arrow

दाङमा जग्गा प्लटिङको नाममा ठगी धन्दा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २६ शुक्रबार
thagi-planning-dang.jpg

दाङ । घोराही १७ चौघेरा निवासी धनाकुमारी घिमिरे आफ्नो नाममा रहेको ६ धुर जग्गा केही जग्गा व्यवसायीले गरेको जग्गा प्लटिङको लागि पास गरेर दिइन् । घोराहीका प्रतिष्ठित जग्गा व्यवसायीहरुले सोही ठाउँकै भैसाहीको ८ बिगाहा जग्गामा गरेको प्लटिङमा धनाले आफ्नो नाममा भएको सो जग्गा जग्गा ब्यबसायीहरु घोराही १८ घर भइ हाल घोराही १५ निवासी उपेन्द्र भनिने खेमराज शर्मा, घोराही १७ भैसाहीका दामोदर घिमिरे, सोही ठाउँकै हरिप्रसाद चौधरीले संयुक्त नाममा पास गरी लिए । 

थोरै जग्गा कित्ताकाट गरेर सोही ठाउँका चुल्लुराम चौधरीको नाममा पास गर्न ती जग्गा व्यवसायीले लगाए । प्लटिङपछि गाउँले जग्गा धनीहरुलाई ६० प्रतिशत र अरु बाँकी ४० प्रतिशत जग्गा व्यवसायीले सुबिधा पुर्याउने नाममा लिए । 

उनीहरुले ७ मिटरको पिच बाटो, पक्की नाला, बिजुलीको तार पोल समेतको सुबिधा सम्पन्न घडेरी बनाएर दिने कागज गरे । तर धनाको सन्दर्भमा शतप्रतिशत ६धुर (१०१.५८ वर्गमिटर) को  सट्टामा १२ हात मोहडा, ४० हात पिछवाड भएको तयार घडेरी दिने भन्ने सम्झौता त्यही जग्गा व्यवसायी समूहका घोराही १७ कै पदमबहादुर घर्तीसँग भएको थियो ।

तर उक्त जग्गा व्यवसायी समूहले झुक्यायर पीडित धनालाई हरिद्वार (ग कित्ता नम्बर ७५२ बाट ४.५० वर्गमिटर र कित्ता नम्बर ७६५ बाट ९.२५ वर्ग मिटर गरी जम्मा १३.७५ वर्गमिटर मात्र (एक धुर पनि नपुगेको)  जग्गा उपलब्ध गराइ ठगी गरेका थिए । 

१० महिनापछि जग्गा बिक्री गर्न मालपोत गएको बेला पीडित धनाले आफू ठगिएको चाल पाइन् । उनले आफ्नो गुनासो ती ठग्ने जग्गा व्यवसायीहरुलाई सुनाइन् । सम्झौता बमोजिमको जग्गा प्राप्तिको लागि उनी १ महिना रोइन् । कराइन् । तर कसैले सुनेनन् । उनी बाध्य भएर ती ठग्ने जग्गा ब्यवसायीविरुद्ध जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी दिन गइन् । 

प्रहरीले ती ठगीमा संलग्न शर्मा, चौधरी, घर्तीलाई बोलाएर सोधपुछ गर्दा उनीहरुले आफ्नो गल्ती स्वीकार गरेको र क्षतिपूर्ति बापत उनले पाउने जग्गाको मूल्यको दोब्बर रकम १८ लाख दिने सहमति गरे । धनालाई पहिलो किस्ता स्वरुप ९ लाख दिए भने बाँकी ९ लाख आगामी असोजभित्र उपलब्ध गराउनेमा सहमति जनाए । 

जाहेरीमा आरोपी दामोदर घिमिरेलाई बारम्बार यो समस्या समाधान गर्न पीडितले अनुरोध गर्दा बेवास्ता गरी हाल नेपाल बाहिर भागी गएको स्रोतले जनाएको छ । धना एकल महिला हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