- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
हामीहरुमध्ये धेरैजसो मानिसहरुले ‘भिटामिन डी’ को बारेमा सुनेका छौँ । ‘होल बडी’ जाँच गर्दा अरु केही रोग नभेटिएर रगतमा भिटामिन डीको कमी देखिएका धेरै बिरामीहरु भेटिन्छन् । जसलाई भिटामिन डीको औषधि दिनुपर्ने हुन्छ ।
पछिल्ला दिनहरुमा प्रविधिको विकास भएसँगै भिटामिन डी सम्बन्धी धेरै अनुसन्धानमुलक लेखहरु प्रकाशित हुँदा जनमानसमा पनि यसको बारेमा निकै कौतुहलता बढेको पाइन्छ। अनुसन्धानमुलक लेखहरुको विश्लेषण गर्दा भिटामिन डीको कमी एउटा विश्वब्यापी समस्या हो । संसारका धेरै मानिसहरु भिटामिन डीको कमीबाट पीडित छन् ।
नेपालको सम्बन्धमा भिटामिन डीको बारेमा भरपर्दो अनुसन्धानमुलक लेख प्रकाशित नभए पनि दैनिक ओपीडीमा आउने बिरामीहरुको जाँच गर्दा भिटामिन डीको कमी धेरै मानिसहरुमा पाइन्छ । वास्तवमा भिटामिन डीलाई एउटा सामान्य भिटामिन मात्र भनिरहँदा त्यति न्यायोचित हुँदैन । किनभने यो एउटा त्यस्तो तत्व हो जसले हड्डी र मांसपेशीलाई मात्र बलियो नबनाएर मानव शरीरका धेरै र जटिल रोगहरुसँग प्रत्यक्ष र अप्रत्यक्ष सम्बन्ध राख्दछ ।
भिटामिन डी शरीरले कसरी प्राप्त गर्दछ ?
सूर्यका प्रकाशमा हुने अल्ट्राभाइलेट किरणहरुलाई भिटामिन डीको महत्वपूर्ण श्रोतको रुपमा लिने गरिन्छ । अल्ट्राभाइलेट किरणहरुको मद्धतले छालामुनि रहेको सेभेन डिहाइड्रोकोलेस्टोर नामक तत्व प्रि–भिटामिन अथवा भिटामिन डी–३ मा परिवर्तन हुन्छ । यसरी बनेको प्रि–भिटामिन सबैभन्दा पहिला कलेजोमा पुगेर इन्जाइमको मद्धतले यो भन्दा सक्रिय भिटामिनमा परिवर्तन हुन्छ र अन्तमा मृगौलामा गएर अर्को इन्जाइमको मद्दतले रसायनिक रुपमा सबैभन्दा सक्रिय भिटामिन डी (१,२५ डाइहाइड्रो कोलिक्याल्सिफेरोल) मा परिवर्तन हुन्छ । जसले हड्डी मासुलगायत शरीरका विभिन्न अंगहरुमा आफ्नो काम गर्दछ ।
त्यसैगरी शरीरले भिटामिन डी हामीहरुले खाने खानाबाट पनि प्राप्त गर्दछ । भिटामिन डी पाइने प्रमुख खाद्यबस्तुहरुमा दूध तथा दूधबाट बनेका परिकारहरु, कलेजो, अन्डा, फिस आयल, माछा मासुहरु आदि पर्दछन् ।
यस्ता खाद्य बस्तुहरुले मात्र पनि शरीरलाई चाहिने जति भिटामिन डी को आवश्यकता पूरा गर्न असमर्थ रहन्छन् । त्यसकारण यही तथ्यलाई मनन गरेर विदेशमा खाद्यबस्तुहरुमा नै भिटामिन डीको फोर्टिफिकेसन अथवा मिसावट गराएर आपूर्ति गर्ने गरिन्छ ।
