- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
“प्रेस स्वतन्त्रता लोकतन्त्रका लागि आवश्यक मात्र होइन, यो लोकतन्त्र नै हो,” दिवङ्गत पत्रकार वाल्टर क्रोन्काइटको यो एउटा चर्चित भनाइ हो। सन् २०२२ मा विश्वभर लोकतन्त्र समस्याग्रस्त भएको निष्कर्षमा क्रोन्काइट सहमत हुन्थे होला। शारीरिक उत्पीडनदेखि डिजिटल सटडाउन (बन्द गराउने) सम्मका प्रेस माथिका प्रहारहरूले प्रेस स्वतन्त्रता विरुद्धको विश्वव्यापी प्रतिगमनलाई सङ्केत गर्दछ। “विश्वका ८० प्रतिशत जनसङ्ख्यासँग एक दशकअघि भएको अभिव्यक्ति स्वतन्त्रता भन्दा अहिले कम स्वतन्त्रता छ,” विश्वभर अभिव्यक्ति तथा सूचनाको स्वतन्त्रताको प्रवर्द्धनमा काम गर्ने संस्था आर्टिकल १९ ले २०२२ मा प्रकाशित रिपोर्टमा उल्लेख गरेको छ।
भौतिक आक्रमण, अनलाइन हरासमेन्ट (हैरानी), गलत सूचनाको बिगबिगी तथा प्रतिगामी मिडिया कानूनहरूले विश्वभरका स्वतन्त्र पत्रकारहरूलाई चुप लगाएर सूचनाको खाडल सिर्जना गर्दैछन् ।
ग्लोबल प्रेस जर्नलले गरेको पछिल्लो प्रेस स्वतन्त्रता सर्वेक्षणले विचार तथा अभिव्यक्ति स्वतन्त्रतामा डरलाग्दो तरिकाले ह्रास आएको देखाउँछ। २०२३ को सुरुवात तिर भएको सर्वेक्षणमा उत्तरदाता रहेका ३३ देशका ४९९ जना मिडियाकर्मीमध्ये ३९.५ प्रतिशतले सन् २०२० यता “कम स्वतन्त्र” महसुस गरेको बताए भने २६.५ प्रतिशतले “प्रेस स्वतन्त्रता सम्बन्धी कानुनहरूको कार्यान्वयनको अभाव” महसुस गरेको बताए। सर्वेक्षणको पूर्ण नतिजा यहाँ हेर्नुहोस् ।
"प्रेस स्वतन्त्रता लोकतन्त्रका लागि आवश्यक मात्र होइन, यो लोकतन्त्र नै हो।" – वाल्टर क्रोन्काइट
यी आक्रमण भोग्ने अग्र रेखामा स्थानीय पत्रकार तथा मिडियाकर्मी छन्। प्रेस स्वतन्त्रतामाथिका सबैभन्दा धेरै आक्रमण खेप्ने देशहरू मध्ये मेक्सिको, युगान्डा श्रीलंका सहित ग्लोबल प्रेस जर्नलको स्थानीय ब्युरो भएका देशहरू छन्। मेक्सिकोमा पत्रकारहरू मारिएका घटनाहरू छन्, तर त्यहाँ दण्डहीनता मौलाएको छ। युगान्डामा कुनै पनि नागरिकको एउटा ट्विटले उसलाई जेल पुर्या उन सक्छ। श्रीलंकामा राजनैतिक र आर्थिक सङ्कटका बिच त्यहाँको सरकारले अभियन्ता तथा पत्रकारहरूलाई दमन गर्दै छ। धेरै देशहरूमा यी सबै खाले सङ्कटहरू माथि प्रतिगामी मिडिया कानुनहरू पनि छन्, जसले नागरिक, अभियन्ता तथा विपक्षी आवाजहरू सहित तिनीहरूको कथा भन्ने प्रेसको स्वतन्त्रता कटौती गर्दछन्।
तर त्यस्ता क्षेत्रहरू पनि छन्, जहाँ पत्रकार, अधिवक्ता, कलाकार तथा सृजनशील व्यक्तिहरू आफ्नो मैदान पुनः प्राप्तिका लागि कठिन लडाई लड्दै छन्। ११ देशमा ३७ ब्युरोहरू स्थापना गरेको अनुभव भएको ग्लोबल प्रेसले सिमान्तिकृत र द्वन्द्ग्रस्त समुदायहरूका लागि स्थानीय पत्रकारिता जीवन रेखा बन्ने गरेको पाएको छ। यो सुदृढ लोकतन्त्रका लागि अत्यावश्यक हुने एउटा औजार हो। चाहे सार्वजनिक भ्रष्टाचारका केसहरू बाहिर ल्याउने होस् वा बहुराष्ट्रिय कम्पनीहरूले विकट क्षेत्रमा पारेका वातावरणीय प्रभावहरूको उच्च तहको खोजी गर्ने, स्थानीय रिपोर्टिङले प्रत्यक्ष र देखिने प्रभाव पार्छन् ।
स्थानीय पत्रकार तथा न्युजरुमहरू आफ्नो भाषा, पहुँच, विश्वास र कभर गर्ने विषयबारेको सूक्ष्म ज्ञानका कारणले रिपोर्टिङ मार्फत जबाफदेहिता खोज्न विशिष्ट क्षमता राख्छन्। तर तिनै स्टोरीहरू र भौतिक निकटताले उनीहरूलाई खतरामा पार्छ। उनीहरू सरकार, कर्पोरेसनहरू, आपराधिक गिरोह तथा कार्टेलहरूबाट बारम्बार आक्रमण तथा धम्कीको जोखिममा हुन्छन्।
यी सबै खतराहरूका बाबजुद “अवज्ञाका आवाजहरू” परियोजनाको लागि अन्तर्वार्ता गरिएका सबै पत्रकारहरू आफ्नो कर्ममा दृढतापूर्वक लागेका छन्। तर अरू धेरै पत्रकारहरू पनि छन्, जो आफ्नो पेसा छोड्न वा देशबाट भाग्न बाध्य भएका छन्।
जब स्थानीय पत्रकार तथा समाचार संस्थाहरू सेन्सर गरिन्छन्, चुप लगाइन्छन् वा निकालिन्छन् समुदायमा सूचनाको प्रवाह अवरुद्ध हुन्छ। त्यसले सिर्जना हुने खाडलले महत्त्वपूर्ण सामाजिक, राजनैतिक तथा आर्थिक सवालहरूमा नागरिकहरूको सहभागिता घट्छ। सार्वजनिक सरोकारका विषयहरूमा नागरिकहरूको संलग्नता बिना लोकतन्त्र क्षयीकरण हुन्छ। नागरिक तथा समुदायको सहयोग बिना पत्रकारहरू अझ धेरै आक्रमण तथा उत्पीडनको जोखिममा पर्छन्।
आर्थिक सङ्कटको दबाब तथा राजनैतिक आक्रमणबाट गुज्रिरहेका स्थानीय पत्रकार तथा समाचार संस्थाहरूलाई तालिम, उपकरण, स्रोत, वकालत तथा अवसरहरू मार्फत थप सुरक्षा आवश्यक छ। मिडिया समुदायले जहाँसुकै भए तापनि स्वतन्त्र विचार तथा अभिव्यक्तिका हननहरूलाई चुनौती दिनै पर्दछ। हामीले यी प्रयासहरूलाई फिल्डमा रहेर नेतृत्व गरिरहेका व्यक्ति तथा समुदायहरूलाई उनीहरूको कानुनी तथा राजनैतिक अधिकार सुनिश्चित गरिदिएर, भौतिक तथा डिजिटल सुरक्षा बढाएर र आर्थिक स्थायित्व सुनिश्चित गरेर अझ राम्रो सुरक्षा प्रदान गर्नुपर्दछ।
मिडिया कानूनमार्फत विचार स्वतन्त्रताको सुरक्षामा अन्ततोगत्वा सरकार नै जिम्मेवार हुने भए तापनि मिडिया संस्थाहरूले न्युजरुमहरू तथा फिल्डमा तीनका पत्रकारहरूको सुरक्षा गर्ने आफ्नो भूमिका निर्वाह गर्नुपर्छ। न्युजरुमहरूले आफ्ना पत्रकारहरूलाई प्रतिशोधहरू बाट जोगाउन प्रयासहरू बढाउँदै पनि लगेका छन्। एउटा उदाहरण ग्लोबल प्रेसको ड्युटी अफ केयर कार्यक्रम हो, जसले स्पष्ट परिभाषित सुरक्षा प्रोटोकलहरू, सङ्कट प्रतिकार्य तालिम तथा मानसिक स्वास्थ्य सेवा मार्फत पत्रकारहरूको शारीरिक, भावनात्मक, डिजिटल र कानूनी सुरक्षा गर्दछ। यस्ता खालका कार्यक्रमहरूले पत्रकारहरूलाई विशिष्ट चुनौतीहरू सामना गर्न महत्त्वपूर्ण भूमिका खेल्दछ।
“अवज्ञाका आवाजहरू” परियोजना विचार तथा अभिव्यक्ति स्वतन्त्रता प्राप्तिका लागि निरन्तर लागिरहेका स्थानीय पत्रकारहरू तथा अभियन्ताका साथै तीनका स्टोरीहरू सम्प्रेषण गर्ने ग्लोबल प्रेस जर्नलका रिपोर्टर तथा स्टाफहरू प्रति एउटा सम्मान हो ।
— प्रिथी नल्लु , अतिथि सम्पादक
मेक्सिको
डायना मान्जो
वाहाकाका ठूला पूर्वाधार परियोजनाहरूको रिपोर्टिङ गर्ने जापोटेकको पत्रकारका लागि धम्की भनेको जीवनकै एउटा पाटो हो।
रिपोर्टर्स विथआउट बोर्डर्सका अनुसार सन् २०२२ मा मेक्सिको पत्रकारका लागि विश्वकै सबैभन्दा डरलाग्दो देश हो। पछिल्ला २० वर्षमा विश्वभरमा भएका पत्रकारहरूको हत्याहरू मध्ये ७ प्रतिशत मेक्सिकोमा भएका छन्।
अन्तर्राष्ट्रिय गैर सरकारी संस्था आर्टिकल १९ का अनुसार स्थानीय राजनीति, सार्वजनिक सुरक्षा र न्यायका विषयमा रिपोर्टिङ गर्ने पत्रकारहरू सबैभन्दा धेरै जोखिममा छन् भने सरकारी अधिकारीहरू प्रमुख आक्रमणकारी भएको आरोप लगाइन्छ। सामान्यतया यी पत्रकारहरू शक्तिशाली स्थानीय पात्रहरूबाट धम्की सामना गर्छन् र त्यसपछि या त मारिन्छन् वा अर्को पटक देखा नपर्ने गरी अपहरण गरिन्छन्। धेरै पत्रकारहरू अरू देश वा मेक्सिकोको अन्य भागहरूमा भाग्छन्।
वाहाकामा रहेका ठुला पूर्वाधार परियोजनाहरूको रिपोर्टिङ गर्ने आदिवासी पत्रकारको रूपमा डायना मान्जोको लागि धम्की तथा असुरक्षा उनको दैनिक जीवनको अङ्ग जस्तै हुन्। उनी आफूलाई “नियन्त्रित भइरहेको जस्तो” लाग्ने बताउँछिन्। “कसैले मेरो मुखमा र हातमा पट्टि बाँधिदिएको कारणले मैले टाइप गर्न सक्दिन जस्तो लाग्छ,” उनी भन्छिन्।
वाहाकामा रहेका वायु ऊर्जा फार्म आसपास बस्ने साना किसानहरू प्रतिको कन्ट्रयाक्टका दायित्व पूरा नगर्ने निजी कम्पनीहरूबारेको सन् २०१९ मा मान्जोले तयार पारेको “स्वच्छ ऊर्जा, फोहोरी कन्ट्रयाक्ट” विषयको खोजमूलक सामाग्रीले प्रेमिओ नेसनल डे पिरियोडिज्मोमा अनररी मेन्सन प्राप्त गर्यो। यो मेक्सिकोको लागि संयुक्त राज्य अमेरिकाको पुलित्जर पुरस्कार जस्तै मानिन्छ।
मेक्सिकनहरूले पत्रकार विरुद्ध हुने हिंसामा कम ध्यान दिने गरेकोमा उनी दुखी छिन्। “जब एउटा पत्रकार मारिन्छ बाहिर सडकमा गएर कसले र्याली गर्छ? सायद १० वा १५ जना मानिसहरू,” उनी भन्छिन्, “यो हामीले अझै धेरै काम गर्न बाँकी रहेछ भन्ने सङ्केत हो।”
मेरो नाम डायना मान्जो हो र म जापोटेकको रिपोर्टर हो।
पत्रकारको रूपमा मेरो जिम्मेवारी भित्र काम गर्ने, हेर्ने, अवलोकन गर्ने, विश्लेषण गर्ने कुराहरू पर्दछ। ती आवाजहरू, ती महिलाहरू, ती पुरुषहरू तथा ती मक्सेसहरूका साथै बच्चा, किशोर तथा कुरा गर्न चाहने जोसुकैलाई सुन्ने मेरो काम हो।
मैले पत्रकारिता १८ वर्ष अगाडि सुरु गरेको हो। मैले एक जना महिलाले ब्याकप्याक बोकेर युद्धको रिपोर्टिङ गरेको देखेपछि आफैले आफैलाई भने, “हेर, महिला पनि त्यहाँ पुग्न सक्छन्। र म पनि ती मध्ये एक हुन चाहन्छु।” त्यसपछि म एक रिपोर्टर वा पत्रकार बन्ने आफ्नो चाहना पूरा गर्नमा केन्द्रित भए।
मैले थुप्रै वाधा व्यवधानहरू भोगेकी छु। पहिलो भनेको महिला हुँदाको अवस्था हो। एउटा आदिवासी समुदायमा बस्ने र आदिवासी समुदायको पत्रकार बन्न चाहनु एउटा अड्चन थियो किनकि अरू धेरैले अन्य करियर छनौट गर्छन्। आदिवासी समुदायमा पत्रकार आफ्नो क्यामेरा, रेकर्डर र नोटबुकका साथ देख्नु त्यति सामान्य होइन।
"मेरो कुनै सहकर्मी मारिँदा एकदम पिडा महसुस हुन्छ। " – डायना मान्जो
मसँग केही हैरानी वा हिंसाका घटनाका उदाहरणहरू छन्। उदाहरणका लागि वायु ऊर्जाको कोरिडोर इस्त्मो डे तेहुवानतेपेक जस्ता ठुला परियोजनाहरू कभर गर्दा। त्यहाँ २८ वायु ऊर्जाका फार्महरू छन् भने १९ सय भन्दा धेरै टर्बाइनहरू छन्। तपाईंले त्यहाँका मानिसहरूसँग गएर कुराकानी गर्नुहोस् र उनीहरू यहाँसम्म कसरी आइपुगे भनेर सोध्नुहोस्। यो निर्माण भइसकेको कुराभन्दा थप विवरणहरू लिनुहोस्। मानिसहरूलाई गएर सोध्नुहोस्, “यो कन्ट्रयाक्टमा तपाईंले हस्ताक्षर गर्दा के थियो?” तिनीहरूले तपाईंलाई भन्नेछन्, “केही थिएन। उनीहरू म कहाँ आए र मलाई धम्काए।” त्यो तपाईंसँग भएको जानकारीका आधारमा तपाईंले स्टोरी भन्न सक्नुहुन्छ। मानिसहरूलाई त्यो मन पर्दैन।
ती धम्कीहरू पछि मलाई सजाय पाएको जस्तो लाग्यो। “बस्, म तेरो बोस हो,” मानौँ कि म कसैको नियन्त्रण वा अधीनमा भए जस्तो गरेर कसैले मलाई भन्यो। मलाई लाग्यो कसैले मेरो अवाज दबाउन खोज्दैछ। कसैले मेरो मुखमा र हातमा पट्टि बाँधिदिएको कारणले मैले टाइप गर्न सक्दिन जस्तो लाग्यो।
त्यसैले म रोकिन्छु किनकि म त्यस बारेमा घोत्लिन्छु र आफैलाई सोध्छु, “ठिक छ । यो के भइरहेको छ र किन?” यो आफ्नो बारेमा गर्ने समीक्षा मात्रै होइन किनकि मेरो बच्चा छन् र मेरो एउटा परिवार छ। मलाई लाग्छ एउटा समाचारको मूल्य कसैको जीवन बराबर त हैन । कि कसो ? मेरो अर्थ पक्कै पनि होइन।
तपाईंको लागि प्रेस स्वतन्त्रता भनेको के हो ?
