श्रमिकको ज्यालावृद्धि गर्न माग गर्दै ट्रेड युनियन काँग्रेस प्रदर्शनमा [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८० असार ३१ आइतबार
1.2k
Shares
काठमाडौँ । नेपाल ट्रेड युनियन काँग्रेसले श्रमिकलाई जिउन पुग्नेगरीको ज्यालावृद्धि गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेको छ । आइतबार काठमाडौँको माइतीघरमा भेला भइ सत्तारुढ दल नेपाली काँग्रेसको संगठन नेपाल ट्रेड युनियन काँग्रेसले दबाबमुलक प्रदर्शन गरेको हो ।
हरेक दुई वर्षमा श्रमिकहरुको पारिश्रमिक बढाइने र सोही अनुसार काम अहिले अघि बढिरहे पनि सरकारलाई खबरदारी गर्न दबाबमुलक कार्यक्रम गरेको नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवरले बताए ।
उनले यो कार्यक्रममा एक हप्ता यता निरन्तर चलिरहेको बताए । उनले सरकारलाई श्रमिकहरुको न्यूनतम पारिश्रमिक कम्तीमा २५ हजार बनाउनका लागि स्थानीय तह र प्रदेश सरकारमा ज्ञापन पत्र बुझाइसकिएको र आज केन्द्र सरकारको पनि ध्यानाकर्षण गराउने बताए ।
उनले भने, ‘२ वर्षमा पारिश्रमिक वृद्धि हुनुपर्ने हो । प्रत्येक २/२ वर्षमा वृद्धि हुन्छ । यतिबेला त्यसको प्रक्रिया अघि बढिरहेको छ । सरकार र रोजगारदाताहरुलाई ध्यानाकर्षण गराउनको लागि जिउन पुग्ने ज्याला निर्धारण गर्नको लागि खबरदारीको रुपमा यो दबाब कार्यक्रम अघि बढाएका हौँ । यो कार्यक्रम हाम्रो यो हप्ताभर चलिरहेको छ । जिल्लास्तरमा बुझाएका छौँ, प्रदेश स्तरमा बुझाएका छौँ, अब केन्द्रमा बुझाउने छौँ । न्यूनतम ज्याला वृद्धि, श्रमिकलाई जिउन पुग्नेगरीको ज्यालावृद्धि हामीले कम्तीमा २५ हजार रुपैयाँ हुनुपर्छ भन्ने माग हो ।’
उनीहरुले श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार कायम गर, श्रम आयोग गठन गर, नीति, निर्माण तहमा श्रमीकको प्रतिनिधित्व व्यवस्था गर, योगदानमा आधारित सामाजिक सुरक्षा अनिवार्य लागू गर, स्थानीय तहमा श्रमीकको पञ्जीकरण गर लगायतका प्लेकार्ड, ब्यानरसहित नारा लगाएर सरकारलाई दबाब दिएका थिए ।