काठमाडौं। नेपाली काँग्रेसको महाधिवेशनबाट सभापतिमा शेर बहादुर देउवा निर्वाचित भएयता भएका नेविसंघ र महिला संघको महाधिवेशनमा समेत आफ्नो पक्षको कमजोर उपस्थिति देखिएपछि अहिले बरिष्ठ नेता पौडेल पक्ष नयाँ रणनीति बनाउन लागिपरेको छ। यो रणनीति अन्तर्गत पौडेल स्वयंले सभापति देउवासँग पटक पटक छलफल गरेका छन्। उनले आफ्नो तर्फबाट देउवासँग सहकार्यको प्रस्ताव गर्दा केहि शर्त पनि राखेका छन्। जुन यसअघी पौडेलले सार्वजनिक कार्यक्रम मार्फत सार्वजनिक समेत गरेका छन्।
पौडेललाई देउवासँगको सहकार्यको आवश्यकता किन?
दशैअघी पत्रकार हरिहर विरहीको पुस्तक विमोचन कार्य्रकममा पौडेलले पार्टी भित्रको आन्तरिक समिकरणको चर्चा गर्नेक्रममा अर्का नेता कृष्ण प्रसाद सिटौला समुहले लिएको राजनीतिक लाभको बारेमा चर्चा गरेका थिए । त्यो चर्चामा पौडेलको आक्रोश देखिन्थ्यो। आफूले सभापति देउवालाई दुई पक्षबीचमा खेलेर राजनीतिक लाभ लिनेहरुलाई ठाउँ नदिन भनेको भन्दै त्यस्ताहरुलाई साइजमा राख्ने आशयको अभिव्यक्ति पौडेलले दिएका थिए। दशैंका बेलामा समेत पौडेल र देउवाका बीचमा केहि संवाद भएको बताइएको छ। उनीहरुका बीचमा मात्र हैन दोस्रो तहका र अन्य केहि प्रभाव राख्न सक्ने राजनीतिक व्यक्तिहरुका बीचमा पनि पौडेल र देउवा बीचमा सहकार्य गरेर अघी बढ्ने बिषयमा संवाद गरिरहेका थिए। राजनीतिक रुपमा प्रतिष्पर्धी भएपनि उनीहरुलाई राजनीतिक सहकार्यका लागि एक ठाउँमा ल्याउन प्रयास भएको थियो।
तरुण दलको महाधिवेशन र सिद्धार्थ कोइराला
दुईवटा भात्रृ संस्थाको महाधिवेशनमा पौडेल र कोइराला समुहले खास सफलता प्राप्त गर्न नसकेपछि सो समुह राजनीतिक रुपमा नयाँ विकल्पको खोजीमा छ। सिटौला समुह थप उत्साहित हुँदै तरुण दलमा आफ्नो उपस्थिति बढाउन उद्यत छ । नेविसंघ र महिलासंघको समिकरण कायम रहे तरुण दलमा पनि पौडेल पक्षका लागि खुसीको कुरा नहुने पक्का भएको समुहभित्रै विश्लेषण भएको छ। यहि कारण पनि सो समुहलाई फूटाएर आफू मिसिन पौडेल पक्षले रणनीति अख्तियार गरेको छ। यसमा महत्वपूर्ण भुमिका पौडेल पक्षमा महत्वपूर्ण भूमिका रहेको कोइराला परिवारको छ। यतिखेर काँग्रेसको राजनीतिमा वीपीका नाती तरुण दल मार्फत प्रवेश गर्न खोज्दैछन्। तर अहिलेकै समिकरण कायम रहेको अवस्थामा चुनावमा जानु उनको लागि पनि पहिलो गाँसमै ढुङगा हुन सक्ने आँकलन उनले गरेका छन्। कोइराला परिवारका नेताहरुबीचमा पनि आपसि प्रतिष्पर्धात्मक अवस्था हुनु र मियो नेता नहुँदा सिद्धार्थ आफैले पहल गरेर सभापति देउवादेखि नेता सिटौलासम्मलाई भेटेका थिए। सिद्धार्थले आफू तरुण दलमा आउनका लागि विभिन्न उच्चस्तरका छलफल समेत गरे । आफ्ना काका तथा काँग्रेस महामन्त्री डा शशांक कोइरालादे्खि नेतृ सुजाता कोइराला र डा शेखर कोइरालासम्मलाई आफ्नो पक्षमा माहौल बनाउन उनले दवाव दिए। त्यसका लागि कुन विकल्प उपयुक्त हुने निर्णय गर्न पनि उनले परिवारका अग्रजहरुलाई जिम्मा दिए। काँग्रेस संस्थापक वीपी कोइरालाका छोरा शशांक पार्टीमा महामन्त्री छन्। प्रकाशका छोरा राजनीतिमा आउन तरुण दल रोजिरहेका छन्। तर एक्लै चुनावमा जाँदा सोचेको जस्तो परिणाम आउन नसक्ने आशंकाले देउवासँगै भएपनि मिल्नुपर्ने वाध्यता पौडेलपक्षलाई छ। त्यसमा परिवारको सदस्यलाई हार्न चुनावी मैदानमा छोड्न कोइराला परिवार पनि चाहदैन। यहि कारण पनि यतिखेर तरुण दलको महाधिवेशन अघी नयाँ समिकरण बन्ने प्रयास शुरु भएको छ।
तरुण दल विघटन र नयाँ समिति गठन