मेरो अनुभव बदलिएको छ । अवश्य पनि बदलिएको छ। खराब बनेको छ भन्ने होइन। यो राम्रोको लागि बदलिएको छ। मैले थप तालिमहरू प्राप्त गरेको छु। सायद म थप सचेत भएको छु। मलाई के पनि लाग्छ भने अहिले म कुन विषयमा काम गर्ने वा नगर्ने भन्ने बारेमा निर्णय गर्छु। यो अलिकति सेल्फ सेन्सरसिप अर्थात् स्वनियन्त्रण हो। म त्यसबारेमा इमानदार भएर भन्छु: सेल्फ सेन्सरसिप पनि हुन्छ।
मैले आफ्नो कामको एकदमै ख्याल गर्छु। म त्यसबाट बाहिर ननिस्किँदासम्म कामप्रति प्रतिबद्ध रहन्छु । किनकि मलाई लाग्छ त्यसले तपाईं आफ्नो काम अपूरो छाड्न वा कुनै अवार्ड जित्न वा त्यस्तै अरू केहीको लागि मात्र नभई साँच्चै राम्रोसँग गरिरहेको ग्यारेन्टी गर्दछ।
प्रेस स्वतन्त्रता पक्कै पनि सङ्कुचित गरिएको छ। के कुराले यसमा योगदान गरेको छ? दण्डहीनता। उनीहरूले अझै हामीलाई मरिरहेका छन्। मेरो कुनै सहकर्मी मारिँदा एकदम पिडा महसुस हुन्छ। तपाईं भन्न सक्नुहुन्छ, “उनीहरूले केही खोजी गरिरहेका थिए।” सायद त्यो एउटा कुनै ठुलो खोजी थियो वा त्यसले कुनै ठुलो रूपान्तरण गर्दै थियो। सायद त्यो सानै पनि हुन सक्थ्यो होला। तिनीहरू मारिए। आजको दिनसम्म मैले यो बुझ्न सकेको छैन। र यसले मलाई असर गर्छ। यसले मलाई पोल्छ। यो सारै दुखद हो कि यो मेक्सिको हो।
यहाँ हाम्रो एउटा अन्तर समुन्द्री करिडोरको विषय छ, जुन त्यति सरल छैन। मलाइ यो विषय कसरी कभर गर्ने भन्ने बारेमा सोच्नु छ। मैले के गर्ने, यसमा को पात्रहरू छन् र मैले लेखेको यो सामाग्रीले प्रकाशन भएपछि कसलाई हानी गर्छ भन्ने बारेमा सोच्नु पर्दछ। यो एउटा सामान्य खालको लेख होला। एकदम सामान्य हैन? यसले कसैलाई जोखिममा नपार्नु पर्ने होइन? तर तपाईंलाई पछि के हुन्छ भन्ने थाहै हुँदैन। मेक्सिकोमा पत्रकार हुने कुरा जटिल छ। यो पूर्ण रूपमा तपाईं आफैले जोखिम मोल्ने काम हो।
हामी श्रमिकको रूपमा पनि एकदमै अनिश्चित जीवन बिताउँछौँ। सबै पत्रकारहरूलाई उचित तलब सुविधा प्रदान गरिँदैन। म जीवन निर्वाहको लाग चाहिने ज्यालाको कुरा गर्दै छु। रेडियो स्पटको लागि जम्मा २० मेक्सिकन पेसो (१.१३ अमेरिकी डलर) र एउटा सामाग्रीको लागि ६० पेसो (३.३९ डलर) पनि दिइँदैन। राम्रो ज्याला भनेको तपाईंले घर गएर कम्तीमा किराना सामान किन्ने पैसा हुनुपर्छ। तर त्यति पनि छैन। त्यसको परिणाम भनेको नागरिकहरूले अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्न पाएका छैनन् वा आधा मात्रै प्रयोग गर्न पाएका छन्। किनकि उनीहरूले एकदमै कमजोर सामाग्रीहरू वा सामान्य खालको सजिला सामाग्रीहरू प्राप्त गरिरहेका छन्। यो भनेको साधारण रूपमा स्वतन्त्रताको कटौती गर्ने मात्रै होइन। यो तपाईंको सम्पूर्ण अडियन्स र समाजको स्वतन्त्रता कटौती गर्ने हो। यसको परिणाम विशाल छ।
पत्रकार तथा अधिकारकर्मीहरूको सुरक्षाको संयन्त्र मेरो बुझाइमा पूर्ण छैन। त्यहाँ भएकाहरूसँग म माफी चाहन्छु तर मैले भन्न खोजेको धेरै कुराहरू यसमा र राज्यका कानुनहरूमा छुटेका छन्। उदाहरणको लागि मुद्दा लड्नका लागि सरकारी वकिलहरू छन्। तर तिनले गर्न सक्ने भनेको सिफारिस हो।
पत्रकारको त्यस्तो व्यक्ति हो जसको काम स्टोरी भन्ने हो। तपाईंले सायद आफ्नो सामानहरू बजारमा बेची रहनु भएको छ। तर पत्रकारले समाचारहरू सम्प्रेषण गर्नमा आफूलाई समर्पित गरेको हुन्छ, जसले गर्दा तपाईंलाई के भइरहेको छ भन्ने कुरा थाहा हुन्छ। तपाईंलाई बजार गएर आफूसँग भएको फलफूल, तरकारी तथा मासु बेच्ने काम मूल्यवान् लागे जस्तै पत्रकारहरूको काम पनि सूचना खोज्ने हुन्छ।
मलाई दुख लाग्छ कि मलाई थाहा छैन यो कहिले हुन्छ। तर यो मैले धेरै नै देख्ने गर्छु। जब एउटा पत्रकार मारिन्छ बाहिर सडकमा गएर कसले र्याली गर्छ? सायद १० वा १५ जना मानिसहरू। मैले त्यस्तो मासु बेच्ने महिला भेटेको छैन जसले यस्तो भनेको होस्, “म पनि जानु पर्छ किनकि उनी एउटा राम्रो पत्रकार थिए वा उनी एउटी राम्री पत्रकार थिइन्।” उनीहरू त्यसो गर्दैनन्। “फलानोको लागि न्याय” भन्दै मारिएको कुनै पत्रकारको फोटोहरूले ढाकिएका बजारहरू पनि मैले देखेको छैन। “एक पत्रकार मारिएका थिए। कसैलाई अपहरण गरिएको थियो।” यस्तो लेखिएका पोस्टरहरू पनि मैले देखेको छैन। यस्तो भएको छैन। त्यसैले यो मेरो लागि अझै हामीले थुप्रै काम गर्न बाँकी रहेको सङ्केत हो। धेरै नै। मलाई थाहा छैन मैले नै त्यो देख्छु, त्यति लामो समय बाँच्छु वा त्यो देख्ने भविष्यको पुस्ता हुनेछ।
यो अन्तर्वार्ता स्पष्टताको लागि सम्पादन गरेर संक्षिप्त बनाइएको हो।
रिपोर्टिङ गर्ने: मरिसा रेभिल्ला
मरिसा रेभिल्ला मेक्सिकोको सान क्रिस्टोबल डा लस कससमा बस्ने ग्लोबल प्रेस जर्नल रिपोर्टर हुन्। उनी सन् २००६ मा ग्लोबल प्रेसले सुरु गरेको चियापसको रिपोर्टरहरूको सुरुको क्लासकी सदस्य हुन्। मरिसाले बाल अधिकार तथा चियापसका आदिवासी समुदायहरूको द्वन्द्व बारेमा रिपोर्टिङमा दखल राख्छिन्।
अर्जेन्टिना
अलेजान्द्रा बार्तोलिछे
पाटागोनियाको मुटुमा रहेको जग्गा कब्जाको दस्तावेजीकरण गर्ने फोटोपत्रकारको कथा
रिपोर्टर्स विथआउट बोर्डर्सले प्रकाशन गरेको विश्व प्रेस स्वतन्त्रता सूचकाङ्कका अनुसार सन् २०२२ देखि अर्जेन्टिनामा दक्षिण अमेरिकाभरको सबैभन्दा स्वतन्त्र प्रेस छ। सन् १९८३ मा अर्जेन्टिना लोकतान्त्रिक व्यवस्थामा प्रवेश गरेपछि पत्रकार तथा तीनका स्रोतहरूको सुरक्षाका लागि कानुनहरू बन्यो। त्यस अन्तरगत सन् २००९ मा मानहानि फौजदारी कसुरको रूपमा मानिने व्यवस्था हटाउने कदम पनि पर्दछ। उक्त व्यवस्था ल्याटिन अमेरिकाका अन्य ठाउँहरूमा पत्रकारहरूमाथि मुद्दा चलाउनका लागि शक्तिशाली समूहहरूले प्रयोग गर्ने एउटा शक्तिशाली अस्त्र हो।
यद्यपि चुनौतीहरू विद्यमान छन्। अघिल्लो वर्षको आर्थिक मन्दीले मिडियाको कामलाई झनै अनिश्चित बनाएको छ। अर्जेन्टिनाको मिडियाको स्वामित्व धेरै हदसम्म शक्तिशाली समूहमा केन्द्रित छ। ल्याटिन अमेरिकाको सबैभन्दा ठुलो मिडिया समूहमध्येको एक ग्रुपो क्लारिनले सार्वजनिक अभिमतमा धेरै ठुलो प्रभाव पार्दछ। सबैभन्दा टाढाको भनेको राजधानी ब्युनो आयर्स हो। स्थानीय सरकार, निजी व्यवसाय र सम्पादकीय नीतिबिचका रेखाहरू धमिलो हुँदै छन्।
अर्जेन्टिनाको पाटागोनियामा एक जना ब्रिटिस अर्बपतिले चिलीसँगको सिमाना जोडिएको एउटा ताल जाने सार्वजनिक पहुँच मार्ग १७ वर्ष रोकेर कानुनलाई चुनौती दिएका छन्। हिमाल र जङ्गलले घेरेको उक्त तालमा ती अर्बपतिको सुविधा सम्पन्न फार्म छ। स्थानीय फोटोपत्रकार अलेजान्द्रा बार्तोलिछे उक्त तालको पहुँच मार्ग पुनर्स्थापनाको माग राख्दै गरिएका आन्दोलनहरू कभर गर्दा आफू पिटिएको, धम्काइएको र आफ्नो घाँटीबाट क्यामेरा थुतिएको बताउँछिन्।
यो उनको कथा हो ।
म एक फोटो पत्रकार हो र मैले अर्जेन्टिनाको राष्ट्रिय समाचार संस्था तेलाममा बरिलोचेको संवाददाताको रूपमा २५ वर्ष काम गरेकी छु।
जुलुसको दिन मैले बिहानैबाट त्यो ठाउँको फोटो कभर गरिरहेको थिए। आन्दोलनकारीहरू लागो इस्कोनडिडो जाने बाटोलाई छेकेको प्रवेश द्वारमा थिए भने उक्त प्रवेश द्वारको अर्को तर्फ लेविसको फार्ममा काम गर्ने कामदार थिए।
उक्त दिन एकदमै गर्मी थियो र केही आन्दोलनकारीहरूले फलामको डन्डी तोड्न असम्भव भएको कारणले साङ्केतिक विरोध स्वरूप प्रवेश द्वारमा फलाम काट्ने करौँतीको प्रयोग गरेका थिए। कामदारहरूले आन्दोलनकारीका साथै त्यसको तस्बिर खिचिरहेका पत्रकारहरूमाथि खुर्सानी स्प्रे गरिदिए।
त्यति नै बेला मैले आन्दोलनकारीहरू एउटा समूह गाडीमा छुट्टै बाटो भएर जानको लागि तयार भएको थाहा पाएँ । त्यसैले म उनीहरूसँग जान सक्छु कि भनेर सोधेँ । म अलि पृथक् खालको फोटो खिच्न अर्थात् अर्को साइडबाट यो स्टोरीका लागि केही कभर गर्न खोजिरहेकी थिएँ ।
हामी त्यो ठाउँमा पुग्छौँ र आफ्नो परिचय दिन्छौँ। मैले आफूलाई एउटा पत्रकारको रूपमा चिनाउँछु । त्यसपछि सुरक्षा गार्डहरू आएर मसँग झगडा गर्न थाल्छन्। “यदि सहज तरिकाले गएनौँ भने हामीले तिमीलाई कठोर तरिकाले निकाल्छौँ,” त्यहाँबाट धम्की आउँछ। त्यति नै बेला कामदारहरूले आफ्ना घोडाहरूलाई मिलाएको तरिकाबाट मैले बुझ्छु कि त्यहाँ अवस्था तनावग्रस्त हुँदै छ।
म छेउँ लाग्छु र फोटो लिनको लागि एउटा रुख पछाडि लुक्छु । ती सुरक्षा गार्डहरूले आन्दोलनकारीमाथि प्रहार गर्न थाल्छन् र घोडा उनीहरूमाथि कुदाउन थाल्छन्।
अलेजान्द्राको स्टोरी –
"हामीलाई चोट पुर्याउने मानिसहरू चिनिएका छन्। हामीसँग उनीहरूको नाम, प्रत्यक्षदर्शी, फोटोहरू र ड्रोन भिडियोहरू छन्। तर तिनीहरू कसैलाई पनि बयानको लागि बोलाइएको छैन। र त्यो कुराले मलाई सुरक्षित महसुस गराउँदैन। " – अलेजान्द्रा बार्तोलिछे
म डराए तापनि मैले केही फोटोहरू खिच्न सफल भए। त्यहाँ एकजना मान्छे छ, जसले मलाई देख्छ। घोडामा चढेको एक जना म तर्फ आउँछ र मलाई लखेट्न थाल्छ। “म पत्रकार हो,” मैले पूरै समय भनिरहेकी छु। किनकि पत्रकारले गर्ने कुरा नै त्यही हो। हामीमाथि प्रहार नहोस् भनेर हामी कराउन थाल्छौँ। उनीहरूले हामीलाई हिर्काएर नै छोडे। तर हामी कराउँछौँ।
उसले मलाई घेरा हालिराख्छ र भाग्न भन्छ। “त्यसो हो भने मलाई जान देऊ,” मैले उसलाई भन्छु किनकि उसले घोडा म तर्फ तेर्साइराखेको छ। म त्यो मानिसबाट छुटकारा पाउन सफल भए। म जति सक्यो पछाडि जान खोजिरहेको थिए। त्यही बेला अर्को मानिस घोडामा आउँछ। उसले मेरो क्यामेराको फित्ता पछाडिबाट समाउँछ र तान्छ।
ठीक त्यति नै बेला मैले सोचेँ, “ला, मैले भर्खर गरेका सबै कामहरू उड्यो!” मलाई थाहा छ मैले धेरै खतरा फोटोहरू खिच्न सफल भएको थिए। त्यो कुराले मलाई यति निराश बनायो कि मैले सके त्यसरी नै क्यामेराको स्ट्राप समाते।
म उबाट २५ मिटर (२७ यार्ड) पछाडि बसे। आधा दौडे जस्तो र आधा हावामा भए जस्तो मेरो क्यामरा समातिराखेँ।
त्यसपछि म लड्छु वा मलाई हुत्त्याइन्छ। म एउटा ढुङ्गामा उत्तानो परेर पछारिन्छु जसले मलाई एकदमै दुख्छ। मलाई रिङटा लाग्छ र म भ्रूणको आसनमा बस्छु। क्यामेरा जोगाउन मेरो पेटमा राख्छु। मलाई लाग्यो तिनीहरूले मलाई पिट्छन् । तर भाग्यवश तिनीहरू गए।
तपाईंको लागि प्रेस स्वतन्त्रता भनेको के हो ?
म सकेसम्म जोड लगाएर उठेँ र दौडँदै आन्दोलनकारीहरू भएको तर्फ गए। तिनीहरूलाई एकदमै चोट लागेको थियो। एउटा किशोरीको एकातर्फको खप्परमा चोट थियो, अर्को एक व्यक्तिको खुट्टा र नाक भाँच्चिएको थियो।
त्यहाँ एक प्रकारको त्रासको वातावरण थियो। हामी एक्लै थियौँ। उनीहरूले के गर्न सक्छन् भन्ने देखाएका थिए। हामीलाई उनीहरू फेरी फर्केर आउँछन् कि भन्ने डर थियो। भाग्यवश त्यहाँ यो कभर गरिरहेको ड्रोन थियो। त्यसले अरूलाई त्यहाँ के भएको थियो भन्ने देखायो।
अधिकारीहरूसँग मैले खिचेका फोटोहरू छन्। ती फोटोहरू भौतिक तथा शारीरिक क्षति, डकैतीको प्रयास तथा प्रेस स्वतन्त्रता उल्लङ्घनका प्रमाणहरू हुन्। हामीलाई चोट पुर्याउने मानिसहरू चिनिएका छन्। हामीसँग उनीहरूको नाम, प्रत्यक्षदर्शी, फोटोहरू र ड्रोन भिडियोहरू छन्। तर तिनीहरू कसैलाई पनि बयानको लागि बोलाइएको छैन। र त्यो कुराले मलाई सुरक्षित महसुस गराउँदैन।
यदि प्रहरीले काम गरेको हुन्थ्यो भने मैले कम्तीमा निषेधात्मक आदेशको लागि भनेको हुन्थे। मलाई राज्यले मेरो सुरक्षा गरिरहेको छ भन्ने मलाई सुनिश्चितता हुन्थ्यो। तर त्यस्तो भइरहेको छैन।
जटिल खालका वा खास गरी सामाजिक मुद्दाहरू आउँदा बरिलोछेमा काम गर्न सधैँ अप्ठ्यारो छ। त्यो पनि खास राजनैतिक क्षणका साथै तपाईंले काम गरिरहेको सञ्चार माध्यममा भर पर्छ।
सेन्सरशिप भनेको के हो भनेर कहिलेकाहीँ तपाईंले आफैलाई प्रश्न सोध्नुहुन्छ। त्यो सेन्सर गर्ने खासमा को हुन्छ? सम्पादक वा पत्रिका सञ्चालन गर्ने व्यक्ति? वा स्वयम आफै किनकि आफू के भन्दै हुनुहुन्छ वा के भन्दै हुनुहुन्न भन्ने तपाईंलाई थाहा हुन्छ।
संयुक्त रूपमा रहेको समूहहरूमा स्वार्थहरू हुन्छन् तर त्यसको प्रेसमा काम गर्नेसँग केही सम्बन्ध हुँदैन।
मलाई लाग्छ शक्तिका नजिक रहेका वा आर्थिक शक्तिलाई छुने मापुचे समुदाय, भूगोल, लागो इस्कोनडिडो वा अन्य सबै विषयहरू केही हदसम्म प्रतिबन्धित गरिँदै छ। मलाई एकदमै प्रतिबन्ध लगाइएको जस्तो लाग्यो। मैले एउटा पोजिसन लिए। म त्यहाँ गएर त्यो कभर गर्ने निर्णय गरे। मलाई लाग्छ पछिल्लो समय जे भयो र भविष्यमा जे हुन सक्छ त्यसका आधारमा भन्दा यो मेरो लागि त्यति सुरक्षित छैन।
मलाई आफ्नो काम गर्न नपाउने र यो कुनै पृथक् खालको एउटा मात्रै घटना होइन भन्ने कुरा थाहा पाउँदा रिस उठ्छ। किनकि पत्रकार तथा फोटोपत्रकार माथि यस्ता खालका आक्रमणहरू हामी बारम्बार देख्ने गर्छौँ ।
म सधैँ फोटोहरू खिच्नेछु। यो मेरो जीवनकै एउटा पाटो हो र त्यो महत्त्वपूर्ण पाटो हो। तर मलाई भविष्यमा के हुन्छ भन्ने थाहा छैन किनकि हामी त्यस्तो देशमा बसिरहेका छौँ, जहाँ अवस्था झन् झन् बिग्रँदो छ ।
पत्रिकाबाहेक जमिन, एयरलाइन्स, दूरसञ्चार कम्पनी, सेट्लाइटहरू चाहने व्यवसायीहरूले पत्रकारिता नियन्त्रण गरेका छन्... नागरिकलाई आफ्नो प्रतिरक्षा गर्न गाह्रो छ किनकि सबै मिडिया संस्थाहरू उनीहरूव्यापारीहरूसँग को काबुमा छन्। ल्याटिन अमेरिकामा सर्वसाधारणको खास समस्या महिनाको अन्तिमसम्म कसरी टिक्ने भन्ने छ। यस्तो अवस्थामा एउटा नागरिकलाई प्रेस स्वतन्त्रताको प्रतिरक्षा गर्न एकदमै गाह्रो हुन्छ।
मिडिया सँस्थाहरूलाई प्रेस स्वतन्त्रताको सुरक्षा गर्नका लागि पक्कै पनि धेरै नै गर्न सक्ने सम्भावना छ। त्यसको सुरुवात काम गरे बापत न्यायोचित तलब दिएर, हाम्रो सम्भावनाका आधारमा मूल्याङ्कन गरेर र अझै लोकतान्त्रिक भएर गर्न सक्छन्।
हामीलाई पनि सरोकारवालाको रूपमा स्थान दिइनुपर्छ।
हामी औजार मात्रै होइन ।
यो अन्तर्वार्ता स्पष्टताको लागि सम्पादन गरेर संक्षिप्त बनाइएको हो।
रिपोर्टिङ गर्ने: लुसिला पेलेटिएरी
