arrow

युवाको नयाँ कर्म

काठमाडौँको मनोरम दृष्य सिसाको स्काइ वाकबाट, शुक्रबारदेखि खुला

नेपालमै केही गर्न सकिन्छ भन्ने युवा सोच, विदेश गएका युवालाई नेपालमा केही हुँदैन भन्ने सोच परिवर्तन गर्ने विश्वास, नयाँ कामका लागि नेपालमा सधै ‘वेलकम’

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १४ बिहिबार
sky-walk-2080-03-14.jpg

काठमाडौँ । काठमाडौँमा पहिलो पटक ‘स्काइ वाक’ गर्न पाइने भएको छ । वन्डर्स नेपाल प्राइभेट लिमिटेडले काठमाडौँको कमलादीमा स्काइ वाकको शुरुआत गरेको हो । 

प्रालीका अध्यक्ष इञ्जिनियर आकर्षण पोखरेलले उक्त स्काइ वाक शुक्रबार (असार १५) देखि शुरु हुने बताएका छन् । उनले सम्पूर्ण तयारी पूरा भएको जनाउँदै निकै उत्साही रहेकोसमेत उल्लेख गरेका छन् । 

उनले सिसामा उभिँदा आकाशमै उभिए जस्तो महसुस हुने भन्दै त्यसको अनुभूति शब्दमा हैन चढेरै वर्णन गर्न सकिनेसमेत जनाएका छन् । 

पर्यटकका लागि नयाँ स्वाद दिने उद्देश्यले बनेको यो स्काइ वाक उपत्यकाकै अग्लो संरचना हो । यो ३६ मिटर गहिरो र ७८ मिटर अग्लो छ । २५ वटा तला छन् भने  २२ तलासम्म जान दुई वटा लिफ्टको व्यवस्था गरिएको छ । जति तला भए पनि र गहिरो भए पनि जाने भनेको २३ऽ २४ र २५ तलामा मात्रै हो । अध्यक्ष पोखरेल स्काइ वाकबाट उपत्यकाको ३६० डिग्री भ्युसमेत देख्न देखिने दाबी गर्छन् । 

यसको २३ औँ र २४ औँ तलामा रेस्टुरेन्ट पनि सञ्चालन हुनेछ । त्यस्तै यसको कम्पाउन्डभित्र पनि रेष्टुरेन्टहरु रहेका छन् । अहिले यिनै रेष्टुरेन्टहरु सञ्चालनमा छन् । 

स्काइ वाक २५ औँ तलामा हुनेछ । जहाँ सिसामा टेकेर हिँड्न पाइनेछ । 

कम्पनीले यसअघि इलामको कन्याममा स्काइवाक सञ्चालनमा ल्याइसकेको छ । धनकुटाको भेँडेटारमा बन्दै छ । नयाँ परियोजनाका रुपमा सगरमाथा क्षेत्रमा केबल कार सञ्चालन गर्ने रहेको पोखरेल बताउँछन् । 

वन्डर्स नेपाल पाँच जनाको सञ्चालनमा बनेको हो । पोखरेलसँगै लोकनाथ अधिकारी, विष्णु काप्री, खेप न्यौपाने र तेजबहादुर सिंह यसका सञ्चालनकर्ता हुन् । 

सञ्चालनकर्ता सिंहले स्काइ वाकबाट भरपुर मनोरञ्जन दिनेमा पूर्ण विश्वस्त रहेको बताए । उनले नेपालमा नौलो कार्य भित्र्याउन आफूहरु सफल भएको भन्दै यसले सबै पर्यटकलाई उत्साही बनाउने पनि बताए । आन्तरिक पर्यटन बढाउन पनि यो स्काइ वाकले मद्धत गर्ने उनले दाबी गरे । 

