पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीको तत्कालीन सराङकोट गाविसका अध्यक्षविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ ।
सराङकोटस्थित सरकारी जग्गा अनधिकृत तवरले बिक्री वितरण गरेको भन्दै पूर्वगाविस अध्यक्ष मोदनाथ रेग्मी र झपटबहादुर थापासहितका जनप्रतिनिधि तथा कर्मचारीविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता भएको हो ।
तत्कालीन गाविस अध्यक्षद्वय रेग्मी, थापा, वडा सदस्य ऐमबहादुर थापा, तत्कालीन गाविस सचिव मानबहादुर थापा, तत्कालीन उपभोक्ता समितिका अध्यक्ष भरतबहादुर थापा र दीलबहादुर गुरुङविरुद्ध मुद्दा दायर गरिएको हो ।
उनीहरूविरुद्ध बिगोबमोजिमको जरिवाना तथा हानि नोक्सानी दुरुपयोग गरेको सम्पत्ति असुलउपर गर्न माग गरिएको छ ।करिब ५/६ रोपनी सार्वजनिक जग्गा मिचेर नक्सा पास नगरी घर निर्माण गरेको भन्ने उजुरी परेको थियो ।
सोही उजुरीको अनुसन्धान गर्दा तत्कालीन गाविसका जनप्रतिनिधिहरू बाटो बनाउन बजेट व्यवस्था गर्ने नाउँमा कानूनले प्रदान नगरेको अधिकार प्रयोग गरी सरकारी जग्गा वडास्तरीय भेला गरी गराई बढीबढाउ टेण्डर आव्हान गरी बोलकबोल गर्नेबाट प्रस्ताव गरिएको देखिएपछि अख्तियारले उनीहरूमाथि मुद्दा चलाएको हो ।
हाल उक्त सरकारी जग्गामा स्थायी संरचना निर्माण गरी सरकारी जग्गा निजी प्रयोगमा लगाएको देखिँदा गैरकानुनी लाभ र नेपाल सरकार र सार्वजनिक संस्थाको सम्पत्तिको हानि नोक्सानी दुरुपयोग गरेको पुष्टि भएको अख्तियारको ठहर छ ।