लुसिला पेलेटिएरी अर्जेन्टिनाको व्युनो आयर्समा रहेकी ग्लोबल प्रेस रिपोर्टर हुन्। पेलेटिएरी युनीभर्सिटी अफ ब्युनो आयर्सबाट सञ्चार विषयमा र टल्लर एस्क्युएला एजेन्सियाबाट पत्रकारितामा डिग्री हासिल गरेकी छिन्। उनी सन् २०१३ मा ग्लोबल प्रेसमा जोडिएकी हुन्। उनले रिपोर्टर तथा ग्लोबल प्रेसका पत्रकारहरूका लागि ट्रेनरको रूपमा काम गरिन्। उनले स्थानीय गैर सरकारी संस्थाहरूका लागि सोसियल मिडिया अभियानहरू पनि सिर्जना गरेकी छिन्। उनी अर्जेन्टिनाको समाचारहरू मानव अधिकारको पक्षबाट कभर गर्ने रुचि राख्छिन्। मानसिक स्वास्थ्य, अर्थतन्त्र, लैङ्गिक सवाल, वातावरण लगायत अन्य विषयहरूमा रिपोर्टिङमा उनको दखल छ।
युगान्डा
अगाथार अतुहेरे
थोरै तलब तर धेरै मूल्य चुकाउनु पर्ने वाध्यताका बिच युगान्डाका एक स्वतन्त्र पत्रकार युगान्डा सरकारी विसङ्गतिका बारेमा रिपोर्टिङ गर्छिन्। उनका कतिपय सहकर्मीहरू हराइरहेका छन् वा देश छोडेर भागेका छन्। तर उनी आफ्नो कर्ममा दृढ छिन्।
युगान्डाको संविधानले प्रेस स्वतन्त्रताको सुनिश्चित गरे तापनि पछिल्ला वर्षमा मिडियामाथिका प्रतिवन्धहरू बढ्दै गएका छन् । त्यसले प्रेस स्वतन्त्रताको अवस्था खराब हुँदै गइरहेको छ। सन् १९८६ देखि शक्तिमा रहेको राष्ट्रपति योवरी कागुता मुसेभेनीको सरकारले पत्रकारहरूलाई पक्राउ गर्ने र तीनलाई फेक न्युज प्रकाशन गरेको जस्ता आरोपहरूमा मुद्दा चलाएर नियमित रूपमा विरोधी आवाजहरू दबाउने गरेको आरोप लाग्ने गरेको छ। पत्रकारहरू माथिको भौतिक हिँसा पनि अनौठो होइन।
सरकारले थुप्रै कानुनहरू पारित गरेको छ, जसले प्रेस स्वतन्त्रतालाई सङ्कुचित र स्वतन्त्र रूपमा हुने रिपोर्टिङलाई दबाउने गर्दछ। उदाहरणका लागि—कम्प्युटर दुरुपयोग (संशोधन) ऐन २०२२ ले कुनै व्यक्तिका बारेमा कम्प्युटरको प्रयोग गरेर “विद्वेषपूर्ण जानकारी” प्रकाशन वा सेयर गर्ने कुरालाई अपराध मानेको छ। तर के कुरा “विद्वेषपूर्ण जानकारी” हुन्छ भन्ने बारेमा कानुनले परिभाषित गरेको छैन।
अफ्रिकन सेन्टर फर मिडिया एक्सिलेन्सको एक रिपोर्ट अनुसार युगान्डाका पत्रकारहरूलाई एकदम कम तलब तथा सेवा सुविधा प्रदान गरिन्छ, जसले गर्दा उनीहरूले आफ्नो स्वतन्त्रता, वस्तुनिष्ठता तथा विश्वसनीयतामा सम्झौता गर्ने सम्भावना रहन्छ।
यी सबै चुनौतीका बाबजुद युगान्डाका पत्रकारहरूले आफ्ना समुदायहरूलाई असर गर्ने सवालहरूमा निडरतापूर्वक रिपोर्टिङ गर्दछन्। प्राय उनीहरू व्यक्तिगत जोखिम मोलेर रिपोर्टिङ गर्ने गर्दछन्। उनीहरूको अनुभव उक्त देशको प्रेस स्वतन्त्रताको अवस्था चियाउने एउटा झ्याल हो। प्रत्यक्ष रूपमा धम्की र त्रास भोगेकी एक पत्रकार अगाथार अतुहेरेले ग्लोबल प्रेस जर्नलसँग आफ्नो दृष्टिकोण सेयर गरेकी छिन्।
मेरो नाम अगाथार अतुहेरे हो। म स्वतन्त्र पत्रकार हो। मैले इन्डिपेन्डेन्ट म्यागजिन, डेली मनिटर र नेस्नल जियोग्राफिक म्यागजिन जस्ता प्रिन्ट मिडियामा काम गरेको छु। मैले एनबिएस टेलिभिजन र एनटिभी जस्ता ब्रोडकास्ट मिडियामा पनि काम गरेको छु। एनटिभीमा म “फोर्थ इस्टेट” नामक कार्यक्रममा नियमित विश्लेषक थिए र पछि आफैले त्यो कार्यक्रम होस्ट गरे। पछिल्लो समय मैले धेरैजसो मेरा कामहरू ट्विटरमा प्रकाशन गरिरहेको छु। मैले मूलधारका सञ्चार माध्यममा भन्दा सामाजिक सञ्जाल मार्फत जानकारीहरू धेरै मानिसहरूमा पुग्छ भन्ने महसुस गरे।
मैले विश्वविद्यालयमा हुँदा पहिलो डिग्रीको रूपमा पत्रकारिता रोजे। सन् २०११ मा दीक्षित भएपछि त्यसको चार वर्षपछि कानुनमा डिग्री हासिल गर्नको लागि विश्वविद्यालय फर्के। मलाई पत्रकारिता बाहेक कानुन पढ्नुपर्छ भन्ने लाग्यो। अहिले मलाई पत्रकारिताबाट देशको सेवा गर्न सक्छु भन्ने लाग्छ। यसले ल्याउने आफ्नै खालका निराशाहरू छन्। तर तपाईंमा कुनै परिवर्तन गर्ने लगाव छ भने तपाईंको पेशाले सहयोग गर्न सक्छ भन्ने महसुस गर्नुहुन्छ।
हामी त्यस्तो देशमा बस्छौँ, जहाँ हाइब्रिड खालको निरङ्कुशता छ। म “फोर्थ इस्टेट” मा काम गर्दा मेरो पिछा गरिन्थ्यो। मैले मेरो कामहरू ट्विटरमा प्रकाशन गर्न थालेपछि त्यो झन् बढ्न थाल्यो। मेरो ज्यानको खतरा बढ्यो।
तपाईंले जानकारीहरू प्राप्त गर्नका लागि अवरोधहरू सामना गर्नुपर्छ किनकि स्रोतहरूले जब तपाईंलाई सूचना दिन्छन् उनीहरूले आफ्नो काम र जीवनलाई नै जोखिम पारिराखेका हुन्छन्। संसद्मा रहेका साथीहरू पनि मसँग कुरा गरिरहेको कसैले देख्छ कि भनेर डराउँछन्। उनीहरूले नै मलाई सूचना दिएको आशङ्का गरिनेछ।
अगाथारको स्टोरी –
"त्यो तरिकाले जीवन जिउन अलि गाह्रो हुन्छ। म अलि सचेत भएर हिँड्न र बोल्न सिकेकी छु र ममाथि केही नराम्रो हुन्छ कि भनेर डराउँछु।" – अगाथार अतुहेरे
स्रोतसाधन अर्को बाधक हो। उदाहरणका लागि म अहिले कुनै संस्थाको सहयोग बिना एक्लै काम गर्छु। त्यसको अर्थ मैले गर्ने धेरै काम बिना पैसाको हुन्छ। मलाई सामाजिक सञ्जालमा प्रकाशन गर्नका लागि कसैले पैसा दिँदैन। अघिल्लो वर्ष मैले सांसदले आफ्नो सभामुख र उपसभामुखको लागि सुविधाजनक कारहरू किन्न लागेको जानकारी प्रकाशन गरे। यसले मेरो लागि ठुलो प्रतिकूल प्रतिक्रिया सिर्जना गर्यो। मैले मेरो साथीहरूबाट सरकारी अधिकारीहरूले मलाई खोजिरहेको खबर प्राप्त गरे। उनीहरूले संसद्का कर्मचारीहरूलाई मलाई चिनेको आशङ्कामा पक्राउ गरेर केरकार गरे र सूचना चुहाएको आरोप लगाए।
मलाई अहिलेसम्म धम्कीहरू आइराख्छन्। हालसालै मैले जस्तापाताका बारेमा ट्विटरमा स्टोरी पोस्ट गरेको थिए। त्यहाँ कसैले मलाई अधिकारीहरूले मलाई ठिक लगाएपछि मैले संसद भन्ने शब्द पनि लिन नसक्ने भनेर जवाफ फर्काएर धम्कायो। कहिलेकाहीँ ती वास्तविक धम्कीहरू हुन् वा होइनन् भन्ने तपाईंलाई थाहा हुँदैन। तर जे भए पनि अघिल्लो वर्ष एकदम तनावपूर्ण रह्यो। मैले के खान्छु, कहाँ गइरहेको छु वा कसरी गइरहेको छु भन्ने सबै कुरा ख्याल गर्नुपर्ने हुन्छ। यदि राती ढिला भयो भने घर फर्कँदा मानिसहरूले पहरा दिनुपर्ने हुन्छ। त्यो तरिकाले जीवन जिउन अलि गाह्रो हुन्छ। म अलि सचेत भएर हिँड्न र बोल्न सिकेकी छु र ममाथि केही नराम्रो हुन्छ कि भनेर डराउँछु।
मैले अघि भने जस्तै हामी अलि रोचक लाग्ने खालको देशमा बस्छौँ। यहाँ धेरै शक्ति केन्द्रहरू छन्। यहाँ कानुनी राजको कमी छ र केही मानिसहरू आफू कानुनभन्दा माथि भएको ठान्छन्। संसद्को सभामुख छन्, जसले आफ्नो व्यक्तिगत स्वार्थको लागि सैनिक गुप्तचरीको प्रमुखलाई तपाईंको अनुसन्धान गर्नका लागि प्रभावित पार्न सक्छन्। प्रधानमन्त्री पनि त्यस्तै गर्न सक्छन्।
तपाईंको लागि प्रेस स्वतन्त्रता भनेको के हो ?
यस्तो खालको अनुभवले तपाईंले काम गर्ने तरिकालाई परिवर्तन गरिदिन सक्छ। कहिलेकाहीँ मैले आफैलाई सेन्सर अर्थात् नियन्त्रण गर्छु। कहिलेकाहीँ म आफूले प्रमाण नजुटाउँदासम्म सूचनाहरू रोक्छु। कहिले म आफ्नो स्रोतहरूको सुरक्षाका लागि सूचनाहरू रोकेर राख्छु। धम्कीहरूका बाबजुद मैले आफ्नो तर्फबाट भूमिका निर्वाह गरेको छु भनेर आफैले आफैलाई मनाउँछु।
पत्रकारहरूको भविष्य निराशाजनक छ। प्रेस स्वतन्त्रता खराब दिशा तर्फ उन्मुख छ। पत्रकारहरू पत्रकारिताको पेसाबाट टाढा हुँदै छन्। न्युजरुमहरू स्वतन्त्र हुनु पर्ने जरुरी छ, जसले गर्दा उनीहरू सरकारी विज्ञापनहरूमा भर पर्न नपरोस्।
हामीलाई अलि सक्रिय नागरिक पनि चाहिन्छ जसले पत्रकारहरू धम्काइदा जवाफ खोज्न सक्छन्। राष्ट्रपतिका लागि काम गर्ने व्यक्तिले एउटा मिडिया संस्थालाई उनीहरूले युक्रेन युद्धको कभर गर्नका लागि किन पत्रकारहरू खटाएको भनेर सोधे।
हाम्रो लागि झनै खराब समय आउन लागेको छ।
युगान्डाका पत्रकारहरूका लागि केही बन्देज लगाइएका विषयहरू छन्। मैले सुनेअनुसार शिक्षा तथा खेलकुद मन्त्री पनि रहेकी प्रथम महिलाका बारेमा लेख्न बन्देज छ। मैले चिनेको एक जना पत्रकार गर्तरुडे टुमुसिमे वित्वारे अपहरणमा परेकी थिइन्। मैले उनीसँग आफैले कुरा गरेको छैन। तर धेरैले उनी अपहरण परेको प्रथम महिलाको बारेमा लेखेको कारणले हो भन्छन्। पछि ती पत्रकार देश छोडेर भागिन्।
मानिसहरू प्रथम पुत्र अर्थात् राष्ट्रपतिको छोराको बारेमा लेख्दा पनि सावधान हुन्छन्। सन् २०१३ मा प्रथम पुत्र मुहोजी कैनेरुगाबाले आफ्ना बाबुपछि राष्ट्रपति बन्नका लागि गरेको तयारी बारेमा लेखेको कारणले प्रहरीले मोनिटर र रेड पेप्पर पत्रिकाहरू बन्द गरायो। पछिल्लो समय राष्ट्रपतिको सहिष्णुता पनि कम भएको छ।
हामी चुनावहरू भएका कारणले लोकतन्त्र भएको जस्तो मान्छौँ। तर हामी सबैलाई थाहा छ यी चुनावहरू स्वतन्त्र र निष्पक्ष छैनन्।
सेन्सरसिपको परिणाम स्वरूप थुप्रै व्यक्तिहरू पत्रकारिता पेसाबाट बाहिरिएका छन्। मोर्देसाइ मुरिसा, रेम्मी बहाती र गर्तरुडे टुमुसिमे वित्वारे जस्ता केही पत्रकारहरू देश छोडेर भागेका छन्। प्रेस स्वतन्त्रताको सीमितताका कारणले सञ्चार माध्यमहरूले स्व-नियन्त्रण अर्थात् सेल्फ सेन्सर गर्नेछन्। हामीकहाँ कम सुसूचित नागरिक हुनेछन्। नागरिकहरूले सही सूचना प्राप्त गर्ने छैनन्।
न्युजरुमहरूले आफू स्वतन्त्र भएर पत्रकारहरूको सुरक्षा गर्न सक्छन्। उनीहरूले सही सूचना प्राप्त गर्नका लागि पत्रकारहरूलाई पर्याप्त स्रोतहरू प्रदान गर्न सक्छन्। नागरिकहरूले पत्रकारहरूले धम्की सामना गर्दा त्यसका विरुद्ध उभिने र जवाफ खोज्ने काम गर्न सक्छन्।
यो अन्तर्वार्ता स्पष्टताको लागि सम्पादन गरेर संक्षिप्त बनाइएको हो।
रिपोर्टिङ गर्ने: अपोफिया एगीरेसासी
अपोफिया एगीरेसासी युगान्डाको कम्पालामा रहेकी ग्लोबल प्रेस जर्नलको रिपोर्टर हुन्। उनी स्वास्थ्य र राजनीति रिपोर्टिङमा दक्षता राख्छिन्। पश्चिम युगान्डाको बरारामा जन्मिएर हुर्केकी अपोफिया समाज विज्ञानमा स्नातक र जनसङ्ख्या तथा प्रजनन स्वास्थ्यमा स्नातकोत्तर डिग्री हासिल गरेकी छिन्।
हैटी
लभ्ली स्टान्ले नुमा
एक हैटीयन पत्रकारले आफ्ना सहकर्मीहरूको हत्या भएको देखेकी छिन्। न्याय माग्नका लागि लड्न लिएको अग्रसरता ले कतै अब आफ्नो पालो त होइन भनेर उनलाई त्रसित बनायो।
रिपोर्टर्स विथआउट बोर्डर्सका अनुसार हैटी यो वर्षको विश्व प्रेस स्वतन्त्रता सूचकाङ्कमा २९ स्थान तल झर्यो। उक्त सूचकाङ्कमा हैटी विश्वकै सबैभन्दा धेरै स्थानले गिरावट हुने मुलुकमा परेको छ। सन् २०२२ मा इन्टर अमेरिकन प्रेस एसोसियसनले हैटीलाई “प्रेस स्वतन्त्रताको अभ्यासका लागि सबैभन्दा असुरक्षित, खतरापूर्ण र कमजोर स्थिति रहेको देश” भनेर उल्लेख गरेको छ।
हैटीमा प्रेसले सामना गरेका चुनौतीहरूलाई देशको बृहत् सामाजिक-राजनैतिक उतारचढावबाट अलग्याउन सकिँदैन। राजनैतिक अस्थिरता, सामाजिक अशान्ति र गिरोह हिंसाले एउटा यस्तो वातावरणको सिर्जना गरेको छ, जहाँ पत्रकारहरू आफूले गरेको कामका कारण बारम्बार धम्की, आक्रमण तथा त्रासको जोखिममा छन्। अझ हत्या नै गरिएका छन् । यस्ता जोखिम हाइ प्रोफाइलका थुप्रै घटनाहरूबाट प्रमाणको रूपमा उजागर भएका छन्। सन् २०२० को जुलाईमा रेडियो टेले मेगास्टारका पत्रकार सेताउते भेन्स हत्या प्रयासबाट बाच्न सफल भए भने पत्रकार प्राडेल अलेक्जेन्डरले आफ्नो रिपोर्टिङका कारणले एउटा अपराधी गिरोहको नेताबाट हत्याको धम्कीहरू प्राप्त गरे। सन् २०२२ मा ज्याला बढाउनु पर्ने माग गर्दै कपडा मजदुरहरूले गरेको प्रदर्शनको रिपोर्टिङका क्रममा डिजिटल मिडिया ग्रुप रोइ डेस इन्फोजमा आबद्ध पत्रकार मेक्सिबेन लजार्रे मारिए। सन् २०२२ मा मात्रै कम्तीमा ६ पत्रकारहरू मारिएका थिए।
सुरक्षा समस्या बाहेक हैटीका पत्रकारहरूले थुप्रै वाधा व्यवधानहरू सामना गर्छन्, जसले उनीहरूको कामलाई गाह्रो बनाएको छ। सूचनामा पहुँचको चुनौती, सीमित आर्थिक स्रोत र संस्थागत सहयोगको कमी ती मध्येका केही प्रमुख व्यवधानहरू हुन् ।
हैटीको राजधानी पोर्टो प्रिन्समा रहेकी पत्रकार लभ्ली स्टान्ले नुमाले ग्लोबल प्रेस जर्नलसँगको कुराकानीमा बताएझैँ त्यहाँको प्रतिकूल वातावरणले धेरै पत्रकारहरूलाई पेसा नै छोड्न बाध्य बनाएको छ भने केहीले बाच्नलाई घरबाट काम गर्ने जस्ता रणनीतिहरू अपनाएका छन्। नुमाले आफ्ना सहकर्मीहरू मारिएको देखेकी छिन्। अरू कति रहस्यमय तरिकाले बेपत्ता छन्। “प्रेसको स्वतन्त्रता विना लोकतन्त्र हुन सक्दैन,” उनी भन्छिन्। यहाँ उनी आफ्नो स्टोरी सेयर गर्छिन्।
मेरो नाम लभ्ली स्टान्ले नुमा हो। म हैटीस्थित पोर्टो प्रिन्समा पत्रकारको रूपमा काम गर्छु।
मैले मेरो पत्रकारिताको करियर सन् २०१५ मा एउटा स्थानीय रेडियो स्टेसनबाट सुरु गरेको हो। मैले त्यसपछि अन्य सञ्चार माध्यमहरूमा पनि काम गरे। राजनीति, मानव अधिकार, स्वास्थ्य तथा सामाजिक र वातावरणका मुद्दाजस्ता विषयहरू मैले कभर गरेको छु।
मेरो करियर अवधिभर मैले थुप्रै वाधा व्यवधानहरू भोगेकी छु। उदाहरणको लागि राजनैतिक सवालहरूमा अन्तर्वार्ता गर्न फिल्डमा जाँदा मलाई राजनैतिक दलका नेता तथा कार्यकर्ताले धम्काएका छन्। मानिसहरूमा पत्रकारको कामको बारेमा भएको बुझाइको अभावले गर्दा कतिपय अवस्थामा उनीहरू माथि भौतिक तथा मौखिक आक्रमण हुने गर्छ। कहिलेकाहीँ अन्तर्वार्ता दिन इन्कार गरिन्छ। हैटीमा पत्रकारहरू मारिएका छन्। तर ती हत्याहरू उजागर हुन अझै बाँकी छ ।
लभ्लीको स्टोरी –
"मैले मलाई मारिदिने वा मेरो बलात्कार गर्ने जस्ता थुप्रै धम्कीपूर्ण मेसेजहरू प्राप्त गरे। " – लभ्ली स्टान्ले नुमा
सन् २०१९ मा हाम्रो एक सहकर्मीको हत्या भएपछि हामीले एउटा शान्तिपूर्ण जुलुस मार्फत न्यायको माग गर्न एउटा सानो समूह बनायौँ। त्यसपछि मैले मलाई मारिदिने वा मेरो बलात्कार गर्ने जस्ता थुप्रै धम्कीपूर्ण मेसेजहरू प्राप्त गरे। यस्तो अवस्थाको बिच मैले एक वर्ष बिताए। म एकदमै जरुरी हुँदा मात्रै बाहिर निस्कन्थे। मैले यो कुराको उजुरी सरकारी अधिकारी तथा पत्रकारहरूको अधिकारको लागि काम गर्ने सँस्थाहरूमा पनि दिए। तर कुनै सहयोग प्राप्त गरेन। यो अवधिमा मैले मेरो बच्चा उसको एकजना अन्टिसँग बस्नु पठाउनु पर्यो। म बच्चासँग छुट्टिएर बस्नुपर्योच। मैले प्रत्येक छ महिनामा अपार्टमेन्टहरू परिवर्तन गरे। यो सबै कुराले मेरो मानसिक तथा शारीरिक स्वास्थ्यमा असर गर्यो।
मैले घरमा व्यतीत गरेको समय र देशको खस्कँदो आर्थिक, राजनैतिक र सामाजिक अवस्थाले आफ्नै एउटा अनलाइन मिडिया सुरु गरेर रिमोट्लि काम गर्ने आइडिया आयो। मेरा धेरै पत्रकारिताका परियोजनाहरू रोकिएका छन् किनकि त्यसमा काम गर्नको लागि फिल्डमा जानु पर्ने हुन्छ र केही क्षेत्रहरूमा पुग्न अप्ठ्यारो छ।
तपाईंको लागि प्रेस स्वतन्त्रता भनेको के हो ?