तरुण दलको महाधिवेशन सरेर यहि कार्ति २७ देखि २९ सम्म पोखरामा हुने भएको छ। तर महाधिवेशनका लागि विभिन्न जिल्ला तथा नगरका अधिवेशन अझै सकिएका छैनन्। कतिपय ठाउँमा विवाद छ। कतिपय ठाउँमा समानान्तर समिति छन्। तरुण दलको महाधिवेशन गर्न पार्टीले गठन गरेका निर्देशन समितिका संयोजक वालकृष्ण खाँणको गृहजिल्ला रुपन्देहीमा समानान्तर समिति गठन छ । यस्ता विवाद अनेक छन् । महाधिवेशनको मिति नजिकिदै गर्दा पनि यि र यस्तै खालका विवाद मिलउान खास पहल भएको छैन। यो अवस्थामा महाधिवेशन गराउन नसकिने रिपोर्टीङ सभापति देउवालाई एकथरी नेताहरुले गरेका छन् । पौडेल पक्ष पनि विवाद मिलाएर महाधिवेशनमा जाँदै गर्दा हुने चुनावको परिणाम पूर्व अनुमान गरेर बसेको छ। महाधिवेशेनमा समिकरण नगरि नजितिने पौडेल पक्षको बुझाइ छ। समिकरण गर्नुपर्दा सिटौला पक्षसँग गर्न एकातिर पौडेल पक्ष इच्छुक छैन भने देउवासँग गर्दा समर्पण गरेको सन्देश जाने डर पनि छ । त्यसैले तरुण दलको महाधिवेशन हुन नसक्ने वातावरण बनाएर नयाँ समिति बनाउने आन्तरिक गृहकार्य शुरु भएको छ। यसो गर्दा देउवा पक्षलाई पौडेल पक्षले विरोध नगर्ने बचन समेत दिएको छ। तर त्यसका लागि उसले महामन्त्रीमा सिद्धार्थ कोइरालालाई ल्याउनुपर्ने शर्त भने राखेको छ। यसो हुँदा देउवासँगको सिटौला समुहको कार्यगत एकता पनि टुट्ने विश्लेषण पौडेल पक्षको छ ।
तरुण दल बिघटन गर्न नदिने पक्षमा सिटौला समुह
तरुण दलको महाधिवेशन पनि नगर्ने र विवादको नाममा तरुण दल केन्द्रीय समिति भंग गरेर नयाँ समिति बनाउने पछिल्लो गृहकार्यबारे जानकार नेता सिटौलाले यस बिषयमा देउवासँग जानकारी मागेका छन्। देउवाले सिटौलालाई तरुण दल विघटन गर्ने बारेमा कुनै योजना नभएको बताएको बताएको सिटौला निकट स्रोतले जानकारी दियो। यस बिषयमा पार्टीको केन्द्रीय समितिमा बिषय उठाउने तयारी सिटौला पक्षले गरेको बताइएको छ। केन्द्रीय समिति भंग गरे जिल्ला समिति पनि स्वत भंग हुने अवस्था आउने भन्दै कुनै पनि हालतमा महाधिवेशनलाई छलेर केन्द्रीय समिति विघटन गरेर नयाँ समिति बनाउने योजनाको विरोधमा आफूहरु लाग्ने सिटौला पक्षले बताएको छ। केन्द्रीय समितिमा आफूहरु थोरै भएपनि तरुण दलको केन्द्रीय समिति विघटन नै गर्ने पक्षमा भने अरु केन्द्रीय समिति सदस्यहरु पनि नहुने अनुमान उनीहरुको छ।
सभापतिको सफलता मेरो सफलताः पौडेल
सभापति देउवासँग प्रत्यासी भएपनि दोस्रो चुनावमा सिटौलाको समर्थन नपाएर देउवासँगै पराजित भएका पौडेल अहिले देउवालाई फकाएर सिटौलालाई भुमिका विहिन बनाउने रणनीतिमा लागेका पौडेल निकटहरुको बुझाइ छ। देउवासँग उनले गरेका बैठकहरुको सार सिटौलालाई भुमिकाविहिन बनाउनु नै रहेको स्रोत बताउँछ। यहि अवस्थामा तरुण दलको आसन्न महाधिवेशनलाई उपयोग गर्ने सोचमा पौडेल पक्ष रहेको छ। मंगलवार सरोज कोइराला प्रतिष्ठानको कार्यक्रममा महामन्त्री डा शशांक कोइरालाले देउवा र पौडेललाई देखाएर दुबै नेता एकै ठाउँमा भएपछि पार्टी एक भएर जाने बताए। उनीपछि बोल्न आएका पौडेलले पनि गुटको संरक्षण गर्न छोडेर पार्टीलाई एक बनाउनेतर्फ सभापति लाग्नुपर्ने बताए। उनले पार्टी सभापतिको सफलता नै आफ्नो सफलता भएको जनाउँदै सभापतिलाई सफल बनाउन आफू विभिन्न छलफल र संवादमा रहेको बताए । केहि समय अघीसम्म सभापतिको असफलतामा आफ्नो सफलता मान्ने र उनको आलोचनात्मक टिप्पणी गर्दै आएका पौडेलको यो यूटर्नलाई काँग्रेसको वदलिदै गएको नयाँ समिकरणको संकेतको रुपमा पनि हेरिएको छ।