arrow

तमलोपाले सरकारको नियतमाथि प्रश्न उठायो

विपक्षीको शैलीले संविधान संशोधनको आधिकारिक धारणा माग

logo
प्रकाशित २०७३ कार्तिक ३ बुधबार
Mahanta-Thakur-400x250.jpg.jpeg
काठमाडौँ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको महत्वपूर्ण घटक तराई–मधेस लोकतान्त्रिक पार्टी तमलोपाले संविधान संशोधनबारे सरकारको आधिकारिक धारणा मागेको छ ।  
 
सरकार गठनताका भएको तीन बुँदे सहमतिको मुख्य बुँदा संविधान संशोधनप्रति सरकारले देखाएको उदासिनताले आफ्नो ध्यानाकर्षण भएको जनाउँदै तमलोपाले हालसम्म सरकारमा सामेल मुख्य दलले कुनै औपचारिक निर्णय नगर्नुले सरकारको नियतमाथि नै शङ्का उब्जेको जनाएको छ । 
 
तमलोपाको केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, सांसद एवम् जिल्ला अध्यक्षको संयुक्त बैठकले सरकारले अविलम्ब मोर्चासमक्ष आफ्नो धारणा स्पष्ट गरी संविधान संशोधनको प्रक्रिया प्रारम्भ गर्न माग गरेको हो । 
 
बैठकको निर्णय पत्रकार सम्मेलन गरी सार्वजनिक गरेर तमलोपाले सङ्घीय प्रदेश संरचनामा प्रस्तावित स्थानीय तहको मधेसमा न्यून सङ्ख्या एवं प्रकृति पनि विगतको विभेदकारी मानसिकता र नीतिको निरन्तरता हो भन्दै यस्तो निर्णय आफूलाई कदापि मान्य नहुने जनाएको छ । 
 
बैठकले पार्टीको वर्तमान स्थितिबारे अवगत गराउन र नयाँ ऊर्जाकासाथ सम्पूर्ण स्थितिको सामना गर्न गाउँ–गाउँमा व्यापक सदस्यता वितरण र जनजागरण अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ । 
 
पत्रकार सम्मेलनमा अध्यक्ष ठाकुरले सत्तारुढ दलले विभिन्न बहानामा संविधान संशोधनको विषय अलमल्याउँदै गएकाले संविधान संशोधन नभएसम्म आफ्ना विरोधका कार्यक्रम जारी रहने बताए । 
 
फरक प्रसङ्गमा अध्यक्ष ठाकुरले सद्भावना पार्टीसँगको एकताबारे कुराकानी चलिरहे पनि कुनै निर्णय नभएको जानकारी दिए । केही दिन अघि मात्रै अध्यक्ष ठाकुर र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव विपक्षी एमालेको चीयापान कार्यक्रममा देखिएका थिए । माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल देश बाहिर रहेका बेला भएको भेटले राजनीति माहोल फेरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