म यो पेसामा रहेका जोखिमहरूका बारेमा सधैँ जानकार नै छु। मैले मेरा सहकर्मीहरू मारिएको देखेको छु। अन्य केही हराइरहेका छन्। मेरो सहकर्मीको परिवारको लागि न्याय माग्न शान्तिपूर्ण जुलुस आयोजना गर्ने पत्रकारहरू मध्येको एक भएको कारणले मैले त्यति बेला शक्तिमा रहेको सरकारलाई संरक्षण दिएका मानिसहरूबाट धम्कीहरू पाएको थिए। हैटीमा देखिएको असुरक्षाका कारणले यहाँको अवस्था झनै खराब हुँदै छ।
यी सबै चुनौतीहरूका बाबजुद म यो क्षेत्रमा काम गर्दा र सर्वसाधारणलाई देशमा के भइरहेको छ भनेर सुसूचित गर्न पाउँदा गर्व महसुस गर्छु। म आफूलाई रिमोट्लि अर्थात् कार्यालय वा कार्यस्थलभन्दा टाढाबाट काम गर्न पाउँदा भाग्यमानी ठान्छु। यसले मलाई मेरो करियरमा कायम रहन र सुरक्षित रहन सघाएको छ। म अझ सावधान बन्न सिकेकी छु।
सन् २०१५ र २०२३ बिचमा थुप्रै कुराहरू परिवर्तन भएका छन्। मैले यो क्षेत्रमा चिन्दै आएका कमै पत्रकारहरू भेट्छु। मैले चिनेका मध्ये धेरै पत्रकारहरूले यहाँ रहेको खतराका कारण देश छोडेर गएका छन्। यहाँ रहेका थोरै केही छन्, जो घरबाट काम गर्दै छन् वा अन्तर्राष्ट्रिय मिडियामा प्रयास गर्दै छन्।
न्युजरुमहरूले पत्रकारहरूलाई सुरक्षा तालिम तथा बुलेटप्रुफ भेस्ट र ग्यास मास्कजस्ता उपकरण तथा सुरक्षा सामाग्रीहरू दिएर र पत्रकारहरूको अधिकार रक्षाका लागि कार्यरत संस्थाहरूसँग निकट रूपमा काम गरेर उनीहरूलाई सुरक्षित राख्नु पर्छ। नागरिकहरूले आफू सुसूचित रहेर, प्रेस स्वतन्त्रतामा काम गर्ने संस्थाहरूलाई सहयोग गरेर र आफ्ना नेताहरूसँग पारदर्शिता र जबाफदेहिता खोजेर प्रेस स्वतन्त्रताको लागि सहयोग गर्न जरुरी छ।
हैटीमा भ्रष्टाचार, राजनीति, मानव अधिकार, आपराधिक काम जस्ता केही विषयहरू कभर गर्न प्रतिबन्धित जस्तो छ। यी संवेदनशील विषयहरू कभर गर्ने हामीमा हिम्मत छैन। पछिल्लो समय हाम्रो काम एकदमै सीमित भएको छ किनकि गिरोहहरूले प्रत्येक दिन विभिन्न भूगोलहरू आफ्नो कब्जामा लिएका छन्।
प्रेस स्वतन्त्रतालाई सीमित गर्दाको परिणाम एकदम गम्भीर हुन्छ। पत्रकारहरूले आफ्नो सुरक्षा र स्वतन्त्रता गुमाउने जोखिम हुन्छ भने नागरिकहरूले आफ्नो सूचनाको अधिकार गुमाउने जोखिम हुन्छ। प्रेसको स्वतन्त्रता विना लोकतन्त्र हुन सक्दैन।
यो अन्तर्वार्ता स्पष्टताको लागि सम्पादन गरेर संक्षिप्त बनाइएको हो।
रिपोर्टिङ गर्ने: अन्ने माइरियम बोलिभर
अन्ने माइरियम बोलिभर हैटीको राजधानी पोर्टो प्रिन्समा रहेकी ग्लोबल प्रेस रिपोर्टर हुन्। सुद डिपार्टमेन्टमा जन्मेर हुर्केकी उनी कृषि देखि सामाजिक विकाससम्मका वृहत् विषयमा रिपोर्टिङ गर्छिन्। ग्लोबल प्रेस जर्नलमा कम सुरु गर्नुभन्दा पहिले अन्ने माइरियम हाइयर इन्स्टिच्युट अफ लाइब्रेरियनसिप एण्ड म्यानेजमेन्टमा अध्ययन गर्थिन्।
मंगोलिया
अमार्जया ओयुनवात
स्थानीय ताप आपूर्तिकर्ताको बारेमा उनले अनुसन्धान गरेपछि, तिनीहरूले उनलाई यथार्थमै बाहिर चिसोमा कठ्याङ्ग्रिने अवस्थामा पुर्याइदिए।
मंगोलिया समाजवादी एकदलीय शासनबाट बहुदलीय उदार प्रजातन्त्रतर्फको सङ्क्रमणमा सफल उदाहरणको रूपमा सबैसामु परिचित छ । यसको कारण भनेको सन् १९९०को दशक देखि यहाँ रहेको राजनीतिक स्थायित्वको निरन्तरता हो। धेरै एसियाली समकक्षीहरूको तुलनामा अहिले यो देशमा अधिक प्रेस स्वतन्त्रता भए पनि धेरै चुनौतीहरू विद्यमान छन् ।
अझै पनि सरकारले सञ्चारमाध्यमको अधिकांश हिस्सा नियन्त्रण गर्छ— सन् २०१८ मा देशका १५ प्रतिशत छापा माध्यम र १२ प्रतिशत रेडियो स्टेसनहरू सरकारको स्वामित्वमा छन्। यद्यपि यसो गर्न सन् १९९८ बाट कानुनी रूपमा प्रतिबन्ध लगाइएको छ ।
मंगोलियामा सूचनाको अधिकार सम्बन्धी कानुन कार्यान्वयनको अवस्था निकै कमजोर छ, त्यहाँ अधिकारीहरूले पत्रकारले माग गरेका सूचनाहरू दिन बारम्बार अस्वीकार गर्दै आएका छन् । पत्रकारहरू प्रायः राजनीतिक व्यक्तिहरू र अन्य प्रभावशालीहरूद्वारा दुर्भावनापूर्ण मानहानि मुद्दाको सिकार हुने गरेका छन् ।
समाचार कक्षहरूले पनि प्रेस प्रतिबन्धलाई सुदृढ पार्न भूमिका निर्वाह गरिरहेका छन् । सन् २०२१ को ग्लोब इन्टरनेशनल सेन्टर नामक मंगोलियामा अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्दै आएको गैरनाफामूलक संस्थाको सर्वेक्षण अनुसार, ४० प्रतिशत उत्तरदाताले उनीहरूको समाचार कक्षले ‘कालोसूचीका विषयहरू’ लागू गरेको बताए ।
उलानबाटरबाट ७०० किमी (४३५ माइल) मा पर्ने पहाडी भूगोल रहेको अर्खांगै प्रदेशस्थित अर्खांगै मिडिया ग्रुपकी निर्देशक एवं सम्पादक अमार्जया ओयुनवातले प्रदेशका धेरै मानिसहरू निर्भर रहेको कोइलाको धुलोबाट चल्ने बोइलर स्थानीय उत्पादकको सम्बन्धमा अनुसन्धान गरेबापत् महँगो मूल्य चुकाउनु पर्याे।
इख गोलोम्टीन इल्चको बोइलर कम्पनीले गरेको प्रदूषण र वातावरणीय जोखिमहरूका सम्बन्धमा उनका समाचारहरूले उजागर गरेपछि उक्त कम्पनीले उनलाई अदालतमा उपस्थित गरायो र अचानक जाडो महिनामा उनको हिटिङ (घर न्यानो बनाउने) सुविधा पनि कटौती भयो ।
रो नाम अमार्जया ओयुनवात हो । म २३ वर्षदेखि अविराम रूपमा स्थानीय पत्रकारको रूपमा कार्यरत छु ।
सन् १९९८ को मंगोलियाको सञ्चार स्वतन्त्रतासम्बन्धी कानुनले सरकारको स्वामित्वका सञ्चारमाध्यम बन्द गराएको थियो । ग्र्याजुएसनपछि जब म आफ्नो गृह नगरमा फर्किएँ, मैले हाम्रो स्थानीय टेलिभिजन स्टेसन पुनः सञ्चालनमा ल्याएँ, र सन् २००३ मा, मैले ‘अर्खांगै लाइफ’ नामक अखबार पनि शुरु गरें ।
हाम्रा सञ्चार गृहहरूको सङ्ख्यामा बढोत्तरी भयो, त्यसपछि मैले सन् २०१८ मा अर्खांगै मिडिया ग्रुप स्थापना गरी अर्खांगै प्रदेशका अखबार, टेलिभिजन स्टेसन, समाचार पोर्टल, रेडियो स्टेसन सबैलाई एकै छातामुनि ल्याएँ । पछि सन् २०१९ मा हामीले रेडयो स्टेसन र समाचार पोर्टल पनि थप्यौँ ।
अर्खांगै प्रदेशको राजधानी टेस्टरलेग सुअममा धुवाको मुद्दा निकै पेचिलो थियो । यहाँ एउटै कम्पनीले हिटिङ म्यानुफ्याक्चरिङ र तापावरोधन (इन्सुलेसन) को एकाधिकार कायम राखेको थियो ।
यो कम्पनीलाई [सन् २०१४] मा थर्मल ऊर्जा स्टेसन निर्माण गर्ने [अनुमति प्रदान गरिएको थियो] , तर त्यसो हुन सकेन ।
ओयुनवातको स्टोरी –
"तिनीहरूले मेरो संस्था र घरको ताप आपूर्ति हिउँदको मध्य जाडोमा टुटाइदिएका थिए ।" – अमार्जया ओयुनवात
उक्त कम्पनी सम्बन्धित धेरै विषयहरू थिए, जस्तो कि स्टीम स्टोभ चिम्नीमा फिल्टरहरू लगाइएको थियो, कालो धुवाँ उत्सर्जनको समस्या समाधान गर्न उनीहरू असफल भएका थिए र आम मानिसहरूलाई पर्याप्त ताप आपूर्ति गर्न पनि असफल भइरहेका थिए।
आम मानिसहरूको सिकायतका आधारमा मैले यी विषयहरूमा समाचार लेखेकी थिएँ ।
यो प्रक्रियामा उनीहरूले मेरो संस्था र घरमा हिउँदको मध्य जाडोमा ताप आपूर्ति बन्द गरिदिएका थिए । उनीहरूले प्रत्यक्ष रूपमा मेरा लेखहरूका सम्बन्धमा सिकायत गरेनन्, तर उनीहरूले एउटा ग्राहकको रूपमा मलाई धम्क्याएका थिए।
त्यसपछि उक्त कम्पनीका कामदारहरू हाम्रो संस्थाको परिसरमा थर्मल ग्रिडमा चुहावट छ कि भनेर खनेर जाँच गर्नुपर्छ भन्दै साबेल र कोदालो लिएर प्रवेश गरे।
त्यस लगत्तै, कम्पनीले चुहावट र क्षतिको आरोप लगाउँदै २ करोड मंगोलियन टोग्रोस (५,७१८ अमेरिकी डलर) दाबी गर्यो।
तपाईंको लागि प्रेस स्वतन्त्रता भनेको के हो ? –
हामीले ऊर्जा नियमन आयोगमा सिकायत दर्ता गर्यौँ र आयोगको निष्कर्षमा हामी निर्दोष ठहरियौँ । उनीहरूले ग्राहकलाई नधम्क्याउन आग्रह गर्दै कम्पनीलाई औपचारिक पत्र पनि पठाए।
तर यो यहीँ समाप्त भएन । उनीहरूले म विरुद्ध अदालतमा मुद्दा दायर गरे । मैले यो प्रक्रियाको क्रममा थाहा पाएँ कि न्यायिक सामग्रीहरू जम्मा गर्ने क्रममा कम्पनीलाई फाइदा पुर्याइएको थियो । त्यति बेला मसँग कुनै वकिल थिएन र प्रमाण र कागजातहरू सङ्कलन गर्दै अघि बढेँ । मैले सत्य लेखेको छु, जनतालाई थाहा छ, यो मेरो लेखसँग सम्बन्धित कुनै गुनासो थिएन, र यसलाई समाधान गर्न सम्भव छ भन्ने कुरालाई ध्यानमा राखेर आफैँले आफ्नो प्रतिरक्षा गर्न सम्भव हुन्छ भन्ने सोचेको थिएँ ।
यद्यपि मैले कम्पनी, वकिल र न्यायधीशहरू बिच केही खास सम्बन्ध स्थापित भएको [हल्ला सुनेको थिएँ] । म सशङ्कित भएर उलनबाटरबाट कानुन व्यवसायी झिकाएको थिएँ । यो अदालती प्रक्रियामा पछि वादीले आफ्नो दाबी फिर्ता लिए र न्यायिक प्रक्रियालाई अन्त्य गरे ।
उनीहरूले मैले लेखेका लेखहरूबारे सिकायत गरेका थिएनन्, तर तिनीहरूले यो कारबाहीमार्फत मलाई ऋणमा फसाएर चुप लगाउन खोजेको थिए ।
यो कारबाही सन् २०२० मा समाप्त भयो, मैले धुवाँसँग सम्बन्धित विषयहरूमा समाचार र समाचार सङ्कलनमा काम गरिरहेको छु तर त्यसयता कम्पनीबाट कुनै सिकायत भएको छैन ।
यो मुद्दाले मलाई पत्रकारहरूले स्रोत, तथ्य र अनुपालनाका सम्बन्धमा आचारसंहिता र सिद्धान्तहरूमा आधारित रहेर मिहिन ढङ्गले काम गर्नुपर्छ भन्ने स्मरण गराएको छ ।
मानवअधिकार वा भ्रष्टाचारका विषयमा अनुसन्धानात्मक लेखनमा, समाचार सङ्कलनमा अटल धैर्यता, मनोवैज्ञानिक पूर्व तयारी, आशङ्कारहित त्याग र जोखिम आवश्यक हुन्छ । यस्ता प्रतिबन्धित र बन्द विषयमा विशेषज्ञता हासिल गरेका केही पत्रकारहरूले मात्र लेख्छन् र उनीहरूले यस्ता धम्की र चुनौतीको सामना गर्नु सामान्य बनेको छ ।
हाम्रो देशको प्रेस स्वतन्त्रता अत्यन्त जटिल अवस्थामा छैन, तर अझै पनि समस्याग्रस्त छ । त्यस कारण हामीकहाँ आंशिक प्रेस स्वतन्त्रता छ ।
मंगोलियामा पत्रकारका लागि संरक्षण संयन्त्र कमजोर छ । मंगोलियाको मिडिया क्षेत्रले सामना गरिरहेको सबैभन्दा पेचिलो मुद्दा भनेको सेन्सरसिप वा सम्पादकीय दबाब र धम्की बिना कामको वातावरण सुनिश्चित गर्नु हो ।
एउटा सानो स्थानीय समाचारकक्षका लागि वित्तीय सामर्थ्यको मुद्दा [पनि रहन्छ] । सञ्चारमाध्यमहरूले एकातिर पत्रकारिताका सामग्री उत्पादन गर्नुपर्छ अर्कोतर्फ व्यवसाय पनि गर्नुपर्छ । समाचार कक्षको वित्तीय विश्वसनीयताले पनि पत्रकारहरूलाई संरक्षण गर्छ ।
बोल्न पाउने स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता सरल तर आधारभूत मानव अधिकार हुन्; त्यसैले पत्रकारिताले मानिसहरूलाई समर्थन, सहयोग र साझेदारी गर्नुपर्दछ किनभने उनीहरूले यी अधिकारहरू उपभोग गर्छन् ।
यो अन्तर्वार्ता स्पष्टताको लागि सम्पादन गरेर संक्षिप्त बनाइएको हो।
रिपोर्टिङ गर्ने: ओडोनछिमेग बत्सुख
ओडोनछिमेग बत्सुख मंगोलियामा रहेकी ग्लोबल प्रेस जर्नल रिपोर्टर हुन्।
पोर्टो रिको
कार्मेन एनिड एसभिडो
पोर्टो रिकोमा प्रेस स्वतन्त्रता सम्बन्धी संवैधानिक सुनिश्चितताहरू भए पनि त्यसलाई छल्न सजिलो छ।
संयुक्त राज्य अमेरिकाको संविधानले पोर्टो रिकन प्रेसलाई सरकारको हस्तक्षेप हुनबाट संरक्षण दिएको भए पनि राजनीतिज्ञहरू र कर्मचारी प्रशासनले यसलाई हस्तक्षेप गर्दैनन् भन्ने हुँदैन। विगत तीन वर्षमा भएका स्वतन्त्र अभिव्यक्तिमा अङ्कुश लगाउने दुई वटा मुख्य प्रयासको पोर्टो रिकन पत्रकारहरूमा ठूलो प्रभाव परेको हुनसक्छ।
पोर्टो रिको क्षेत्रको आर्थिक सङ्कट निरीक्षण गर्न सन् २०१६ मा स्थापना भएको फाइनान्सल ओभरसाइट एन्ड मेनेजमेन्ट बोर्ड फर पोर्टो रिकोलाई सर्वोच्च अदालतको मे ११ को फैसलाले सङ्कटबारे लामो समय देखि रिपोर्टिङ गरिरहेको खोज पत्रकारिता केन्द्र (स्पेनिसमा सीपीआई)लाई सूचना दिन अस्वीकार गर्ने अधिकार दियो।
