काठमाडौं। नेकपा (एमाले) ले बडादसैँ, तिहार, नेपाल संवत् र छठ लगायत पर्वका अवसरमा यही असोज २९ गते चियापान कार्यक्रम आयोजना गर्ने भएको छ।
हालको पार्टी केन्द्रीय कार्यालय रहेको धूम्रबाराही अगाडि रहेको शङ्खपार्कमा मध्याह्न १२ देखि ३ बजेसम्म हुने चियापान कार्यक्रमको व्यवस्थापन र सुरक्षाका लागि आज भएको बैठकपछि तयारी पूरा भएको सो पार्टीले जनाएको छ।
पार्टीका सचिव योगेश भट्टराई, कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ लगायत नेताले आज सुरक्षा निकाय र सम्बद्ध पक्षसँगको बैठक र चियापान स्थलको अवलोकन गरेका थिए। नेता श्रेष्ठका अनुसार कार्यक्रमस्थलको मूल प्रवेश ढोकामा राष्ट्रिय वेशभूषा झल्कने झाँकी प्रदर्शन हुनेछ। कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली सहितका नेताले स्वागत गर्नुहुनेछ।
त्यस्तै सञ्चारकर्मीका लागि तस्बिर लिनका लागि अलग्गै प्रबन्ध गरिएको छ। एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीले आफू विपक्षी दलको नेता हुँदा सुरु गर्नुभएको चियापनलाई पार्टीले निरन्तरता दिँदै आएको छ। रासस