सिसामा हिँडेको भन्ने सुन्दा असजिलो महसुस हुने पनि गर्छ । यो कत्तिको बलियो होला ? चर्कने हो कि ? खसिने हो कि ? त्रास रहनु स्वभाविकै हो । तर विदेशका त्यस्ता दृष्यहरु विभिन्न माध्यमबाट हेर्दा भने सबैलाई उत्सुक पार्छ । 

यसको सुरक्षादेखि उत्साहसम्म र यही कार्य गर्न मिलेको उर्जासम्म समेटेर अध्यक्ष पोखरेलसँग छोटो कुराकानीसमेत गरेका छौँ ।

कत्तिको सुरक्षित छ ?
भूकम्पको कारणले हुने सेसमेक टेष्ट पनि हामीले गरेका छौँ । विन्ड टेष्ट हुन्छ हावाको । स्टक्चरल एनालाइसिस हुन्छ फलामको भएकाले मेटल एनालाइसिस पनि हुन्छ । फाउन्डेसनको कुरा गर्दाखेरी जमीनमुनि ३६ मिटर गहिरो एक एक मिटरको ५८ वटा पाइल गर्या हुन्छ । त्यो माथि डेढ मिटरको र्याफ्ट हुन्छ । त्यो भनेको कंक्रिटको ढिक्का हो । त्यसमाथि बल्ल स्टिल हुन्छ । त्यसले गर्दाखेरी सम्बन्धित निकायबाट टेष्ट नगरी भएन । सिसाको हकमा मानिसले बुझिराख्या हुँदैन कि सिसा झर्याप्प जाला कि भनेर । यो १० एमएमको टेम्पर ग्लास हो । १.२ को एसजीपी लेयर हुन्छ । फेरि १० एमएमको ग्लास । फेरि १.२ को एसजीपी । अनि फेरि १० एमएमको ग्लास गरी पाँच वटा लेयर हुन्छ ।

तीन वटा ग्लासको दुई वटा एसजीपीको । बाइचान्स यसले लिन नसक्ने लोड हम्मरले ड्याम्म हान्नु भयो भने यो न माथि फुट्छ न तल फुट्छ । पहिले बीचको फुट्छ । त्यसले गर्दा सेफ्टी भयो । डबल लेमिनेशन भएको गर्ला फुट्ने सम्भावना पनि कम हुन्छ । पहिले बीचको फुट्यो भने हामीसँग जति पनि ग्लासहरु छ । यसको ब्याकअप हुन्छ । सामान्यतया फुट्ने भन्ने त छँदै छैन । जति स्ल्याबले यसको लोड लिन्छ । त्यति नै यसले पनि लोड लिएको हुन्छ । तैपनि भोलिका दिनमा मानिसलाई कन्फ्युजन हुँदा चाहिँ पाँच वटा लेयर लेमिनेशन गरेको भएर शतप्रतिशत सुरक्षित छ । 

कति अट्छन् यो सिसामा ? 
सिसाको प्लेटफर्ममा पाँच सय जना एकैपटकमा अट्छन् । यसमा अट्ने जति लोड इन्जिनियरिङले क्याल्कुलेट गरेको हुन्छ । त्यो हिसाबले दुई हजार जना पनि अट्छन् । तर हामीले आउने जाने गरेर पाँच सय जनाको राखेका छौँ । दैनिक छ हजार जनाको हामीले अनुमान गरेका छौँ । 

शुक्रबारदेखि खुल्ने यो स्काइ वाकमा बिहान ८ देखि राति ८ बजेको समय तोकिएको छ । तर पछि भने यो बिहान ६ बजेदेखि राति २ बजेसम्म खुल्ने पोखरेलले बताए । उनले आफूहरु अहिले पहिलो चरणमा भएकाले कतिपय कुराहरु मिलाउनु पर्ने हुनाले १२ घण्टामात्र सञ्चालन गर्ने बताए । 