शरीरमा भिटामिन डी कम हुने कारणहरु
यथेस्ट मात्रामा शरीरले सूर्यको किरण प्राप्त गर्न नसक्नुनै भिटामिन डी कम हुनुको प्रमुख कारण हो । यद्यपि भिटामिन डीयुक्त खानाहरु कम खानु र शरीरको सानो आन्द्रामा समस्या भएर हामीहरुले खाएको खानालाई एब्जर्सन (सोस्न०) गर्न सक्ने अवस्था कम हुनु पनि शरीरमा भिटामिन डी कम हुने मुख्य कारणहरुमा पर्दछन् ।
शरीरको रङ अनुसार पनि भिटामिन डी घटिबढी हुने गर्दछ । कालो वर्ण भएका मानिसहरुको छालामा मेलानिन भन्ने तत्व ज्यादा हुने हुन्छ । जसले सूर्यका किरणहरुलाई छेकेर भिटामिन डी उत्पादन गर्न रोक्दछ । मेलानिन तत्वले ९५ प्रतिशत केसमा भिटामिन डीको उत्पादनमा असर गरेको हुन्छ ।
भूमध्य रेखाबाट धेरै टाढा गोलार्धको आसपासमा बस्ने, बुर्का लगाएर हिँड्ने, धेरै जाडो र नियमित घाम नलाग्ने ठाउँमा बस्ने, घरभित्र बढी बसेर काम गर्ने मानिसहरुमा भिटामिन डीको कमी हुनसक्छ । वातावरणमा ओजोनको मात्रा बढी भएको अवस्थामा सूर्यको प्रकाशमा भएका अल्ट्राभाइलेट किरणहरुलाई छेकिदिने हुँदा छालामा भिटामिन डीको उत्पादन कम हुन्छ ।
सनस्क्रिन मलम लगाउने मानिसमा पनि भिटामिन डी कम भएको पाइन्छ । किनभने सनस्क्रिनले अल्ट्राभाइलेट किरणहरुलाई रिफ्लेक्ट गर्दछ । जाडो मौसममा गर्मी मौसमको तुलनामा शरीरमा भिटामिन डीको मात्रा कम हुन्छ । भिटामिन डी बोसोमा घुलमिल भएर रहने तत्व भएकोले मोटा मानिसहरुमा जहाँ बोसोको मात्रा बढी हुन्छ त्यहाँ गएर भिटामिन डी निस्क्रिय हुने हुँदा ती मानिसहरुमा भिटामिन डीको मात्रा कम हुन्छ ।
७० वर्षभन्दा माथिका वृद्धवृद्धाहरुमा सूर्यको किरणले छालामा भिटामिन डी उत्पादन गर्ने क्षमता ७५ प्रतिशत भन्दा बढीले कम हुने हुँदा तिनीहरुमा पनि भिटामिन डीको कमी हुन्छ । त्यसैगरी कलेजो तथा मृगौलाको खराबी भएका, सानो आन्द्रा तथा ठूलो आन्द्रामा समस्या भएका (क्रोहोन्स डिजिज्, अल्सरेटिव कोलाइटिस्, सेलियाक डिजिज् आदि), स्टेरोइड लगायत छारे रोग, क्यान्सर, एचआईभी रोगहरुको लागि औषधि सेवन गर्ने मानिसहरुमा पनि भिटामिन डीको मात्रा कम हुन्छ ।
भिटामिन डी कम भए के लक्षणहरु देखिन्छन् ?