पक्षमा ८ र विपक्षमा १ जना न्यायाधीशको मतबाट भएको निर्णयमा न्यायाधीशहरूले पोर्टो रिको सरकारकै निकायको रूपमा रहेको फाइनान्सल ओभरसाइट एन्ड मेनेजमेन्ट बोर्ड फर पोर्टो रिकोले अमेरिकी राज्यहरूले जस्तै मुद्दा मामिलाबाट उन्मुक्ति पाउने निष्कर्ष निकाले। उनीहरूले बोर्ड स्थापनाका लागि बनेको कानुनले पनि त्यो उन्मुक्ति कटौती नगरेको फैसला गरे।
सरकारका कामकारबाहीबारेका सूचना जनतामा जानबाट रोक्ने अधिकार बोर्डलाई दिने यस्तो फैसलाले पोर्टो रिकन मानिसहरूका लागि “विकृत परिणामहरू” निम्त्याउने चेतावनी सीपीआईले दियो।
अधिकारीहरूबाट सार्वजनिक सूचना प्रकाशन गर्न कानुनी कदम चालिरहनुपर्ने बाध्यताबारे जोड दिँदै सीपीआईले सार्वजनिक पारदर्शिताको दायित्व बारम्बार छल्ने पोर्टो रिकन निकायहरूको प्रवृत्तिलाई निरन्तर प्रकाशमा ल्याइरहेको छ।
केही अफ्ठ्याराहरूबीच पनि स-साना उपलब्धिहरू हासिल भइरहेका छन्। पोर्टो रिकोको स्थानीय विधायीकाले कोरोनाभाइरस महामारीको समयमा तथाकथित “मिथ्या सूचना कानुन”मा संशोधन गर्दै “गलत सूचना” शेयर गर्दा जेल र जरिवाना हुने सजायको व्यवस्था गर्यो। व्यापक आलोचना भएको यो संशोधन गत मार्चमा खारेज गरियो। द यूएस डिस्ट्रिक्ट कोर्ट अफ पोर्टो रिकोले उक्त कानुन अमेरिकी संविधानको पहिलो संशोधन विरुद्ध रहेको फैसला गर्यो। यद्यपि पोर्टो रिकन सरकारले त्यसविरुद्ध पुनरावेदन दिएको छ।
कार्मेन एनिड एसभिडो पोर्टो रिकन प्रशासनमा समाचार सङ्कलन गर्दाका चुनौती र खतराबारे परिचित छिन्। सन् २०१९ मा निष्कासित भएका पूर्व गभर्नर रिकार्डो रोसेलो नेभारेसका अभियान निर्देशकबारे उनले अनुसन्धान गरिरहँदा उनकी आमाले धम्कीको सामना गर्नुपर्यो। “सरकार विशेषबाट पत्रकारलाई उत्पीडन दिइने कुनै बेलाको जस्तो [वातावरणमा] पोर्टो रिको फेरि फर्कन सक्छ,” उनी भन्छिन्।
यी चुनौतीहरूले कसरी उनको कामलाई आकार दिए र दुई दशकसम्म परम्परागत सञ्चार माध्यममा काम गरेपछि उनले सन् २०११ मा सुरु गरेको मल्टिमिडिया सञ्चारगृह बोनिता रेडियोका लागि परिकल्पना गरेको भूमिकामा सहयोग गरे भनेर ग्लोबल प्रेस जर्नलसँगको कुराकानीमा एसभिडो स्मरण गर्छिन्।
मएउटा कामकाजी मध्यम वर्गीय परिवारमा रियो पिएद्रास र कारोलिना सहरको बीचमा हुर्किएँ। अहिले म ५८ वर्ष पुगेँ र मैले पत्रकारका रूपमा पोर्टो रिको विश्वविद्यालय र रियो पिएद्रासबाट तालिम लिएकी छु। त्यसपछि मैले छापा माध्यममा काम सुरु गरेँ र असोसिएटेड प्रेसमा पनि काम गरेँ।
सबै प्रजातान्त्रिक मुलुकहरूमा प्रेस स्वतन्त्रतामाथि चुनौती छ र पोर्टो रिको पनि त्यसमध्येकै एउटा हो।
सन् २०१८ देखि मैले [पूर्व गभर्नर] रिकार्डो रोसेलो नेभारेसका सबैभन्दा नजिक मध्येका एक जना सहयोगी इलियास सान्चेज सिफोन्सको राजनीतिक यात्राबारे सूचना सङ्कलन गरिरहेको थिएँ। चार वर्षअघि रोसेलो प्रशासन राजनीतिक सङ्कटमा परेको समयमा मैले धेरै खराब अनुभव गरेँ र त्यसको मेरो व्यक्तिगत जीवनमा नराम्रा परिणामहरू भए। मेरी आमालाई धम्की दिइयो। हामीले उजुरी पनि दर्ता गरायौँ तर प्रशासनले त्यसबारे हामीलाई कुनै खबर दिएन।
त्यो अनुभवले मेरो काम गर्ने क्षमता साँघुरो गर्यो म भन्दिनँ तर त्यसले म कहाँ छु मेरी आमा कहाँ छिन् भन्नेबारे धेरे सतर्क रहनुपर्ने बनायो। त्यो अवस्थासँग सामना गर्न निकै कठिन भयो किनभने आफैँलाई प्रश्न सोधिने रहेछ: मेरो कामको परिणाम के आइरहेका छन्?
"सार्वजनिक सूचना प्राप्तिमा प्रतिबन्ध क्रूर हो। यो हामीले सामना गरेको सबैभन्दा क्रूर प्रतिबन्ध हो।" – कार्मेन एनिड एसभिडो
त्यसबेला मेरी आमासँगको कुराकानीमा [मैले भनेँ] मेरो काम सधैँ मेरो देश प्रतिको प्रतिबद्धताबाट निर्देशित छ। र मैले उनलाई भनेँ कि मैले यसलाई निरन्तरता दिइरहन्छु र मैले दिएको पनि छु।
असुरक्षा र डर सधैँ हुन्छ; यो पत्रकारिताकै एउटा पाटो हो। [तर] सरकार विशेषबाट पत्रकारलाई उत्पीडन दिइने कुनै बेलाको जस्तो [वातावरणमा] पोर्टो रिको फेरि फर्कन सक्छ।
आलोचनात्मक पत्रकारिताको अस्तित्व पहिचान गर्ने राज्यको असक्षमताका कारण सङ्कट निम्तिरहेको जस्तो मलाई लाग्छ। सार्वजनिक सूचना प्राप्तिमा प्रतिबन्ध क्रूर हो। यो हामीले सामना गरेको सबैभन्दा क्रूर प्रतिबन्ध हो।
एकजना पत्रकारलाई दिइएको सूचना उनीहरूका लागि मात्रै हो भनेर सोच्नु गल्ती हो। त्यसो होइन त्यो सूचना त पूरै देशका लागि हो। हामी त पूरै देश सुसूचित होस् भनेर सुनिश्चित गर्ने माध्यम र तत्त्व मात्रै हौँ।
तपाईंको लागि प्रेस स्वतन्त्रता भनेको के हो ?
[त्यसकारण हामीसँग सूचनाको अभाव छ] प्रकृतिमा के भइरहेको छ, देशको तटीय क्षेत्रमा, टापुको बीचमा, पानी जस्ता महत्त्वपूर्ण स्रोतहरूमा वा कुनै सीमा बिना भइरहेका निर्माणमा के भइरहेको छ।
खोज, विश्लेषण र खेलकुदमा केन्द्रित भएर मैले अहिले बोनिता रेडियोमा गरिरहेको स्वतन्त्र र मल्टिमिडिया पत्रकारितामा आफूलाई रूपान्तरित गर्न सहज पक्कै थिएन। तर हामी गरेरै यहाँ आइपुग्यौँ। यो एउटा परम्परागत पत्रकारको आफ्नो सामग्री आफैँ उत्पादन र व्यवस्थापन गर्ने, समाचार सङ्कलन देखि त्यसलाई केलाउने र वितरण गर्ने सम्मको काम गर्ने मल्टिमिडिया पत्रकारमा रूपान्तरण हो। पत्रकारिताको सवालमा म अब फरक व्यक्ति जस्तै भइसकेँ।
जबसम्म मेरो जीवन रहन्छ….स्वास्थ्यले साथ दिएर सामग्री उत्पादन गर्न सक्दा सम्म म उत्पादन जारी राख्ने छु।
यो अन्तर्वार्ता स्पष्टताको लागि सम्पादन गरेर संक्षिप्त बनाइएको हो।
रिपोर्टिङ गर्ने: कोराली क्रुज मेजियास
कोराली क्रुज मेजियास पोर्टो रिकोमा बस्ने ग्लोबल प्रेस जर्नलको सिनियर रिपोर्टर हुन्। जुवाना डियाजमा जन्मेर हुर्केकी उनले सेन्टर फर एडभान्स्ड स्टडिज अफ पोर्टो रिकोबाट पोर्टो रिको तथा क्यारेबियनको इतिहासमा मास्टर्स डिग्री हासिल गरेकी छिन्। उनी वातावरण रिपोर्टिङमा दखल राख्छिन्।
जिम्बावे
पनाशे मकुफा
कोरोना भाइरसको महामारीको बेला जिम्बावेले त्यहाँको मिडियामाथि दमन गर्यो र त्यसको प्रभाव यी पत्रकारले भोगे।
जिम्बावेको मिडिया परिदृश्य पत्रकारहरू तथा मिडियाकर्मीहरूको लागि लामो समय देखि प्रतिकूल रहँदै आएको छ। सन् १९८७ देखि २०१७ सम्म शासन गरेको पूर्व राष्ट्रपति रोबर्ट मुगाबेको सरकारले पत्रकारहरूलाई उनीहरूको काम गर्नबाट रोक्नका लागि विभिन्न कानुनहरूको प्रयोग गर्यो।
एउटा त्यस्तो कानुन भनेको सूचनामा पहुँच तथा गोपनीयताको संरक्षण सम्बन्धी ऐन हो, जसलाई मुगाबेले कानुनको रूपमा लागू गरे। यो कानुनले सर्वसाधारण नागरिकले सूचना प्राप्त गर्ने अधिकारलाई स्थापित गर्यो। तर अभिव्यक्ति स्वतन्त्रताको पक्षमा वकालत गरिरहेका गैर सरकारी संस्थाहरू मिडिया इन्स्टिच्युट अफ साउदर्न अफ्रिका र आर्टिकल १९ का अनुसार सरकारले त्यो कानुन मिडियाकर्मी तथा पत्रकारहरूलाई पक्राउ गर्न र दुख दिनको लागि प्रयोग गर्यो । यो कानुन लागू भए पछि मिडियाकर्मी पक्राउ, धम्की तथा हैरानीका घटनाहरू भए। उक्त कानुनको प्रेस स्वतन्त्रतामा परेको सबैभन्दा ठुलो प्रभाव भनेको द डेली न्युज र द डेली न्युज सन्डे प्रकाशन गरिरहेको कम्पनी एसोसियटेड न्युजपेपर अफ जिम्बावे बन्द हुनु हो।
२०१७ को कू पछि मुगाबे सरकारलाई प्रतिस्थापन गरेका राष्ट्रपति एमर्सन नांगाग्वाको कार्यकालमा प्रेस स्वतन्त्रतामा थोरै सुधार आए तापनि पत्रकारहरूले बदलाको निशाना बन्नबाट बच्नका लागि अझै सेल्फ सेन्सर गर्ने गर्छन्। पत्रकारमाथिको मौखिक आक्रमण तथा धम्कीहरू र धरपकडहरू अझै जारी छ।
कोरोनाभाइरस महामारीका बेलामा पत्रकारहरूमाथि धरपकड, धम्की तथा हैरानीका घटनाहरू बढेपछि जिम्बावे अफ्रिकामै सबैभन्दा ठुलो प्रेस स्वतन्त्रता उल्लङ्घनकर्ता बन्यो। इन्टरनेस्नल प्रेस इन्स्टिच्युटका अनुसार महामारीको लकडाउनका बेलामा आफ्नो काम गरेकै कारणले एक दर्जनभन्दा धेरै पत्रकारहरू पक्राउ परेका थिए। पक्राउहरू रोक्ने उच्च अदालतले दिएको आदेश पनि उनीहरूले पालना गरेनन्।
जिम्बावेको स्वतन्त्र फोटोपत्रकार तथा डकुमेन्टरी फिल्ममेकर पनाशे मकुफा महामारीका बेलामा पक्राउ परेका पत्रकारहरू मध्येका एक हुन्। जिम्बावेको मानव अधिकार उल्लङ्घनहरू कभर गर्ने उनीजस्ता पत्रकारहरूले अप्ठ्यारो समयको सामना गरिरहेको पनाशे बताउँछन्। उनी जिम्बावेमा पत्रकारको रूपमा उनका अनुभव र चुनौतीका बाबजुद किन उनी पत्रकारिता प्रति प्रतिबद्ध छन् भन्ने आफ्नो दृष्टिकोण यहाँ सेयर गर्छन्।
रो नाम पनाशे मकुफा हो। म जिम्बावेको एक स्वतन्त्र फोटोपत्रकार तथा डकुमेन्टरी फिल्ममेकर हो। मैले सन् २०१७ मा फोटोपत्रकारको रूपमा पत्रकारिता सुरु गरे। मैले क्रिसियन कलेज अफ साउथर्न अफ्रिकाबाट फिल्म र टेलिभिजन उत्पादनमा तालिम लिएको छु। त्यसैले म यो फिल्डमा फोटोग्राफर तथा भिडियोग्राफरको रूपमा आए।
मैले सन् २०१८ मा स्वतन्त्र रूपमा काम अर्थात् फ्रिल्यान्सिङ गर्न सुरु गरे। मैले प्रशिक्षणको रूपमा पत्रकारको रूपमा पनि काम गर्न थाले।
प्रेस स्वतन्त्रताको कुरा आउँदा र अझ खास गरी मानव अधिकारका मुद्दामा काम गर्दा जिम्बावेमा हुनु नै आफैमा एउटा चुनौती हो। मैले पत्रकारिता पनि थालनी गरेकोले राजनीति र मानव अधिकारका मुद्दाहरू कभर गरी रहेको छु। यस्ता खालका स्टोरीहरू गर्दा तपाईंको सत्ताधारी, प्रहरी र सेनासँग नोकझोक हुने गर्छ। मैले प्रहरीले घुस लिइरहेको वा मानव अधिकार उल्लङ्घन गरिरहेको घटनाहरू खिच्दा कमजोर खालका चार्जहरूमा सन् २०१८ यता कति पटक पक्राउ परे भन्ने गन्ती नै बिर्सिसके।
मलाई पक्राउ गरिएको। मलाई कुटिएको छ। म जिम्बावेमा एउटा फोटोपत्रकारको रूपमा काम गर्दा अस्पताल भर्ना भएको छु। मलाई कोभिडको बेलाको अझै सम्झना छ। म बजारबाट आउँदै थिए। प्रहरीहरूले लकडाउन लागू गर्दै गरेकोले मैले फोटोहरू खिच्दै थिए। प्रहरीले त्यसपछि मलाई पक्राउ गरे। उनीहरूले भने, “तपाईंले लकडाउनका बेलामा तस्बिर लिन पाउनु हुन्न। र तपाईं सरकारी मिडियाबाट पनि होइन।”
"तपाईंलाई कुनै पनि स्टोरीले ल्याउने परिणाम के हुन्छ भन्ने थाहा हुँदैन। तपाईंले त्यो स्टोरी मात्र गर्नुहुन्छ। यो तपाईंले प्रत्येक दिन मोल्ने जोखिम हो। " – पनाशे मकुफा
उनीहरूले मलाई पक्राउ गरे। उनीहरूले मलाई पिटे। उनीहरूले मेरो क्यामेरा लगेर त्यहाँ रहेका फुटेजहरू मेटाइदिए। त्यसपछि मलाई एक घण्टाभन्दा धेरै थुने। पछि उनीहरूले मलाई विना कुनै चार्ज रिहा गरे। त्यो घटनापछि मिडिया इन्स्टिच्युट अफ साउदर्न अफ्रिका को सहयोगमा हामी अदालत गयौँ। हामीले कोभिड-१९ कालमा पत्रकारहरू अत्यावश्यक सेवाभित्र नपर्ने सरकारको निर्णयलाई अदालतमा कानुनी चुनौती दियौँ। भाग्यवश हामीले त्यो मुद्दा जित्यौँ र सबै मिडियाकर्मीहरूलाई त्यो लकडाउनका बेलामा काम गर्न दिइयो।
यो अनुभवले मेरो काम गर्ने र हेर्ने तरिकालाई परिवर्तन गर्यो। सुरुमा निकै धेरै त्रास थियो। कुनै विन्दुमा म पछि हट्नु परेको थियो किनकि मलाई लाग्यो म सुरक्षित छैन र एउटा पत्रकारको रूपमा कुनै सम्मान छैन। तर फेरी मलाई लाग्यो पत्रकारको रूपमा कहिले प्रशिक्षित हुने भन्ने हुँदैन। पत्रकार बन्न लायक हुनुपर्छ। त्यो कुराले तपाईंलाई प्रत्येक दिन उठ्न र आफ्नो काम गर्न जानको लागि बाध्य पार्छ।
जिम्बावेमा पत्रकारको रूपमा तपाईं कहिले सुरक्षित महसुस गर्नुहुँदैन। किनकि भोलि के हुन गइरहेको छ भन्ने तपाईंलाई थाहा हुँदैन। तपाईंलाई कुनै पनि स्टोरीले ल्याउने परिणाम के हुन्छ भन्ने थाहा हुँदैन। तपाईंले त्यो स्टोरी मात्र गर्नुहुन्छ। यो तपाईंले प्रत्येक दिन मोल्ने जोखिम हो। उनीहरू पत्रकारका स्वतन्त्रताहरूलाई नियन्त्रण गर्ने प्रयास स्वरूप कानुनहरू लागू गरिरहेका छन्। त्यसैले तपाईं कहिले सुरक्षित महसुस गर्नुहुँदैन।
तपाईंको लागि प्रेस स्वतन्त्रता भनेको के हो ?
