arrow

राजधानीमा ४ गते राजा र राष्ट्रपतिद्वारा हिन्दूहरूको दुई महासम्मेलनको उद्घाटन हुँदै

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७३ कार्तिक २ मंगलबार
bhandarishah.jpeg
काठमाडौं । राजधानीमा आउँदो कात्तिक ४ गते एउटा गजबको संयोग मिल्न लागेको छ । नेपालबाट विस्थापित भईसकेको हिन्दू राज्यलाई पुनस्र्थापना गर्न माग गर्दै राजधानीमा बिहीबार दुई हिन्दूबादी संगठनहरूको बृहद् भेला अर्थात् महासम्मेलन हुँदैछ । 
 
काठमाडौंको वनकालीमा बिहीबार बिहान ११ बजे विश्व हिन्दू महासंघ अन्तराष्ट्रिय समितिको आयोजनामा विराट हिन्दू महासम्मेलन सुरू हुँदैछ । ३ दिनसम्म चल्ने उक्त महासम्मेलनलाई पूर्व राजा ज्ञानेन्द्रले उद्घाटन गर्ने कार्यक्रम रहेको महासम्मेलन आयोजक समितिका संयोजक भरत केशर सिंहले जानकारी दिए । उक्त महासम्मेलनको मुख्य उद्देश्य नै हिन्दूराष्ट्र पुनस्र्थापना रहेको आयोजकले जनाएको छ । 
 
उता, बिहीबार नै काठमाडौंको खुल्लामञ्चमा अन्तराष्ट्रिय सनातन बैदिक आर्य महासम्मेलनको पनि आयोजना हुँदैछ । संयोग नै भन्नुपर्ला कि एकातर्फ राजाद्वारा उद्घाटन हुने कार्यक्रमसँग लगभग उद्देश्य मिल्ने अर्काे हिन्दूबादी कार्यक्रमको उद्घाटन भने राष्ट्रपति विद्यादेवी भण्डारीले गर्दै छिन् । राष्ट्रपतिद्वारा उक्त कार्यक्रमको उद्घाटन गर्ने तय भएको आयोजक समितिका सहसंयोजक जनार्दन घिमिरेले जानकारी दिए । 
 
उक्त सम्मेलनले भने वैदिक धर्म पुनर्स्थना गरी वैदिक बाङ्मयको विकास तथा हिन्दू राष्ट्र पुनस्र्थापनाको लागि दबाब दिने उद्देश्य बोकेको बताईएको छ । दुबै कार्यक्रम ४ गतेदेखि ३ दिनसम्म चल्ने आयोजक समितिहरूले जनाएका छन् । 
 
किन जुधाईयो एउटै प्रकृतिको कार्यक्रम ?  
 
यो संयोग हो या त नियोजित हो त्यो भने आयोजक आफैंले जान्ने कुरा हो । तर, दुबै पक्षका आयोजकहरूले भने कार्यक्रम आफूले पहिले तय गरेकोले अर्काे पक्षले कार्यक्रम जुधाएको आरोप लगाएका छन् । 
 
आर्य महासम्मेलनका सहसंयोजक घिमिरेले यो १ वर्ष अगाडि अस्ट्रेलियामा सम्पन्न महासम्मेलनले नै तय गरिसकेको कार्यक्रम भएकोले विश्व हिन्दू महासंघले नै जानाजान कार्यक्रम जुधाएको आरोप लगाए । ‘हामीले त एक वर्ष अगाडि नै तय गरिसकेको कार्यक्रम हो ।’ उनले भने ‘महासंघसँग यस विषयमा कुरा त भएको हो तर उहाँहरूले हाम्रो कुरा सुन्न नै चाहनुभएन ।’  
 
उता, महासंघको भनाई पनि उस्तै छ । संयोजक भरतकेशर सिंहले लामो समयदेखि हुन नसकेको महासम्मेलन कात्तिक ४ गतेदेखि गर्ने भन्ने आफ्नो पनि पूर्व कार्ययोजना रहेकोले अरूले कार्यक्रम राखे भन्दैमा सार्न नसकिने जानकारी दिए ।
 
उनीहरूले आ–आफ्नै दाबी गर्दै आएपनि बाहिर भने हिन्दूबादी संगठनमा समेत चर्काे विवाद भएको भनेर चर्चा चल्न थालिसकेको छ । एउटै उद्देश्य बोकेका संगठनहरू समेत मिल्न नसकेको भनेर दुबै संस्थाहरू नै हिन्दू संस्कृतिमा आस्था राख्नेहरूको आलोचनाको पात्र बन्न थालेका छन् । 
 
यस्ता छन् महासम्मेलनको मूल उद्देश्य 
 
वनकालीमा राजाबाट उद्घाटन गर्नेगरी कार्यक्रम आयोजना गरेको विश्व हिन्दू महासंघको २०४४ सालमा स्थापना भए पनि अहिलेसम्म दुईवटा मात्रै महासम्मेलन आयोजना भएको संयोजक सिंहले जानकारी दिए । 
 
यस अघिका दुईवटै महासम्मेलनको उद्घाटन तात्कालीन राजा विरेन्द्रले गरेका थिए । भने सम्मेलन एउटा बीरगञ्जमा र अर्काे काठमाडौंको दशरथ रंगशालामा आयोजना भएको थियो । 
 
त्यसपछि, माओबादी सशस्त्र द्वन्द्वको समयमा सुरक्षाको कारण देखाउँदै कार्यक्रम आयोजना नभएको भएपनि अहिले हिन्दू राष्ट्र र राजसंस्थाको माग गर्दै यस्तो महासम्मेलन आयोजना गरिएको जनाएको आयोजकले जनाएको छ । 
 
आयोजकका अनुसार पछिल्लो समय नेपालमा बढेको भनिएको जवर्जस्ती धर्म परिवर्तनलाई रोक्न पनि पहलगामी कदम चाल्न यस्तो महासम्मेलनको आयोजना गरिएको हो । यो सम्मेलनका आयोजकले हिन्दू संस्कृतिमा राट्रपतिको व्यवस्था नरहेकोले आफूहरूले राजाबाट नै उद्घाटन गराएको पनि स्पष्ट पारेको छ ।  
 
अर्काे महासम्मेलनको आयोजक नेपाल आर्य समाज भने विशेषतः बैदिक धर्मसँग सम्बन्धित रहेको छ । नेपालमा यस्ता महासम्मेलन यस अघि नभएको भएपनि यो भने १० औं सम्मेलन हो । 
 
यस अघि अस्ट्रेलियामा भएको महासम्मेलनबाट यस पटक नेपालमा सम्मेलन आयोजना गर्ने निर्णय भएको थियो । यो सम्मेलनको उद्देश्य भने बैदिक बाङ्मयको विकास र बैदिक धर्मको नाममा नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्न दबाब दिने रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