नेपालमा स्काइ वाकको सोच कसरी आयो ? 
सन् २०१८ मा म अमेरिकाको नायडा फल्समा हुँदा खेरी त्यहाँ लोकनाथ अधिकारी, विष्णु कार्की र म तीन जना थियौँ । नेपालमा केही फरक कुरा गर्नुपर्छ है भनेर हामी तीन जना बसेर ल केही गनुपर्छ भनेर सोच्यौँ । हामीले कम्पनीको नाम ‘वन्डर्स नेपाल’ राखेको किन भन्दा खेरी अलिकति वन्डरफुल गराउँन भन्ने हो । यही ठाउँमा त एउटा मल बनाएको भए पनि त हामीलाई एकदमै राम्रो प्लेब्याक थियो नि त । बिल्डिङ पनि पहिल्यै स्क्वायर फिटमा बेचिदिए प्रोफिट भइहाल्छ । रिस्क छैन नि त । यहाँ जत्तिको सेन्टर अन्त हुने कुरो पनि भएन । चारैतिर मल भएको ठाउँमा राम्रो मल पनि त चल्ने हो नि त । यो सबैले गरिरहेको कुरा छ । हामी युवाहरुले अलि फरक कुरा गरौँ न त भनेर शुरुआत गरेको हो । जस्तै वन्डर नेपालले फरक चिज गर्ने भनेपछि त त्यो बेलामा हामी नेपालीहरु युट्युबमा चीनमा सिसामा टेटेको हेरेर रमाइराख्थ्यौँ नि त । त्यो बेलामा सोच बनेको हो यो । पछि कोभिड र सरकारको काम गर्ने सुस्तताले गर्दा अलिकति ढिला भयो । तैपनि हामीले नेपालमा चाँडै नै गरेको हो । हामीले २०७६ सालको मंसिरमा शिलान्यास गर्यौँ । त्यसपछि दुई दुई वटा लकडाउन फेस गर्यौँ । त्यति हुँदा पनि तीन वर्षमा त हामी तयार थियौँ । नयाँ चिज गरौँ भनेरै यो चिज रेडी भयो । 

कति छ लगानी ? 
अहिले करिब दुई अर्ब रुपैयाँ जतिको लगानी हामीले गरेका छौँ । चार वर्ष जतिमा लगानी उठ्छ भन्नेमा हामी छौँ । त्यो त पछि थाहा हुन्छ । नर्मल एनालाइसिस गर्दा । राम्रो हुँदा चाँडो पनि होला । 

कति छ यसको टिकट मूल्य ? 
अब अहिले गार्डेनमा आएर जति पनि आउटलेटहरु छन् मम पटिरोट, सेकुवा, कफी सप, नेवारी यहाँ आउन बस्न, खान कहीँ पैसा लाग्दैन । एलिभेटर चढेर माथि आउनलाई मात्रै पैसा लाग्ने हो । भ्याट, ट्याक्स जोडेर एक जनाको एक हजार रुपैयाँ लाग्छ । तीन फिटभन्दा मुनिकोलाई पैसा लाग्दैन । असी वर्षभन्दा माथिकोलाई पनि शुल्क लाग्दैन । अपांगता भएकाहरुलाई ५० प्रतिशत छुट छ । 

दैनिक आशा कति जनाको हो ? 
हाम्रो आशा भनेको दैनिक एक हजार जनाको हो । विकेन्डमा बढी नै होला । पानी पर्दा कम होला । तर हामीले जुनसुकै समयका लागि पनि काम लाग्ने गरी पानी पर्दासमेत डान्सिङ रेन भनेर राखेका छौँ । एउटा रेनकोट लगाएर सिसामा मजाले मनोरञ्जन लिन सकिन्छ । किनकि यो माहोलमा पानी पनि छुट्टै हुन्छ । झन् ब्वाइफ्रेन्ड–गर्लफ्रेन्ड, श्रीमान–श्रीमती, बच्चासँग आउँदा पानीले रोक्दैन । गेटमा ढोकासमेत नभएकाले हाम्रो सोच भोलिका दिनमा २४ घण्टा नै भन्ने हो । बिहानको समय भयो भने योग र मेडिटेसनको सेसन हुन्छ । दिउँसो सबैचिज भइहाल्यो । रातिको समयमा झिलिमिलि देखिन्छ जताततै । राति १० बजेपछि पनि एउटा सेसन बनाएका छौँ । 