मैले काम सुरु गर्दाको जस्तो ऊर्जा अब मसँग छैन। मानिसहरू तपाईंलाई अभियन्ता वा सत्ता परिवर्तनको एजेन्ट भन्ने उपमा दिन थाल्छन्। म सूचना सम्प्रेषण गर्ने र स्टोरीहरू भन्ने आफ्नो काम मात्र गर्न चाहन्थे। मलाई उपमा दिइने वा कुनै खालको एजेन्ट भनिने कारणले म अहिले फरक तरिकाले स्टोरीहरू भन्छु।
हाम्रो संविधानले अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्छ। तर अभिव्यक्ति पछिको स्वतन्त्रता भने छैन। त्यसैले संवैधानिक रूपमा तपाईंले कुनै पनि स्टोरीहरू भन्न सक्नुहुन्छ। तर त्यसका परिणामहरू हुन सक्छन्। यदि तपाईंले राष्ट्रपतिको बारेमा स्टोरी लेख्नुभयो भने एउटा कानुन छ जसले राष्ट्रपतिका बारेमा कुनै तरिकाले बोल्न रोक लगाउँछ। त्यसैले उनीहरूले तपाईंलाई प्रत्येक दिन कुनै न कुनै कानुन उल्लङ्घन गरिरहेको स्थापित गरिदिन सक्छन्।
मैले केही खालका स्टोरीहरू कभर गर्नबाट आफूलाई रोकेको छु किनकि त्यस्ता स्टोरीहरूसँगै केही परिणामहरू भोग्नु पर्ने हुन्छ। तपाईंले प्रथम महिलाका बारेमा स्टोरी गर्न सक्नुहुन्न। तपाईंले भ्रष्टाचारका बारेमा स्टोरी गर्न सक्नुहुन्न। तपाईंले खनिज तथा सुनका बारेमा स्टोरी गर्न सक्नुहुन्न।
मैले एउटा स्टोरी गरे जसले मलाई त्यस्तो अवस्थामा पुर्यायो जसका बारेमा म कुरा गर्न सहज छैन। त्यसैले यस्ता स्टोरीहरू छन् जसमा तपाईंले सुरक्षाको कारणले काम गर्न सक्नुहुन्न।
पत्रकारको रूपमा प्रेस स्वतन्त्रता विना हामीले हाम्रो काम गुमाउँछौँ। हाम्रो काम हाम्रो लागि आम्दानीको स्रोत हो। थुप्रै मानिसहरू छन् जो हामीमा निर्भर छन्। हामीले हाम्रो क्षमता प्रदर्शन गर्ने र समाजलाई सहयोग गर्ने मौका पनि गुमाउँछौँ।
न्युजरुमहरूले पत्रकारको सुरक्षाको लागि साँच्चै नै केही गर्न सक्छन्। तीनले रिपोर्टरहरूलाई के गर्ने वा के नगर्ने र कसरी स्टोरीहरू कभर गर्ने भन्ने बारेमा बुझाउन सक्छन्। न्युजरुमहरूले रिपोर्टरहरूलाई मर्नुपर्ने नै गरी कुनै स्टोरीको मूल्य हुँदैन भन्ने बताउन सक्छन्।
नागरिकहरूले पनि कठोर कानुनहरू खारेज गर्ने र प्रेस स्वतन्त्रता सुनिश्चित गर्ने कानुनहरू लागू गर्ने कुरामा साथ दिन र वकालत गर्न सक्छन्।
जिम्बावेमा पत्रकारहरूको भविष्य धमिलो छ। अहिले जे भइरहेको छ त्यसको आधारमा भन्दा पत्रकारहरूको भविष्य राम्रो छ भन्न सक्दैन। भविष्य धमिलो नै देखिन्छ।
यो अन्तर्वार्ता स्पष्टताको लागि सम्पादन गरेर संक्षिप्त बनाइएको हो।
रिपोर्टिङ गर्ने: लिन्डा मुजुरु
लिन्डा मुजुरु जिम्बावे स्थित हरारेमा बस्ने ग्लोबल प्रेस जर्नलकी रिपोर्टर हुन्। उनी कृषि रअर्थतन्त्रको रिपोर्टिङमा दक्खल राख्छिन्। जिम्बावेको राजधानीमा जन्मेर हुर्केकी लिन्डाले नेस्नल युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीबाट मिडिया अध्ययनमा मास्टर्स डिग्री हासिल गरिन्। ग्लोबल प्रेस जर्नलमा काम गर्नुभन्दा पहिले उनी मिडिया सेन्टर जिम्बावेमा कार्यक्रम व्यवस्थापकको रूपमा थिइन्, जहाँ उनले त्यो देशभरका पत्रकारहरूलाई सहयोग गरिन्। लिन्डा ग्लोबल प्रेस जर्नलमा सबैभन्दा धेरै पढिने र अरूले प्रकाशन गर्ने (सिन्डिकेट) मध्येकी एक रिपोर्टर हुन् ।
प्रजातान्त्रिक गणतन्त्र कङ्गो
नानोउ काजाकु
द्वन्द्वग्रस्त पूर्वी डिआरसीमा काममै हुँदा एक पत्रकारमाथि गोली प्रहार भएपछि उनले आफ्नो पत्रकारिता गर्ने तरिका अर्थात् एप्रोच नै पुनर्विचार गर्न बाध्य भइन्।
प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा राष्ट्रपति फेलिक्स एन्टोनी सिकेदी २०१८ को डिसेम्बरमा निर्वाचित भएपछिको उद्घाटन मन्तव्यमा गरिएका वाचाहरू मध्ये मिडियालाई “एउटा वास्तविक चौथो अङ्ग” मा रूपान्तरण गर्ने पनि एक थियो। उनका पूर्ववर्ती जोसेफ कबिलाले विचार स्वतन्त्रलाई खारेज गरेका थिए। कबिलाको १८ वर्षे कार्यकालमा धेरै पत्रकारहरूको हत्या भएको थियो र ती हत्याहरू माथि कुनै कारबाही भएन।
रिपोर्टर्स विथआउट बोर्डर्सको प्रेस स्वतन्त्रता सुचाकांकमा सिकेदीको निर्वाचनपछि २०१९ यता ३० स्थान माथि उक्लेको डिआरसीको स्कोरमा सुधार आए तापनि पत्रकारहरूका लागि त्यहाँको वातावरण अझै प्रतिकूल छ।
सिकेदी सत्तामा आए पछिको सन् २०१९ को पहिलो विश्व प्रेस स्वतन्त्रता दिवसका बेलामा त्यहाँका अधिकारीहरूले कर तिर्न नसकेका १५ रेडियो स्टेसनहरू बन्द गरे। तर रिपोर्टर्स विथआउट बोर्डर्स तथा उसको साझेदार संस्था जर्नलिस्ट इन डेन्जरका अनुसार उक्त कदम नयाँ सरकारको आलोचना गरेका स्टेसनहरूलाई लक्षित गरेर चालिएको हो।
पत्रकारहरूले केन्द्र सरकार तथा स्थानीय अधिकारीहरूबाट मात्र दबाब सामना गर्दैनन्। उनीहरू सशस्त्र समूहहरू पनि दमनमा परेका छन्। देशको पूर्वी क्षेत्रमा करिब १३० सशस्त्र समूहहरू संलग्न रहेको दशकौँ देखिको द्वन्द्वले यो क्षेत्रका पत्रकारहरूलाई आफ्नो काम गर्ने स्वतन्त्रता खोसेको छ। सशस्त्र समूहहरूले पत्रकारहरूलाई आक्रमण गर्ने, धम्काउने र मार्ने गर्दछन्। निष्कासनका बारेमा स्टोरी कभर गर्न जाँदा गोली प्रहार गरिएका डिआरसीको यो क्षेत्रको रिपोर्टर नानोउ काजाकु अहिले आफ्नो लागि सुरक्षा पहिलो प्राथमिकता भएको बताउँछिन्। “कुनै ठुला इभेन्टहरू कभर गर्न जाँदा म एक्लै जाँदैन,” उनी भन्छिन्, “मलाई सुरक्षित महसुस हुन आफ्ना सहकर्मीहरू सँगै हुनुपर्छ।” काजाकुको थप अनुभव पढ्नुहोस्।
रो नाम दाया काजाकु नानोउ हो। तर मिडियामा म नानोउ काजाकुको रूपमा चिनिन्छु। म एउटा पत्रकार तथा रिपोर्टर हुँ। मेरो सबल पक्ष भनेको भरपर्दो र प्रमाणित सूचनाहरू खोज्दै फिल्डमा जाने हो । त्यसपछि म फर्केर आएर त्यसलाई सम्प्रेषण गर्छु।
मैले स्नातक डिग्री हासिल गर्ने बित्तिकै देखि पत्रकारिताको काम गर्न सुरु गरेकी हुँ। दुर्भाग्यको कुरा मेरो बुवा मैले यो काम गरेको देख्न नचाहने भएकोले मलाई त्यति सजिलो थिएन। बुवा छोरीले कानुन पढोस् भन्ने चाहनुहुन्थ्यो। मैले उहाँलाई सबैको आफ्नो करियरको लागि आफ्नै लक्ष्य हुन्छन् र म पत्रकार बन्छु भनेर भन्थे।
रिपोर्टरको रूपमा मैले दुखहरू पाए। मैले कभर गरेको मध्ये सबैभन्दा अप्ठ्यारो स्टोरी भनेको २०२१ को फेब्रुअरी १७ मा गरेको स्टोरी हो। म गोमामा रहेको एभिन्यु पोलीक्लिनिक ३ स्थित एउटा बस्तीमा गए किनकि त्यस क्षेत्रमा बसिरहेका बासिन्दाहरूलाई त्यहाँबाट हटाइँदै थियो। मैले यस बारेमा सोधपुछ गर्न चाहन्थे। म आइपुग्ने बित्तिकै प्रहरी र त्यहाँका जग्गाधानीहरू बिच विवाद भइरहेको भेटे। प्रहरीहरू उक्त सम्पत्तिका धनीहरूलाई त्यहाँ भित्र छिर्न नदिई उनीहरू बाहिर जहाँ छन् त्यही राख्न चाहन्थ्यो। त्यहाँ जग्गाधनीहरूलाई आफ्नो सम्पति फिर्ताका लागि सघाउने प्रदर्शनकारीहरू पनि थिए। म जहाँ थिए त्यहाँ खासै त्यस्तो गतिविधि वा प्रहरी र प्रदर्शनकारी बिच वादविवाद थिएन। त्यसैले अलि चहलपहल भएको अर्को साइड तर्फ गए। त्यहाँ मैले दुई प्रदर्शनकारी तथा दुई प्रहरी वादविवाद गरिरहेको देखे। उनीहरू झगडा गर्न थाले। यी प्रदर्शनकारीले दुई प्रहरीलाई जितिसकेका थिए। त्यसपछि अर्को साइडबाट प्रहरीले गोली प्रहार गर्यो।
"म आजसम्म पनि गोली प्रहारको पिडासहित बाचिरहेकी छु। यो शारीरिक र भावनात्मक दुवै अनुभवबाट बाहिर निस्कन गाह्रो भएको थियो। तर म अझै राम्रो बन्न र यो ट्रमाको बारेमा नसोच्न निकै सङ्घर्ष गरेको छु । " – नानोउ काजाकु
के भइरहेको छ भनेर बुझ्न खोज्दा मलाई गोली प्रहार भयो। मलाई गोली घाँटीको देब्रेतर्फ लाग्यो। गोली छिर्ने वित्तिकै मैले त्यो दबाब महसुस गरे। रगत बग्न थाल्यो। मैल मेरो सहकर्मीलाई रगत बगिरहेको कुरा भने। उसले त्यो देखेको र मलाई सहयोग गर्न लागेको बतायो । हामीले कुरा गर्दासम्म मैले होस गुमाएको थिएन। तर लगत्तै मलाई रिङटा लागेको जस्तो भयो र म भुईँमा लडेँ। मेरो सहकर्मीले मलाई पल्टिन र सहयोगको लागि कुर्न भन्यो। म त्यति बेला ३१ वर्षकी थिए।
म आजसम्म पनि गोली प्रहारको पिडासहित बाचिरहेको छु। यो शारीरिक र भावनात्मक दुवै अनुभवबाट बाहिर निस्कन गाह्रो भएको थियो। तर म अझै राम्रो बन्न र यो ट्रमाको बारेमा नसोच्न निकै सङ्घर्ष गरेको छु ।
यो पीडादायी अनुभवपछि मेरो पत्रकारिताप्रतिको धारणा बदलिएको छ। पहिले मलाई रिपोर्टिङ गर्दा कसरी सुरक्षित रहने भन्ने आइडिया हुँदैन थियो। यो घटनाले मलाई एउटा पत्रकारले सुरुमा आफ्नै सुरक्षालाई ख्याल गर्नुपर्छ भन्ने महसुस गरायो। कुनै ठुला इभेन्टहरू कभर गर्न जाँदा म आजभोलि एक्लै जाँदैन। मलाई सुरक्षित महसुस हुन आफ्ना सहकर्मीहरू सँगै हुनुपर्छ।
तपाईंको लागि प्रेस स्वतन्त्रता भनेको के हो ?