धेरैजसो अवस्थामा भिटामिन डी कम भएको पत्तै हुँदैन । केबल रगतमा भिटामिन डी को जाँच गराउँदा मात्र पत्ता लाग्दछ । केटाकेटीहरुमा भिटामिन डी कम भएमा हड्डी कमजोर भएर खुट्टाहरु बाङ्गा हुने, नाडी तथा घुँडानेरको हड्डीहरु फुलेर आउने, छातीको हड्डी ठूलो भएर परेवाको छाती जस्तो हुने हुन्छ जसलाई रिकेट भनिन्छ ।
ठूला मानिसहरुमा यो भिटामिनको कमी भएमा हड्डी कमजोर हुने, हड्डी कमजोर हुने रोगहरु जस्तै जस्तै ओस्टियोमालासिया, ओस्टियोपोरोसिस भएर हड्डीहरु सामान्य प्रकृतिको चोटबाट पनि भाँच्चिने हुन्छ ।
यो बाहेक असामान्य रुपमा बिना कुनै कारण ढाड, घुँडा, हिप र तिघ्राको मासु दुख्ने, शरीरका अन्य भागका हड्डीहरु पनि दुखेको महसुस हुने, खुट्टाहरु फत्रक्क गल्ने, तिघ्राको मासु पटक–पटक क्रयाम्पिङ हुने, थकाई लागेको महसुस हुने र शरीर भारी हुने समस्याहरु पनि भिटामिन डी कमी भएका लक्षणहरु हुन् ।
सबैभन्दा महत्वपूर्ण कुरा के हो भने पछिल्लो अनुसन्धानको रिपोर्ट अनुसार भिटामिन डीको कमी भएमा मानिसहरुमा डिप्रेसन, सिजोफ्रेनिया, उच्च रक्तचाप, कोरोनरी हार्ट डिजिज, हृदयघात, मधुमेह (टाइप २), बाथ (रिमाटोआड आथ्राइटिस्, क्रोहोन्स डिजिज (आन्द्रामा हुने समस्या), मल्टिपल स्क्लेरोसिस ( दिमागको नसामा हुने समस्या), ब्रेस्ट, पान्क्रियाज, प्रोस्टेट र ठूलो आन्द्राको क्यान्सर, बच्चाबच्चीमा हुने एलर्जी, दाँतमा बन्ने क्याभिटी लगायत क्षयरोग, निमोनिया र पिसाबको संक्रमणसमेत बढी भएको देखाएको छ ।
भविष्यमा गरिने अरु अनुसन्धानहरुले यी कुराहरुको थप पुष्टि गर्ने छ । शरीरमा भिटामिन डीको लेबल कति छ भनेर पत्ता लगाउनको लागि रगत जाँचको आवश्यक पर्दछ । रगतमा भिटामिन डीको लेबल ३० देखि १०० न्यानोग्राम पर मिलिलिटर हुने अवस्थालाई सामान्य मानिन्छ ।
यद्यपि फरक फरक ल्याबमा फरक फरक प्रकारको भिटामिन डी नाप्ने पारामिटर हुन्छ । २० देखि ३० भएको अवस्थालाई डेफिसियन्ट् अथवा कम भनिन्छ भने २० भन्दा तल भएमा इन्सफिसियन्ट अथवा क्रिटिकल्ली कम भएको मानिन्छ ।
भिटामिन डीको जाँच गराउने टेष्ट तुलनात्मक रुपमा महँगो हुने भएकोले सबै मानिसहरुमा यो टेष्ट गराउन सल्लाह दिइँदैन । त्यस्ता बिरामीहरु जसमा भिटामिन डी कम भएको संकेतहरु देखिन्छ अनि मात्र जाँच गराउन सल्लाह गरिन्छ ।
१५० न्यानोग्राम पर मिलिलिटर भन्दा बढी भएमा भिटामिन डी टक्सिसिटी हुन्छ । भिटामिन डी टक्सिसिटी भएमा बिरामीहरुको टाउको दुख्ने, रिंगटा लाग्ने, कन्फ्युजन हुने, कब्जियत हुने र मृगौला लगायत अरु अंगहरुमा स्टोन जमेर हानि गर्न सक्दछ ।
त्यसकारण चिकित्सकको सल्लाह बिना आफ्नै मनले भिटामिन डी खाने बानी बिल्कुल ठीक होइन । यसले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्दछ ।
हामी सबैले के कुरा बुझ्न जरुरी छ भने क्याल्सियम र भिटामिन डी भनेको फरक कुरा हुन् । क्याल्सियम शरीरले चाहिने मात्रा लिन्छ र बढी भएको दिसा र पिसाबबाट बाहिर निकाल्छ । तर भिटामिन डी चाहिने भन्दा बढी सेबन गरेमा शरीरमा टक्सिसिटी गराउँदछ ।
भिटामिन डीको कमी हुनबाट कसरी बच्ने ?
