेको छ।
टीका थाप्न गाँउगाँउबाट सखिया, लठुवा र छोक्रा नाचसँगै पहुराका रुपमा मदिरा, जमरा, बेवरी र टीकासहित बडघरमा जाने चलन रहेको स्थानीय परदेशी चौधरीले बताए।
गाँउका मान्यजनका रुपमा समाजले सामाजिक र साँस्कृतिक कार्य गर्न चुनेका बडघरबाट पहिलो टीका थापेर आशिर्वाद लिनुपर्ने परम्परागत चलन रहेको उनले बताए।
टीका थाप्नका लागि परिवारसहित बडघरमा पुगेका विश्राम चौधरीले छोक्रा नाचसहित टीका लगाउन आएको बताए। रासस