पत्रकारको रूपमा कुरा गर्नका लागि कुनै-कुनै गाह्रो विषयहरू छन्। सुरक्षा र राजनीति त्यस्ता विषयहरू हुन्। उत्तर किभु प्रान्त र खास गरी मेरो क्षेत्रमा प्रेस स्वतन्त्रता एकदम सङ्कुचित छ। पत्रकारहरू सूचनामा पहुँच प्राप्त गर्न सङ्घर्ष गर्नुपर्छ। सरकारी अधिकारीहरूले हामीलाई एकदम गाह्रो बनाउँछन्।
पत्रकारहरू सत्य सूचना प्राप्त गर्न सङ्घर्ष गर्छन् भने नागरिकहरू मिथ्या सूचनाले पीडित भएका छन्। प्रेस स्वतन्त्रता नभएको कारणले न पत्रकार न नागरिकले सूचनामा पहुँच प्राप्त गरेका छन्।
सञ्चार गृहहरूले पत्रकारहरूलाई क्षमता विकासमा सहयोग गर्नुपर्छ। खास गरी युद्ध तथा द्वन्द्वग्रस्त उत्तर किभुमा रहेका पत्रकारहरूको सुरक्षाका लागि विज्ञहरू बोलाएर तालिम दिनुपर्छ। नागरिकहरूले पनि पत्रकारहरूसँग साझेदारी गर्नुपर्छ किनकि पत्रकारहरूले उनीहरूको लागि सूचना पुर्याउने काम गर्छन्।
मलाई लाग्छ मेरो देशमा पत्रकारको भविष्य अन्धकार छ। पत्रकारहरूको कुनै सुरक्षा छैन। उनीहरूको सामाजिक अवस्था एकदम दुखद छ। मिडियाहरूले उनीहरूलाई तलब नदिने भएकोले निःशुल्क काम गर्नु पर्दछ।
वास्तवमा प्रेस स्वतन्त्रता लागु भएको छैन।
यो अन्तर्वार्ता स्पष्टताको लागि सम्पादन गरेर संक्षिप्त बनाइएको हो।
रिपोर्टिङ गर्ने: नोएला नाइँराबिहोगो
नोएला नाइँराबिहोगो प्रजातान्त्रिक गणतन्त्र कङ्गोलागि ग्लोबल प्रेस जर्नलकी सिनियर रिपोर्टर हुन्।
श्रीलंका
भिनोथाइन बालासुब्रमन्य
श्रीलंकाको सूचनाको हक सम्बन्धी ऐनले सरकारी सूचनामा जनताको पहुँच सुनिश्चित गरेको छ। तर जब एक जना सामाजिक अभियन्ताले भ्रष्टाचारको खुलासा गर्न त्यसको प्रयोग गरिन् उनले पीडादायी प्रतिक्रियाहरूको सामना गर्नुपर्यो।
सन् २००९ मा श्रीलंकाको गृहयुद्ध अन्त्यसँगै सञ्चार माध्यमका निम्ति वातावरण निकै अस्थिर भयो, खुला र स्वतन्त्र रूपले प्रकाशन तथा प्रसारण गर्ने उसको क्षमतामा ह्रास आयो। सन् २००५ देखि २०१५ सम्मको महिन्द राजपक्षको राष्ट्रपतीय कार्यकाल सञ्चार माध्यमका लागि कालो अवधि रह्यो। उनको कार्यकाल गृहयुद्धकै समयबाट सुरु भएको थियो। उनको सरकारले पत्रकारहरूमाथि नियन्त्रण गर्ने कदम सुरु गर्यो। विशेषगरी सरकारका कदमको आलोचना गर्नेहरू यसको निशानामा परे। पत्रकारहरूको अपहरण र हत्याका लागि सेता भ्यानहरू प्रयोग गरेका कारण यो अवधिमा राजपक्षको सरकार बदनाम भयो।
रिपोर्टर्स विदाउट बोर्डर्सका अनुसार विगत दुई दशकमा श्रीलंकामा कम्तीमा ४४ जना सञ्चारकर्मीहरू मारिएका वा बेपत्ता पारिएका छन्। यी हत्याले कमिटी टू प्रोटेक्ट जर्नलिष्ट, फ्री प्रेस अनलिमिटेड र रिपोर्टर्स विथाउट बोर्डर्सलाई पत्रकारहरूको हत्याबारे श्रीलंकाको सरकारविरुद्ध सन् २०२२ मा जन अदालतमा मुद्दा लैजान उत्प्रेरकको काम गर्यो। जन अदालत भनेका जनस्तरमा न्याय दिनका लागि नागरिक समाजले स्थापना गरेका विचार न्यायाधिकरण हुन्। यो उजुरीले गृहयुद्धको समयमा सरकारको आलोचना गर्ने एउटा पत्रिकाका प्रधान सम्पादक लसान्थ विक्रमतुङ्गको सन् २००९ मा भएको हत्याबारे चर्चा गर्यो।
सञ्चार अनुगमनकर्ताहरूले सन् २०१५ यता पत्रकार हत्याका कुनै पनि घटनाको अभिलेख नराखे पनि दुर्व्यवहार र धम्की जारी छ। कतिपय घटनामा सरकारले पत्रकारहरूलाई आतङ्कवाद रोकथाम ऐन अन्तर्गत आतङ्कवाद र अपराधको समेत आरोप लगाएको छ। एउटा घटनामा फेसबुकमा सशस्त्र समूह लिबरेसन टाइगर्स अफ तमिल इलमको तस्बिर राखेको आरोपमा प्रशासनले तमिल स्वतन्त्र पत्रकार मुरुगोपिल्ला गोकुलाथासन विरुद्ध सन् २०२० मा आतङ्कवाद सम्बन्धी अभियोग लगायो। सन् २०२२ मा धरौटीमा रिहा गर्नु अघि उनलाई १५ महिना नियन्त्रणमा लिइयो।
नेसनल मिडिया सेन्टर जस्ता सार्वजनिक संस्थानहरूलाई रक्षा मन्त्रालयको मातहतमा राखेर राज्यको सैनिकीकरण गर्ने सरकारको कदमले पनि श्रीलंकामा प्रेस स्वतन्त्रता थप खुम्चिएको छ।
श्रीलङ्कनहरूलाई सूचनाको हक सम्बन्धी कानुनबाट सार्वजनिक निकायमा भएका सूचनामा पहुँचको सुनिश्चितता गरिएको छ। तर धेरै नागरिकहरू यो नीतिबारे जानकार छैनन्। बावुनियामा रहेर यो कानुनबारे सचेतना जगाउँदै आएकी भिनोथाइन बालासुब्रमन्यमले प्रत्यक्ष रूपमै धम्कीको सामना गर्नुपर्यो। यहाँ बालसुब्रवन्यमले सरकारको भ्रष्टाचारलाई बहसमा ल्याइदिएका कारण खेप्नुपरेको दुर्व्यवहारबारे सुनाएके कथा प्रस्तुत छ।
मेरो नाम भिनोथाइन बालासुब्रमन्यम हो र म वावुनियामा बस्छु। म एक सामाजिक अभियन्ता हो। मेरो पृष्ठभूमि सञ्चार उद्यममै काम गरेको भए पनि मैले एउटा गैर सरकारी संस्थामा सूचनाको हक (आरटीआई) बारे जनचेतना फैलाउने स्रोत व्यक्तिको रूपमा काम गरेँ। मैले गाउँमा स-सानो समूहमा छलफलहरू गरेर र मसँग भेट्न आउने मानिसहरूलाई यो कानुनमा रहेका विषयहरूबारे सहयोग गरेर यो काम अघि बढाएँ।
मैले जागिरको सिलसिलामा व्यापक समस्याहरूको सामना गर्नुपर्यो। मेरो कामको प्रकृतिका कारण पनि सरकारी कार्यालयहरूमा मलाई नआइदिए हुन्थ्यो जस्तो गरिन्छ। धेरै मानिसहरूलाई म र मेरे कामका बारेमा अन्योल छ र ती मैले अरूलाई प्रश्न सोध्न उक्साउने भन्दै मलाई शत्रुको रूपमा हेर्छन्।
सन् २०१८ को एउटा प्रसङ्ग हो, एक जनालाई गृह युद्धमा जमिन गुमाएका कारण दिइने क्षतिपूर्तिका लागि पुनर्स्थापना प्राधिकरणले ब्यूरो अफ रिहाबिलिटेसन फारम दिइएको रहेछ। धेरै मानिसहरूले क्षतिपूर्तिका लागि निवेदन दिएका थिए तर पैसा कहिल्यै आएन। जब यो गुनासो हाम्रो कार्यालयमा आयो मैले पुनर्स्थापना प्राधिकरणमा ती गुनासोकर्ताको तर्फबाट यसबारे सूचना मागेँ। मैले त्यो निवेदनबारे उनीहरूले कस्तो कदम चालेका थिए भनेर जान्न खोजेँ। प्राधिकरणले अमिल्दो जवाफ दियो।
तर पछि पुनरावेदन दिए पछि ती व्यक्तिले क्षतिपूर्ति पाए। त्यसपछि हामीले त्यो गाउँका १२० जना मानिसहरूलाई सूचनाको हक सम्बन्धी निवेदन दिन सहयोग गर्यौँ। प्राधिकरणका ब्यूरो अफ रिहाबिलिटेसन प्रमुखले त्यस बेला मलाई औँला तेर्स्याएर मानिसहरूलाई उचाल्ने काम मेरो नभएको भन्दै चेतावनी दिएका थिए। .
"सामाजिक सञ्जालमा मेरा बारे धेरै हल्लाहरू चलाइए। पुरुषको तुलनामा एक जना महिला मैदानमा उत्रिँदा उनको चरित्रमा प्रश्न उठाउने प्रवृत्ति छ। " – भिनोथाइन बालासुब्रमन्य
मैले मेरो पेसाको दौरान सन् २०१८ मा धेरै दबाब सामना गरेँ। मेरोबारे सामाजिक सञ्जालमा धेरै हल्लाहरू फैलाइए। पुरुषको तुलनामा एक जना महिला मैदानमा उत्रिँदा उनको चरित्रमा प्रश्न उठाउने प्रवृत्ति छ।
एउटा उदाहरण सुनाउँछु। एक जना व्यक्तिले वावुनिया डिभिजनल सेक्रेटरियटमा जग्गाको भ्रष्टाचार काण्ड खुलासा गरे। मैले सूचनाको हक प्रयोग गरेर सके जति सूचना उनलाई दिएँ। मानिसहरूले कतैबाट म पनि यो खुलासामा संलग्न भएको थाहा पाए।
मेरो बारे धेरै फेसबुक पेजहरू बनाइए। उनीहरूले मेरो एउटा पारिवारिक तस्बिर पनि त्यसमा राखे। उनीहरूले मेरा श्रीमान्को फोटो भएको ठाउँमा मैले सहयोग गरिरहेका व्यक्तिको फोटो राखिदिए। अनि मैले सहयोग गरिरहेका व्यक्तिले म सँग यौन सम्बन्ध राखेको हल्ला फैलाउन सुरु गरे। मेरो जीवनमा यस्तो खाले घटना यो पहिलो थियो र त्यसले मलाई निकै दुःखी बनायो।
हामी प्रगतिशील परिवार भए पनि हामी भावनात्मक रूपमा पक्षाघात भएजस्तै अनुभव भयो। यद्यपि साहस बटुलेर र परिवारबाट ठूलो सहयोग पाएर म सम्हालिएँ। उनीहरूले के लेखे भनेर हामीले वास्ता गरेनौँ। हाम्रो पूरै ध्यान ती सरकारी अधिकारीको भ्रष्टाचार रोक्ने र खुलासा गर्नेमा लगायौँ। जग्गामा भ्रष्टाचार भएको पुष्टि भयो र ती अधिकारी बर्खास्त भए। जब उनीमाथिको अभियोग पुष्टि भयो ती सबै भ्रामक फेसबुक पेजहरू बन्द भए। यो घटनापछि मैले कसले के हल्ला फैलाइरहेको छ भन्दा आफ्नो काममा केन्द्रित हुनुपर्ने रहेछ भन्ने निष्कर्ष निकालेँ।
तपाईंको लागि प्रेस स्वतन्त्रता भनेको के हो ?
सन् २०१७ मा सूचनाको हकको स्रोत व्यक्तिको रूपमा काम गर्न सुरु गरेयता मैले धेरै अनलाइन आक्रमणहरू सामना गरेकी छु। मेरो बच्चाको तस्बिर पनि फेसबुकमा फैलाइएको थियो। सुरुमा मैले कारबाही गर्न माग गर्दै प्रहरीमा उजुरी दिएँ। हिजोआज मैले यस्ता कुराहरूलाई गम्भीरतापूर्वक लिनै छोडिदिएकी छु। म आफ्नो समय खेर फाल्न चाहन्नँ।
म श्रीलंकामा सञ्चार माध्यमलाई स्वतन्त्रता छ भन्न सक्दिनँ किनभने निश्चित सूचनाहरूको खुलासा र प्रकाशन गरेकै कारण उनीहरूलाई धम्की दिने र अनुसन्धान गर्ने भइरहेको छ। हुनसक्छ त्यही कारण पत्रकारहरू खुलासा गर्न सङ्कोच मान्छन्। यहाँ सूचनाहरू प्रकाशनका लागि पर्याप्त मञ्चहरू पनि छैनन्। उदाहरणका लागि यदि मैले नै सूचनाको हक प्रयोग गरेर भ्रष्टाचार पत्ता लगाएँ र त्यसको प्रमाण दिएँ भने सञ्चार माध्यमले त्यो सधैँ प्रकाशित गर्दैन। यस्तो अवस्थामा म त्यसबारे आफ्नो फेसबुक पेजमा लेख्ने गर्छु।
सञ्चार स्वतन्त्रतामा बन्देजले मानिसहरूले सही सूचना पाउने र सही समयमा समाचार पाउने कुरालाई प्रभाव पार्छ। त्यसको परिणाम देशमा भइरहेका कुराबारे मानिसहरू सचेत नहुन सक्छन्। सन् २०१९ को अप्रिलमा इस्टर मनाइरहँदा जब श्रीलंकामा बम हमला भयो त्यस बेला देशैभर सामाजिक सञ्जालहरू पुरै बन्द गरिए। त्यो समयमा मानिसहरूले देशमा के भइरहेको छ भन्ने थाहा पाउने निकै ठूलो कठिनाइ सामना गर्नुपर्यो।
मानिसहरूले सामाजिक अभियन्ता र पत्रकारहरूमाथि धम्की आउँदा उनीहरूको पक्षमा उभिएर अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न सक्छन्। हामीले मानिसहरूलाई कानुन के हो र त्यसको प्रयोग गरेर उनीहरूले के कति गर्न सक्छन् भनेर जागरूक बनाउनुपर्छ।
सँगसँगै सञ्चारकर्मीहरू र जनताबीचको खाडल पनि पुर्नुपर्छ। सँगसँगै उनीहरूले धेरै उपलब्धि हासिल गर्न सक्छन्। यदि पत्रकार वा सामाजिक अभियन्ताले कुनै कुरा खुलासा गरेकै कारण व्यक्तिगत रूपमा कुनै समस्या खेप्नुपर्यो भने जनता उनीहरूको पक्षमा खडा हुनुपर्छ।
अन्त्यमा, महिलाहरूलाई सञ्चार माध्यममा धेरै अवसर दिइँदैन। उनीहरूलाई जागिर दिइए पनि धेरैजसो सञ्चार गृहमा प्रशासनिक काममा मात्रै महिलालाई योग्य ठानिन्छ। महिलाहरूलाई सूचनाहरू सङ्कलनका लागि मैदानमा जाने अवसर दिइनुपर्छ। यो उद्योगमा पनि लैङ्गिक विभेद छ। सञ्चार उद्यममा महिलाहरूलाई सुहाउँदो पहिचान दिइनुपर्छ।
यो अन्तर्वार्ता स्पष्टताको लागि सम्पादन गरेर संक्षिप्त बनाइएको हो।
रिपोर्टिङ गर्ने: थायालिनि इन्द्रकुलार्सा
थायालिनि इन्द्रकुलार्सा श्रीलंकाको उत्तरी प्रान्तस्थित भभुनिया सहरमा रहेकी ग्लोबल प्रेस रिपोर्टर हुन्।
नेपाल
दिलीप पौडेल
उनको रिपोर्टिङको प्रभाव स्वरूप एउटा सार्वजनिक संस्थानको कार्यकारी निर्देशक बर्खास्त भए। त्यसपछि उनले मुद्दा तथा ज्यान मार्ने धम्कीहरू भोग्नु पर्यो।
नेपालमा सन् १९९० मा बहुदलीय प्रजातन्त्र र सन् २००८ मा सङ्घीय गणतन्त्रको स्थापना भएसँगै पत्रकारिता स्वतन्त्रताको सुनिश्चित गर्ने बलिया कानुन तथा व्यवस्थाहरू लागू भए। तीनले समाचारपत्र, म्यागजिन तथा ब्रोडकास्ट स्टेसनहरूको वृद्धिलाई टेवा पुर्याए।
तर मिडिया क्षेत्रमा चरम राजनीतिकरण छ। थुप्रै सञ्चार माध्यमहरू राज्य तथा राजनीतिक दलहरूको स्वामित्वमा छन्। स्वतन्त्र पत्रकारिताको लागि स्पेस थोरै छ।
मानव अधिकारको वकालत गर्ने नेपाली गैर सरकारी संस्था फ्रिडम फोरमको एक रिपोर्टले मे २०२२ र अप्रिल २०२३ बिचमा भएका चार गिरफ्तारी सहित ४० प्रेस स्वतन्त्रता उल्लङ्घनहरूलाई दस्तावेजीकरण गरेको छ।
फ्रिडम फोरमले सञ्चार माध्यमका सम्पादकीय नीतिहरूमा आफ्नो कार्यादेश नाघेर हस्तक्षेप गरेको भन्दै सरकारी नियामक निकाय प्रेस काउन्सिल नेपालको पनि आलोचना गरेको छ। प्रेस काउन्सिल नेपालले हालसालै एउटा अनलाइन समाचार पोर्टललाई ब्लक गर्न निर्देशन दिएको थियो। उक्त कदमको फ्रिडम फोरमले विरोध गरेको थियो।
सन् २०१७ मा नागरिक दैनिक पत्रिकाको रिपोर्टर दिलीप पौडेलले नेपालको सरकारी संस्थान नेपाल आयल निगममा भएको भ्रष्टाचारको खुलासा गर्दै एउटा स्टोरी प्रकाशन गरेपछि ज्यान मार्ने धम्की तथा कानुनी मुद्दा झेल्नु पर्यो। उक्त स्टोरी प्रकाशन भएपछि संस्थानका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्का बर्खास्त भएका थिए।
सन् २०२० मा काठमाडौँको एक घरधनीले गर्भवती महिलालाई कोभिड-१९ लागेको शङ्कामा डेराबाट जबरजस्ती निकाला गरिएको स्टोरीका कारण पौडेलले सामाजिक सञ्जाल र फोनमा धम्कीहरू सामना गरे।
पौडेलले यहाँ नेपालमा प्रेस स्वतन्त्रताका चुनौतीहरू सामना गर्दाको अनुभव सेयर गर्छन्।
मदिलीप पौडेल हो। मेरो घर नेपालको बागलुङ जिल्लाको जैमिनी नगरपालिका वडा नम्बर ८ पर्छ। म अहिले काठमाडौँमा बसेर पत्रकारिता गर्दै छु ।
म नागरिक दैनिकमा सन् २००९ देखि काम गर्दै आइरहेको छु । हाल म यो पत्रिकाको आर्थिक ब्युरोको प्रमुख छु। मैले पत्रकारिता पेसा ग्रामीण क्षेत्रका समस्याहरूलाई उजागर गर्नको लागि छनौट गरे। मैले नीति निर्माता, राजनीतिक नेतृत्व, ब्युरोक्रेसीलाई अलि जबाफदेही बनाउन सकिन्छ कि भनेर भ्रष्टाचारका विषयमा लेख्न सुरु गरे।
नेपाल सरकारको स्वामित्व रहेको सार्वजनिक संस्थान नेपाल आयल निगमको एउटा जग्गा खरिद प्रकरणमा भएको ठुलो करोडौँ घोटालाको बारेमा लेख्दा मैले कैयौँ धाक धम्कीहरू सहनुपर्यो। तत्कालीन आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कासहित केही बिचौलियाहरू यो केसमा संलग्न थिए। उनीहरूले त्यो सूचना लुकाउन धेरै प्रयास गरे। मैले स्थलगत रिपोर्टिङ गरेर त्यो स्टोरी ब्रेक गरेँ ।
नेपाल सरकारले यस घोटालाका बारेमा अनुसन्धान गरेपछि खड्का आफ्नो पदबाट बर्खास्त भएका थिए। यही विषयमा अख्तियार अनुसन्धान आयोगले पनि अनुसन्धान गर्यो र अठार करोड रुपैयाँ माग दाबी सहित विशेष अदालतमा मुद्दा दायर गर्यो। तर यसबारेमा अन्तिम फैसला अझै आइसकेको छैन।
"पत्रकारहरूले भ्रष्टाचारको केसहरूमा रिपोर्टिङ गर्ने क्रममा तयारी व्यापक रूपमा गर्नुपर्छ र टिमको रूपमा काम गर्नुपर्छ।" – दिलीप पौडेल
खड्कामाथि कारबाही हुनुभन्दा पहिले मैले उनलाई नेपालको प्रशासनिक केन्द्र सिंहदरबारमा भेटे। “त परिवार भएको मान्छे हो। त्यसैले सजग बन्,” त्यहाँ उनले मलाई धम्काए।
मलाई मेरो परिवारको माया लाग्छ। तर निरन्तर मान्छे लगाएर वा फोनबाट दिइएका धम्कीहरूले मनोवैज्ञानिक त्रास दियो। मेरो एउटा छोरी र श्रीमती छन् । त्यो उनीहरूको लागि पनि यातनादायी थियो। म आफ्नो लोकेसन छाड्न र घरभन्दा बाहिर गएर बस्न बाध्य भएको थिए। उनीहरूले म लगायत मेरो सम्पादकीय टिमलाई ८० करोड रुपैयाँ माग दाबी गरेर मुद्दा समेत हाले। तर हामी त्यसबाट विचलित भएनौँ । हाम्रो स्रोतप्रति हामी विश्वस्त थियौँ । हामी सत्य र तथ्य उजागर गरिरहेका थियौँ ।
अहिले पनि नेपाल आयल निगमको यो मुद्दामा सरकारी साक्षीहरूले बयान दिने क्रम चलिरहेको छ। त्यसैले मेरो असुरक्षा कम भएको छैन। यद्यपि यसको मुद्दा दायर भएपछि अहिले अलि सहज भएको छ।
राजनीतिक दलका प्रमुख नेताहरू तथा डनहरूको पनि यो जग्गा खरिद घोटाला प्रकरणमा संलग्नता थियो । उनीहरूको बारम्बार फोन कल तथा धम्कीहरूले मलाई असुरक्षित महसुस गरायो। तर पनि मैले रिपोर्टिङ रोकेन।
तपाईंको लागि प्रेस स्वतन्त्रता भनेको के हो ?
