arrow

एमालेले हुन दिएन बजेट पास, १७ गते बैठक बस्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १४ बिहिबार
lumbini-province-parliament-2080.jpg

लुम्बिनी  ।  लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रदेशसभामा प्रस्तुत गरेको करिब दुई हप्तापछि बुधबारका लागि आह्वान गरिएको प्रदेशसभाको बैठक विपक्षी दलको विरोधका कारण स्थगित भयो । 

बुधबार निर्धारित समयभन्दा ढिलो सुरु भएको बैठकको प्रारम्भमै नेकपा (एमाले) ले बजेटउपर विरोध जनाएपछि छलफल नै नगरी बैठक १७ गतेसम्मका लागि स्थगित भएको छ । यसअघि असार १० गते छलफलका लागि आह्वान गरिएको बैठक बजेटमा सहमति जुट्न नसकेपछि बैठक बुधबारका लागि सारिएको थियो ।

प्रदेश सरकारले प्रस्तुत गरेको बजेट पूर्वाग्रही र बेथिति निम्त्याउने खालको रहेको भन्दै प्रमुख प्रतिपक्षी एमालेले संशोधन नगरी पास हुन नदिने बताएको छ । गठबन्धन सरकारले आगामी वर्षका लागि ल्याएको बजेटमाथि बुधबारको बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलका नेता लीला गिरीले बजेट गतिहीन, सङ्घीयताको खिलापमा रहेको बताए । उनले सरकारले प्रस्तुत गरेको बजेटले समृद्धिको लक्ष्यलाई आत्मसात् नगरिकन आएको भन्दै यही अवस्थामा बजेटलाई स्वीकार गर्न नसिकिने बताए । 

उनले जनमानसमा सिङ्गो सङ्घीयताप्रति नै नकारात्मक धारणा उठिरहेका बेलामा झन् नकारात्मकता थप्ने गरी आएको बजेट नागरिकको चाहनाविपरीत रहेको र समृद्धिको लक्ष्यलाई यसले भुलेको बताए ।

प्रदेशसभामा प्रमुख विपक्षी दलका नेता गिरीले बजेटले जनताको आर्थिक अवस्थामा सुधार आउने र कम्तीमा पाँच वर्षपछि केही न केही रूपान्तरणको अनुभूति गराउने अपेक्षासहित प्रतिपक्षी दलका रूपमा सदनमै समेत सहकार्यको प्रष्ट प्रतिबद्धता जनाएको स्मरण गराउँदै तर ती सबैलाई सरकारले बेवास्ता गरेर समृद्धिको लक्ष्य हासिल गर्नेतर्फ सरकारले बजेट ल्याउन नसकेको बताए ।

उनले बजेटलाई जनताको हित अनुकूल बनाउने हो भने त्रुटिपूर्ण विषय सच्याएर बजेट संशोधन जरुरी रहेको बताउँदै बजेट संशोधन हुँदैन भन्ने कुरा नगर्न सत्तापक्षलाई आग्रह गरे ।

नेकपा (एमाले)का प्रमुख सचेतक तुल्सीप्रसाद चौधरीले नागरिकको सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राखी राज्य कोषको रकम खर्च गर्नेभन्दा झिनामसिना आवश्यकता र औचित्यतासमेत पुष्टि नहुने विषयमा बजेट केन्द्रित गरिएको बताए । 

प्रदेश सरकारले असार १ गते रु ४० अर्ब ४७ करोड ८९ लाख बराबरको बजेट ल्याएको थियो । एमालेले प्रदेश सरकारले प्रस्तुत गरेको बजेटप्रति प्रदेशसभाको बुधबारको बैठकमा विरोध जनाएका कारण सभामुख तुलाराम घर्तीले पहिलो बैठक केही समयका लागि स्थगित गरेका थिए । 

बुधबारको पहिलो बैठकपश्चात् पनि दलबीच सहमति जुट्न नसकेकाले बैठक सूचना जारी गरेर स्थगित भएको छ । प्रदेशसभाको आगामी बैठक असार १७ गते हुने सूचनामा जनाइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