खासमा यसमा किन चढ्ने ? 
यो स्काइ वाक हो । यो हाइट चाहिँ हामीलाई किन चाहिन्थ्यो भने सिसाबाट शहर देखाउनका लागि हो । यसमा आउने भनेको सिसामा टेक्नुहुन्छ तल शहर देख्नुहुन्छ । त्योभन्दा माथि आकाश छ खुला छ सबै चिजहरु । आफूलाई आकाशमा हिँडेको अनुभूति गराउनलाई हो । सामान्यतया आकाशमा त हिँडिदैन नि त । टर्मिनोलोजी त आफैँमा कन्फ्युजिङ छ नि त । स्काइ वाक त कसरी हुन्छ र । तर अनुभूति चाहिँ आकाशमा हिँडेजस्तो हुने हो । तल पनि सबै देखिएको छ । माथि पनि सबै खुला आकाश छ । त्यो अनुभूतिका लागि यो राखिएको हो । यो स्टिल स्टक्चरमा बनेको नेपालकै सबैभन्दा अग्लो छ । हेर्दा पनि काठमाडौँका जति पनि ल्याण्डमार्कहरु छन् सबै देखिन्छन् । स्वयंभू, धरहरा, रानीपोखरी, दरबार, सिंहदरबार, पशुपतिनाथ, एयरपोर्ट, हिमालहरु जति पनि छन् कहीँ पनि हेर्नलाई छेकिन्छ भन्ने अवरोध छैन । 

यसअघि पनि शुरु गर्नुभएको थियो । समानान्तर हिसाबले गएको हो कि पाइलट प्रोजेक्ट हो ? 
यो त यस्तो छ । हाम्रो पहिलो प्रोजेक्ट यही हो शुरु गरेको । यो शुरु गरसकेपछि घुम्दै जाँदा हामी भेँडेटार पुग्यौँ । त्यहाँको मौसम, ल्याण्डस्केप एकदमै हामीलाई यहाँ पनि केही गर्नुपर्छ भन्ने लाग्यो । भेँडेटारमा पनि शुरु गरिराख्या छौँ । निर्माण कार्य भइरहेको छ । त्यहाँ बन्दै गर्दा इलाम पुग्यौँ । इलाममा चाहिँ अझै राम्रो देख्यौँ । फुटफल, चियाबगानसँगै जोडिएको ‘कन्याम क्लाउड’ हाम्रो तेस्रो प्रोजेक्ट हो । साइजअनुसारको यो म्यासिभ स्केलको भएकाले यसलाई टाइम लाग्यो । त्योभन्दा पछि भेँडेटार बनिराख्या छ । कन्याम क्लाउड चाहिँ अलिकति सानो स्केल भएकाले अपरेशनमा आएको आठ नौ महिना भइसक्यो । त्यहाँको चाहिँ फिडब्याक हेर्दा एकदमै उत्साह लागेको छ । 

अरु प्रोजेक्ट पनि सोचमा छन् ? 
हामीले फरक चिज गर्दै गर्दै जाँदा देशकै इकोनोमीलाई चेन्ज ल्याउन सक्ने ‘एभरेष्टमा लुक्लादेखि छेदिङमा’ भनेर केबुलकार, माथि टपमा चाहिँ ५० वटा जति भिल्ला । त्यो चाहिँ हाम्रो डीपीआर भइराछ । एक नम्बर प्रदेश सरकारसँग पीपीपी मोडलमा चाहिँ योजनालाई अगाडि बढाइरहेका छौँ । त्यो चाहिँ लुक्लाबाट पाँच किलोमिटर केबलकार छ । माथि टपमा छेदिङ पुगेपछि एभन्चेरर्स स्पोर्ट हुन्छ । यो अनगोइङ प्रोजक्ट हो । 