त्यसै गरी कोभिडको समयमा गर्भवती महिलालाई डेराबाट निकाला गरिएको मेरो स्टोरी प्रकाशन भएपछि उक्त घरधनी तथा अरुहरूले मेरो तस्बिरलाई कालो मोसो लगाएर सामाजिक सञ्जालभर सेयर गरे।मलाई बारम्बार दुर्व्यवहार तथा अपमान गर्ने प्रयासहरू भएका थिए।
कीर्तिपुर आसपास विश्वविद्यालय क्षेत्र भएकोले त्यहाँ धेरै मान्छे डेरा गरेर बस्छन्। मैले गरेको स्टोरीको कारणले त्यस क्षेत्रमा बस्ने स्थानीयहरूले आफ्नो चरित्र हत्या भयो भन्ने ठाने।
सशस्त्र द्वन्द्वको समयमा राज्यले धेरै पत्रकारको हत्या भयो। धेरैलाई लगेर यातना दियो। पछिल्लो समय त्यो अवस्था छैन तर स्वार्थ समूहहरूले भ्रष्टाचारको विषयमा लेख्दा तर्साउने प्रयास गर्छन्।
यस्ता कुराले प्रेस स्वतन्त्रतामा समस्या सिर्जना गर्छ। यसमा राजनीतिक नेतृत्व पनि संलग्न छन् । सञ्चारमाध्यमलाई बदनाम गर्ने र सूचनाको स्रोतहरू माथिको पहुँच रोक्ने प्रवृत्ति अझै व्याप्त छ। राज्यका निकायले आफूलाई चित्त बुझेन भने साइबर कानुन लगाएर पत्रकारहरू पक्राऊ गर्ने केसहरू पनि आएका छन्।
राजनैतिक दलहरूले सार्वजनिक अभिमतलाई प्रभावित गर्न आफ्ना कार्यकर्ताहरू प्रयोग गरेर सामाजिक सञ्जाल मार्फत अन्योल सिर्जना गर्ने र अनुकूल सूचना सम्प्रेषण गर्ने प्रयास गर्छन्। यदि आफ्नो राजनैतिक दलको नेताको इच्छा विपरीतको केही समाचार प्रकाशित भएको छ भने सामाजिक सञ्जालमा पत्रकारको चरित्रहत्या गर्न दलको साइबर सेना प्रयोग गरिन्छ। यसले राजनीतिकरण र अपराधीकरण झाँगिन्छ।
पत्रकारहरूले भ्रष्टाचारको केसहरूमा असुरक्षा हुने भएकोले रिपोर्टिङ गर्ने क्रममा तयारी व्यापक रूपमा गर्नुपर्छ र टिमको रूपमा काम गर्नुपर्छ। व्यक्तिले एक्लै काम गर्दा स्रोतहरूमा सीमित पहुँच हुने, भेरिफिकेसन गर्न कठिनाइ हुने र विभिन्न प्रकारका जोखिमहरू आउने हुनसक्छ। आफूलाई भएको खतराहरू सुरक्षा निकायलाई जनकारी दिँदा र सम्पादकीय नेतृत्वसँग समन्वयमा काम गर्दा सहयोग पुग्छ।
मैले सन् २०१७ मा नेपाल आयल निगमको जग्गा खरिद घोटाला प्रकरणबारे लेख्दा भ्रष्टाचार बारेको स्टोरीहरू कम आउँथे। उक्त समाचार प्रकाशनको परिणाम अरू पत्रकारहरूको आत्मबल पनि बढेको थियो।
यदि हामीले नागरिकहरूलाई सुसूचित गर्ने आफ्नो जिम्मेवारी पूरा गरेनौँ भने त्यसले समाजमा विसङ्गतिलाई प्रश्रय दिनेछ र भ्रष्टाचार तथा अनियमितता बढ्नेछ।
यो अन्तर्वार्ता स्पष्टताको लागि सम्पादन गरेर संक्षिप्त बनाइएको हो।
रिपोर्टिङ गर्ने: यामकुमारी कँडेल
यामकुमारी कँडेल काठमाडौँमा रहेकी ग्लोबल प्रेसकी एसोसियट रिपोर्टर हुन्। उनले ग्लोबल प्रेसका लागि आप्रवासन र मानव अधिकारका मुद्दाहरू कभर गर्छिन् । यामले त्रिभुवन विश्वविद्यालयबाट कानुन विषयमा स्नातक गरेकी छिन् । ग्लोबल प्रेसमा काम सुरू गर्नुभन्दा पहिले उनले राष्ट्रिय समाचार समितिमा काम गर्थिन्। रिपोर्टिङको काम बाहेक उनी घुम्न र विश्वभरका संस्कृतिहरू हेर्न मन पराउँछिन्।
जाम्बिया
जोन चिरवा
जाम्बियाको नयाँ राष्ट्रपतिको नेतृत्वमा त्यहाँको प्रेस स्वतन्त्रतामा सुधार आएको छ। यद्यपि हाल सञ्चालनमा नरहेको दि पोस्ट नामक अखबारका पूर्व प्रबन्ध सम्पादक जोन चिरवा अझै पनि देशमा लागू हुनसक्ने दमनकारी साइबर कानुन र सेन्सरसिपलाई लिएर चिन्तित छिन्।
जाम्बियाका राष्ट्रपति हकाइन्दे हिचिलेमाले देशको प्रेस स्वतन्त्रतामा सुधार ल्याउन केही कदम चालेका छन्। सन् २०२२ मा उनले एउटा यस्तो नियमलाई खारेज गरेका थिए जुन नियमले राष्ट्रपतिको अपमान वा उपहास गर्न प्रतिबन्ध लगाएको थियो।
हिचिलेमा भन्दा अगाडि अर्थात् सन् २०१५ देखि २०२१ सम्म राष्ट्रपतिको जिम्मेवारी सम्हालेका एडगर चाग्वा लुङ्गुले पत्रकारलाई आफ्नो निगरानीमा राख्न यो नियमको धेरै प्रयोग गरेका थिए। उनको नेतृत्वको सरकारले यही नियमलाई लागू गर्दै पत्रकार द्वय फ्रेड मान्या र स्टेभन फिरिलाई सन् २०१८ को मार्च र २०१९ को मार्च महिनामा राष्ट्रपति लुङ्गुको अपमान गरेको भन्दै पक्राउ गरेको थियो। एमनेस्टी इन्टरनेसनलका अनुसार मान्यालाई तिन वर्ष र फिरिलाई एक वर्षको लागि कैद गरिएको थियो।
लुङ्गु राष्ट्रपति भएको पहिलो वर्षमा नै सरकारले कर बक्यौता नतिरेको आरोपमा देशको एक प्रसिद्ध अखबार दि पोस्ट बन्द गर्यो। सरकारप्रति आलोचनात्मक यो पत्रिका आफ्नो कामको कारण परिचित थियो। सन् २०२० मा सरकारले एक निजी प्रसारण नेटवर्क, प्राइभ टिभीको अनुमतिपत्र कुनै कारण पनि नदेखाई खारेज गर्यो ।
हिचिलेमाको नेतृत्व सुरु भएदेखि नै कुनै पत्रकार कैद भएका छैनन्, तर प्रेस स्वतन्त्रता अझै पनि सङ्घर्षको स्थितिमा नै छ । पत्रकारहरू अझै पनि कमजोर अर्थतन्त्रको प्रभावसँगै अन्य धेरै अवरोधहरूको सामना गर्न बाध्य छन्। दण्ड संहितामा सुधार भए तापनि २०२१ को मार्चमा डिजिटल मिडियालाई दबाउनको लागि लागु भएको साइबर सुरक्षा र साइबर अपराध ऐन हिचिलेमाले प्रयोग गर्न सक्ने केही मिडियाकर्मीहरूको चिन्ता छ।
सन् २०१६ मा सरकारले राष्ट्रपतिको बदनाम गरेको आरोपमा बन्द गराएको अखबार दि पोस्टकी प्रबन्ध सम्पादक जोन चिरुवाको विचारमा अहिलेको नियम त्यति धेरै नकारात्मक नभए तापनि यसले केही हदसम्म पत्रकारलाई बन्देज लगाउन सक्दछ। जोन चिरुवा उक्त आरोपमा पक्राउ पनि परेकी थिइन् । ग्लोबल प्रेस जर्नलसँगको कुराकानीमा प्रेस स्वतन्त्रता सम्बन्धी आफ्नो धारणा सेयर गर्छिन्:
रो नाम जोन चिरुवा हो । मैले पत्रकारको रूपमा करिब २० वर्ष काम गरिसकेको छु। मैले मेरो पेसागत यात्रा रेडियो पत्रकारको रूपमा सुरुवात सुरुवात गरेको थिए। त्यसको एक वर्षपछि नै म दि पोस्ट पत्रिकारमा आबद्ध भएकी हुँ। [तत्कालीन सरकाले] उक्त पत्रिका बन्द गराउने समय अर्थात् सन् २०१६ सम्म मैले सो पत्रिकाका लागि काम गरे। त्यति बेलासम्म म उक्त पत्रिकाको प्रबन्ध सम्पादक भइसकेकी थिए।
म अहिले एउटा गैरनाफामूलक संस्था ‘फ्रि प्रेस इनिसियटभ’ को संस्थापक र कार्यकारी अध्यक्षको रूपमा काम गरिरहेकी छु। यो संस्थाले प्रेस स्वतन्त्रताको लागि काम गर्ने गर्छ। हामी पत्रकारहरूलाई तालिम दिनेसँगै मानव अधिकारको लागि पनि काम गर्ने गर्छौँ। किनभने यी दुवै कुरा अन्तर सम्बन्धित छन् भन्ने कुरामा हामीलाई विश्वास छ। ‘कमिटि टु प्रोटेक्ट जर्नलिस्ट’ नामक एक गैरनाफामूलक संस्थाका लागि दक्षिण अफ्रिकाको संवाददाताको रूपमा पनि म काम गरिरहेकी छु। मेरा अनुभवहरूले मलाई मैले गरिरहेको काम भन्दा नितान्त फरक काम गर्नको लागि प्रेरित थियो र त्यो हो: कानुन पढ्नु।
डिजिटल पत्रकारिता र सामाजिक सञ्जालले पारम्परिक रूपमा काम गर्ने पत्रकारहरूको कामलाई प्रतिस्थापन गरेको छ । यसले गर्दा पत्रकारिताको क्षेत्रमा पनि परिवर्तन आएको छ। मानिसहरूलाई अनलाइनका नागरिक पत्रकार र प्रशिक्षित पेसाकर्मीबिच कसरी फरक छुट्टाउने भन्ने जानकारी छैन। त्यसैले, फ्रि प्रेस इनिसियटिभमा हामी पत्रकारलाई प्रशिक्षण गराउने पुनः तालिम दिने लगायतका गतिविधिहरू गर्छौँ जसले तथ्यपरक सूचना उत्पादन गर्नको लागि सहयोग गर्छ।
एक पत्रकारको नाताले मलाई प्रहरीले धेरै पटक सोधपुछको लागि बोलाएको छ। उदाहरणको लागि दि पोस्ट पत्रिकामा सार्वजनिक भएका केही समाचारको विषयमा मेरो बयान लिनका लागि प्रहरीले मलाई बोलाएको थियो। राष्ट्रपतिको अपमान गरेको भन्दै मलाई अप्रिल, २०१६ मा प्रहरीले पक्राउ पनि गरेको थियो । यो मुद्दा अझै पनि अदालतमा चलिरहेको छ। यो मुद्दाका लागि हामीलाई एक पटक मात्र [अदालतमा] उपस्थित गराइएको थियो । यसपछि भने [सरकार] मौन बस्यो।
"अरूको अधिकारको लागि लड्ने पत्रकार आफ्नो लागि पनि लडिरहेका छन्, यो आफैमा दुखद स्थिति हो। " – जोन चिरवा
सरकार पत्रकारलाई दबाउन खोज्छ। सरकार चाहन्छ कि पत्रकार उसको डरमा बसोस् । यसले गर्दा केही [पत्रकारहरू] बाध्य भएर आफ्नो समाचार प्रकाशन नगरी बस्छन् । किनभने उनीहरू सरकारको यो प्रकारको शोषणका लागि तयार हुँदैनन् ।
यसबाट गुज्रिएका धेरै पत्रकारहरूले पनि यस्तै समस्या भोगेका छन्। यही कुराले मलाई मेरो संस्था फ्रि प्रेस इनिसिएटभ सुरु गर्नको लागि प्रेरित गरेको थियो। किनभने हामी हाम्रो संस्थाबाट धेरै भन्दा धेरै पत्रकारलाई सहयोग गर्न चाहन्छौँ, विशेष गरी युवा पत्रकारहरूलाई। हामी उनीहरूलाई देखाउन चाहन्छौँ कि उनीहरू अझै पनि काम गर्न सक्छन् र यो क्षेत्रमा कतैबाट पनि कुनै पनि प्रकारको धम्कीको विषयमा चिन्ता नगरी आफ्नो काम गर्न सक्छन्।
मैले सुरुमा उल्लेख गरेका विभिन्न डरका कारण नै तपाईँ बलियो भएर लड्न सक्नुहुन्न । साथै तपाईँ केही परिणामहरू भोग्नको लागि तयार हुनुहुन्न । विशेष गरी तपाईँ त्यस्तो मानिसको सामना गर्नको लागि तयार हुन सक्नुहुन्न जो सँग सरकारको साथ छ र जसले तपाईको अनुमति पत्र खारेज गरिदिन सक्छ वा तपाईको संस्था नै बन्द गरिदिन सक्छ ।
दुखका साथ भन्नुपर्छ कि हामीसँग यस्तो कानुन छ, साइबर सुरक्षा र साइबर अपराध ऐन, जसले प्रेस स्वतन्त्रतालाई चुनौती दिन्छ । यो कानुन पूर्ण रूपमा नराम्रो भन्ने त होइन, तर यसमा केही यस्ता नियमहरू छन् जुन प्रेस स्वतन्त्रताको विरुद्धमा छ । यो [नयाँ कानुनका] अनुसार सरकारले कुनै पनि व्यक्ति चाहे त्यो पत्रकार नै किन नहोस्, उसले कोसँग कुरा गरिरहेको छ भनेर थाहा पाउन सक्ने अधिकार राख्दछ ।
तपाईंको लागि प्रेस स्वतन्त्रता भनेको के हो ?
कतिपय समयमा तपाईँले मिडिया प्लेटफर्म चलाइरहेका यस्ता व्यक्तिहरू पनि भेट्नुहुन्छ जसलाई एक व्यावसायिक कार्यकारीले धेरै नियन्त्रणका साथ लगानी गरिरहेको हुन्छ । अब, यदि तपाईँको समाचारले उक्त ठुला व्यवसायीको विचारलाई प्रभावित गर्न सक्छ भने सो समाचार सार्वजनिक नगर्नको लागि तपाईँले भनिनेछ । त्यसैले [सेन्सरसिप] भन्ने कुरा नराम्रो कानुनबाट मात्र पनि आउँदैन । सेन्सरसिप भन्ने कुरा कहिलेकाहीँ लुकेर बसेका यस्तै केही व्यक्तिगत स्वार्थबाट पनि पत्रकारितामा आउने गर्छ । यो कहिलेकाहीँ कुनै राजनीतिक शक्तिबाट आउन सक्छ । उनीहरू आफ्नै टेलिभिजन स्टेसन वा प्रकाशन संस्था सञ्चालन गर्न सक्ने क्षमता राख्दछन् । यसैले, उनीहरूको मुख्य लक्ष्य भनेको नै आफ्नो एजेन्डालाई प्रचार गर्नु भन्ने हुन्छ ।
सरकारलाई पत्रकार कति शक्तिशाली हुन्छ, मिडिया कति शक्तिशाली हुन्छ भनेर थाहा छ। तपाईँले गर्ने कामलाई नियन्त्रण गरेर तपाईँको संस्था सञ्चालन गर्न आवश्यक स्वतन्त्रतालाई अस्वीकार गर्नको लागि उनीहरू मौका खोजिरहेका हुन्छन्। यसले तपाईँभित्र उनीहरूको डरको जरो गाड्न मद्दत गर्छ । यसले तपाईँलाई एउटा कुराको याद दिलाइरहन्छ, “यदि तिमिले यो सीमा पार गर्यौ भने हामी तिमी भएतिर आउनेछौँ।” यद्यपि यो काम [पत्रकारले] गैर कानुनी काम गरेको भएर हुने भने होइन।
यदि तपाईँलाई सूचना कसरी सङ्कलन गर्ने, कसरी समाचार तयार गर्ने र त्यसलाई कसरी प्रचार गर्ने भन्ने विषयमा अरू कसैले भन्नुपर्छ भने मलाई लाग्छ तपाईँलाई पत्रकार नभइ अरू कुनै शब्दले सम्बोधन गर्नुपर्छ। किनभने यी सबै कामहरू कसैको आदेश बिना तपाईँले गर्न सक्ने भएको कारण नै तपाईँ पत्रकार हुनुभएको हो।
तपाईँ जनताप्रति जबाफदेही हुनुहुन्छ। मानिसहरूलाई उनीहरूको जीवनमा पत्रकारले ठुलो भूमिका खेल्छ भनेर जानकारी दिनको लागि केही मिहिनेत गर्नुपर्नेछ। उदाहरणको लागि यदि कुनै पत्रकारलाई कुनै आक्रमण हुन्छ भने यो उसको मात्र समस्या हुनुहुँदैन। यसमा उसले काम गर्ने संस्था तथा [अन्य] मिडिया संस्थाले उसको लागि बोल्नुपर्छ । यो यस्तो मुद्दा हुनुपर्छ जसको लागि समाजले आवाज उठाओस् र पत्रकारको सुरक्षाको लागि माग राखोस्।
यो दुःखको कुरा हो कि पत्रकारले अरू सबै लागि लड्नुपर्छ र आफ्नो लागि पनि आफै लड्नुपर्छ।
यो अन्तर्वार्ता स्पष्टताको लागि सम्पादन गरेर संक्षिप्त बनाइएको हो।
रिपोर्टिङ गर्ने: प्रुडेन्स फिरी
प्रुडेन्स फिरी जाम्बियाको लुसाकामा रहेर काम गर्ने ग्लोबल प्रेस जर्नलकी रिपोर्टर हुन्। उनी विशिष्ट र आश्चर्य जनक एङ्गल सहित स्वास्थ्य र शिक्षाका स्टोरीहरूमा दक्खल राख्छिन्।जाम्बियाको राजधानीमा जन्मेर हुर्केकी प्रुडेन्सले एभिलिन होन कलेजबाट पत्रकारितामा डिप्लोमा गरेकी छिन्। उनको जाम्बियामा परम्परागत यौन व्यवहारले पारेको स्वास्थ्य प्रभाव बारेको कभरेज विश्वभरका १०० भन्दा धेरै देशहरूमा पढिएका र सिन्डिकेट मार्फत प्रकाशन भएका छन् ।
(ग्लोबल प्रेस जर्नलबाटः शक्तिशाली व्यक्तिगत वर्णन तथा बृहत् तथ्याङ्कका माध्यमबाट ग्लोबल प्रेस जर्नलले विश्वभरका साहसी ११ स्थानीय पत्रकार तथा अभियन्ताहरूको नभनिएको कथाहरू शेयर गर्दछ।)