काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधान कार्यान्वयन गर्न भइरहेको पहलबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सुनाएको स्वीकार गरेका छन् ।
वुधबार व्यवस्थापिका संसद बैठकलाई सम्बोधजन गर्दै प्रधानमन्त्री दाहलले भने, ‘नेपालमा लोकतान्त्रिक गणतन्त्र, शान्ति स्थापनाको संस्थागत प्रयासबारे कुरा गरेकै हुँ । संविधान जारी गर्दा भएको राजनीतिक घटनाक्रमबारे जानकारी गराएकै हो ।’
यस्तै, भारत भ्रमणका क्रममा जारी भएको संयुक्त वक्तव्यले कुनै गलतबाटो नबोकेको बताए । दाहालले भने, ‘साझा हितका विषयमा अन्तर्राष्ट्रिय मञ्चमा एक टाउँमा उभिने सम्म मात्रै भनिएको हो । हामीले कुनै छुट्टै फोर्स गठका लागि सहमति जनाएको होइन ।’ अब कोही कसैले शंका गर्ने ठाउँ नरहेको बताउँदै दाहालले भने, ‘नेपाल भारतको संयुक्त निगरानी संयन्त्र बनाउने सन्दर्भमा एउटा देशको राजदूत र अर्को देशको मन्त्री भन्ने कन्फ्युजन पछिल्लो भारत भ्रमणबाट क्लियर भएको छ ।’
दाहालले आफु र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुवै तिरका अधिकारीलाई दिएको निर्देशन अनुसार निगरानी संयन्त्र बनाउने सहमति भएको बताए । दाहालले गोवामा भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सि जिनपिङसँग भएको भेटले नेपालको समृद्धिको ढोका खुलेको बताए ।