भिटामिन डी कमी हुनबाट बच्नको लागि माथि उल्लेख गरेका सम्पूर्ण कारणहरुलाई राम्रोसँग सम्बोधन गर्न सक्नु पर्दछ । धेरैजसो भिटामिन डीको श्रोत सूर्यका किरणहरु भएकाले नियमित रुपमा घाममा बस्न जरुरी देखिन्छ ।
शरीरलाई चाहिने मात्रामा भिटामिन डी उत्पादन गर्नको लागि कम्तीमा ३० प्रतिशत शरीरको भाग घाममा एक्सपोज हुनुपर्छ तर वयस्क मानिसहरुले लुगा लगाएर काममा जादा १२ देखि १५ प्रतिशत मात्र शरीरको भाग घाममा एक्सपोज हुन्छ ।
यो बाहेक धेरै जसो मानिसहरु कार्यालय भित्रै बसेर काम गर्नु पर्ने हुनाले र हाम्रो खाद्यबस्तुहरुमा भिटामिन डी फोर्टिफिकेसन अथवा मिसावट पनि नहुने हुनाले यो भिटामिनलाई क्याप्सुल वा पाउडरको रुपमा शरीरलाई सप्लिमेन्ट गर्नु पर्ने हुन्छ ।
इन्डोक्राइनोलोजी सोसाइटीका अनुसार १८ वर्षसम्मका मानिसहरुको लागि ५०० देखि १००० इन्टरनेशनल युनिट दैनिक भिटामिन डीको आवश्यकता पर्दछ भने १८ वर्ष भन्दा माथिकाहरुलाई दैनिक १५०० देखि २००० इन्टरनेस्नल युनिट भिटामिन डीको जरुरी पर्दछ ।
भिटामिन डीको कमी भएको अवस्थामा यसलाई पूर्ति गर्नको लागि दैनिक, हरेक हप्ता वा हरेक महिना खाने विभिन्न रेजिमेनहरु उपलब्ध छन् जसलाई चिकित्सकको सल्लाह बमोजिम शरीरमा भिटामिन डीको मात्रा, रोगको लक्षण, बिमारीको उमेरलगायत धेरै तथ्यहरुलाई मध्यनजर गरेर प्रयोग गर्नु पर्दछ ।
यो बाहेक हामीहरुले हाम्रो खानाको तरीकासमेत बदल्नु पर्दछ । हामीहरुले केबल दाल, भात, तरकारी, अचारमात्र खाएर भिटामिन डीको पूर्ण आवश्यकता पूरा गर्न सकिँदैन । भिटामिन डीयुक्त खानाहरुको बारेमा हामी सबैलाई राम्रोसँग जानकारी हुनुपर्दछ ।
त्यतिमात्रले पनि यसको आवश्यकता पूरा नहुने भएकाले सरकारी तहबाटै खाद्यबस्तुहरुमा भिटामिन डी मिसावट गराएर नागरिकलाई आपूर्ति गर्नु जरुरी छ ।
अन्त्यमा भिटामिन डी के हो, शरीरले यसलाई कसरी प्राप्त गर्दछ, यसको कमी हुँदा हुने लक्षणहरु के हुन्, के गर्दा यसको कमी हुनबाट बच्न सकिन्छ भन्ने बारे सामान्य ज्ञान हुँदा पनि भिटामिन डीको कमीबाट हुने समस्याहरुलाई केही हदसम्म कम गर्न सकिन्छ । (डा केसी हाडजोर्नी विशेषज्ञ हुन्)