धरान । नेपाली कांग्रेसका केन्द्रिय सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले कांग्रेसको ध्यान अब आर्थीक समृद्धिमा केन्द्रित हुने बताएका छन् । नेपाली कांग्रेस धरान उप-महानगर समितिद्वारा आयोजित कार्यकर्ता भेटघाट तथा समसामयिक विषयमा अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य कार्कीले यस्तो बताएका हुन् ।
सरकारले समयमा नै स्थानीय, प्रान्तिय र केन्द्रिय निर्वाचन गर्नें गृहकार्य गरिरहेकाले निर्वाचनको तयारीमा जुट्न कार्यकतालाई निर्देशन दिँदै नेता कार्कीले निर्वाचन नहुनुको कुनै कारण नरहेको बताएका छन् । उनले अघि थपे 'अब स्थानीय तहको चुनाव चाँडै हुन्छ' ।
नेता कार्कीले स्थानीय तहको निर्वाचन गरे मात्र देशले निकास पाउने भन्दै अबको मिसन भनेको राष्ट्रको विकास र समृद्धि रहेको बताए । कार्कीले पूर्वाञ्चलको विकास र सम्पर्क सञ्जाल विस्तारका लागि विराटनगर -किमाथांका सडक निर्माणमा पहल गर्ने पर्ने बताए ।
उनले धरानको मात्र विकास नभएर सम्पूर्ण देशको विकासमा आफू रहेकाले सुन्दर नगरी धरानको समृद्धिमा जस्तो सुकै योगदान दिन तयार रहेको सुनाए । नेता कार्कीले धरान लगायतका देशभर रहेको सुकुम्बासी समस्या समाधान गर्नका लागि पुलको रुपमा काम गर्ने समेत बताए ।
उनले देशको विकास र निकासमा कांग्रेसले नै नेतृत्व लिन लग्ने भन्दै आम जनताहरु राष्ट्र निर्माणमा जुट्नु पर्ने धारणा राखेका छन् । साथै कार्कीले पार्टी सभापतिले पदाधीकारी मनोनयन र विभागहरुको गठन चाँडैं नै गर्न आफूले विश्वास लिएको बताए।
कार्यक्रममा नेपाली कांग्रेसका सुनसरी सभापति राजीव कोइराला , सुनसरी क्षेत्र नं। ४ का सभासद सिताराम मेहेता , धरान नगर सभापति तिलक राई लगायतले आफ्नो धारणा राखेका थिए ।