केबलकार सफल हुन्छ भन्ने हो ? 
केबलकार त हाम्रो जति पनि भौगोलिक अवस्था छ त्यसले सघाउ त पुग्ने भयो । अब एभरेष्ट रिजनमा जाँदा हामीले त्यहाँको ल्याण्डस्केपलाई बिगार्नु पनि भएन । त्यसैले गर्दा त्यो त सबैभन्दा बेष्ट अप्सन भयो । आठ दश जना चढ्ने भन्दा पनि अफ लोकेसन भएको भएर एरियल ट्राम्प भन्छ एउटैमा डेढ सय जना चढ्ने स्टडि भइराछ । यसको फाइनल डीपीआर सकिएपछि नै आउला । 

यस्ता नयाँ प्रोजेक्ट गर्दा सरकारको सहयोग कस्तो हुँदो रहेछ ? 
हामीले गएर कागजपत्र बनाउनु पर्ने जति चिज, अनुमति लिने चिज हाम्रो प्रक्रिया नै अलि झन्झटिलो छन् भनौँ न । त्यस्तो असहयोग भनेर हामीलाई कहीँबाट पनि भएन । तर इन्स्पायर गर्ने मामलामा ल भयंकर गर्नुभएछ भनेर भन्ने पनि भाछैन । त्यसले गर्दाखेरी राम्रो नराम्रो नभनौँ हामी आफ्नो हिसाबले गइराछौँ । तर जति पनि कर्मचारी र राजनीतिकर्मी भेट्यौँ सबैले राम्रो काम गरिरहनु भएको रहेछ भनेर शुभकामना भने दिनुभएको छ । 

तपाईहरुकै कर्म देखेर एनआरएनएहरु नेपालमै केही गरौँ भनेर लगानी गर्ने वातावरण कत्तिको देख्नुभएको छ ? 
हामी अमेरिकामा हुँदा सबै जनाको भनाइ के थियो भने फर्कदा त फर्किन्छौ तर त्यति सहज छैन है । जटिल छ नेपालमा यत्रो सोच लिएर जाँदा गाह्रो होला त्यत्रो लगानी भन्ने खालको कुरा हुँदा खेरी एक खालको भनौँ न बुझाइ बाहिर बस्ने साथीहरुको छ त्यति असहज चाहिँ छैन जस्तो लाग्छ । कोहीलाई असहज पनि परिराहा होला । तर हामीलाई एक खालको नेपालमा गाह्रो छ भन्ने ब्रिफिङ दिइन्छ नि त्यस्तो गाह्रो पनि छैन जस्तो लाग्छ । त्यसले गर्दा भोलि कोही आउन चाहने साथीहरुलाई पनि मलाई लाग्छ आएर केही नयाँ चिज फरक चिज गर्दा हाम्रो समाज नयाँ कामका लागि ‘वेलकमिङ’ खालकै छ । यही चिजमा पनि एउटा मलमात्र बनाउँछु भन्या भए खासै मान्छेको चासो हुन्थेन होला । ए फरक चिज छ भनेपछि अलिकति चासो दिने भएर नयाँ साथीहरु आउँदा म चाहिँ उर्बरै देख्छु । 


 

sky-walk-kathmandu (1).jpg
sky-walk-kathmandu (2).jpg
sky-walk-kathmandu (3).jpg
sky-walk-kathmandu (4).jpg
sky-walk-kathmandu (5).jpg
sky-walk-kathmandu (6).jpg
sky-walk-kathmandu (7).jpg
sky-walk-kathmandu (8).jpg
sky-walk-kathmandu (9).jpg
sky-walk-kathmandu (10).jpg
sky-walk-kathmandu (11).jpg
sky-walk-kathmandu (12).jpg
sky-walk-kathmandu (13).jpg
sky-walk-kathmandu (14).jpg
sky-walk-kathmandu (15).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