arrow

इलामका आदिवासी लाप्चा जाति

logo
मुकेश राई,
प्रकाशित २०८० साउन ६ शनिबार
article-mukesh-rai-2080-04-06.jpg

प्राग ऐतिहासिक कालदेखि नेपालको पूर्वीय पहाडी भेगमा बसोबास गरी आएका आदिवासीहरुमध्ये लाप्चा जाति पनि एक हो । नेपालको राष्ट्रिय तथ्यांक अनुसार जम्मा ५९ वटा आदिवासी समूहहरु छन्  । तीमध्ये विकसित,  सुविधाहरुबाट बन्चित, सीमान्तकृत, अति सीमान्तकृत अनि लोपोन्मुख गरी जम्मा ५ वटा समूहमा विभाजन गरिएको छ । 

तिनै समूहमध्ये लोपोन्मुखमा परेका एक हुन लाप्चा जाति । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ मा सूचीकृत लाप्चा जाति आदिम कालमा हिमालको काखमा उत्पति भई त्यसै हिमऋंखलाको परपर मौलाएको विश्वास गरिन्छ । यसरी परापूर्व कालदेखि पूर्व नेपालको इलाम जिल्लामा अवस्थित समालबुङ, अन्तु, फिक्कल, कोलबुङ अनि भारतको दार्जिलिङ र सिक्किममा रहँदै आएको लाप्चाहरुको यही स्थानहरुमा प्राचीन कालदेखिको जीवन्त ऐतिहासिक पहिचान बोकेको आदिवासीमध्ये एक मानिन्छ । यसै सिलसिलामा समयान्तरमा अन्य स्थानहरुतिर पनि बसाइ सराइ वा अन्य कारणले अन्य जातजातिहरु जस्तै लाप्चा जातिहरु पनि अन्यत्र छरिएर रहेका छन् ।

लाप्चा जातिको ऐतिहासिक पृष्ठभूमि निकै नै चाखलाग्दो छ । यस जातिको स्थानीय श्रोत अनुसार लाप्चोको अर्थ पहाडी ऋंखलाको देउराली वा दोबाटोमा बनाएको चुलीलाई भन्ने गरिन्छ र सोही शब्द लाप्चे वा लेप्चा हुँदै लाप्चा भएको मानिन्छ । दार्जिलिङ र सिक्किमतिर यस जातिलाई लेप्चा भनेर चिन्ने गरेको भएता पनि नेपालभित्र आफूलाई लाप्चा वा रोङ जातिकै रुपमा आफ्नो पुर्ख्यौली पहिचान कायम राख्न चाहेको बुझिन्छ । दार्जिलिङ र सिक्किमतिर ब्रिटिश साम्राज्यकालमा लाप्चा शब्दलाई अंग्रेजी भाषाको प्रभावले लेप्चा उच्चारण गर्न गरिएकाले आजसम्म त्यही प्रचलनमा आएको मान्न सकिन्छ । 

जेसुकै भएता पनि इलाममा रहेका समग्र लाप्चा जातिले सगर्व रोङ जातिको रुपमा चिनाउँदै आफ्नो थातथलो अर्थात् आदिम लाप्चा बसोबासो क्षेत्रलाई रोङ क्षेत्र भनेर दाबी गर्दै आएको अनि कुनै कालखण्डको सामाजिक अनि राजनैतिक उतारचढावको कारण ऐतिहासिक रोङ क्षेत्र दुई भिन्न मुलुकमा विभाजित हुन पुगे पनि भावनात्मक रुपमा एउटै पुर्ख्यौली पहिचान रहँदै आएको मानिन्छ ।

लाप्चा जातिको उत्पत्ति

लाप्चा जातिको ऐतिहासिक कुराहरु तिनै जातिका अग्रज पुर्खाहरु अनि उनीहरुका निकट रहँदै आएका अन्य जातजातिका पुराना पुस्ताका व्यक्तिहरुले भन्दै सुनाउँदै आएका बाहेक लिखित प्रमाणहरु खासै कतै पाइएको छैन । यस अर्थमा परापूर्व कालदेखि रोङ क्षेत्रमा बसोबासो गरिआएका आदिम समुदायहरु नै पर्नुको मुख्य कारण न वंश उत्पत्ति र विकासक्रमका सत्य, तत्थ्यपरक प्रमाणिक दस्तावेज बन्न नसक्नु एउटा कारण हुन सक्छ । 

यसरी लाप्चा जातिको ऐतिहासिक पुस्तक वा दस्तावेज नभएका लाप्चा जातिको उत्पतिका मिथकिय जनश्रुतीहरु चली आएको छन । जसमध्ये एक थरी अग्रजहरु आफ्नो बंशको उत्पति बाँससङ्ग् जोडीएको तर्क गर्छन भने अर्का थरी आदिम कालमा कंचनजङ्घाको शिखरबाट उत्पति भएको विश्वास गर्छन् । 

जसअनुसार सृष्टिकर्ताले कंचनजङ्घा हिमशिखरमा दुवै हातले हिउँ उठाएछन् अनि दाँया मुट्ठीको हिउँले पुरुष र बाँया मुट्ठीको हिउँले स्त्रीको सृष्टि गरेछन अनि कालान्तरमा तिनै पुरुष र स्त्रीको जोडीबाट भएको सन्तान नै लाप्चा जातिको प्रथम बंश उत्पति हो भन्ने जन विश्वास रहिआएको छ ।

सामाजिक संरचना
लाप्चा जातिलाई आदिम कालमा जंगल बीच यी रुपमा मात्रै बसोबास गर्दै हिँड्ने फिरन्ता समुदाय मानिन्छ । कुनै पनि स्थानमा बढीमा ३ वर्ष नत्र ६ महिना वा वर्ष दिनमै आफ्नो बासस्थान स्थानान्तर गर्ने यो जाति कहिले निकै टाढा र कहिले नजिकै ठाउँ सर्ने गर्दथे । मानव जातिको विकासक्रमको निकै समयपछि मात्रै स्थायी घर बनाएर बस्न थालेको मानिन्छ । 

पुर्ख्यौली चलनअनुसार संयुक्त परिवारमा बस्न रुचाउने यस जातिको प्राचीनकालदेखि हालसम्म पनि सघन बसोबास दुर्गम पहाडी क्षेत्रहरुमा नै केन्द्रित रहेको भेटिन्छ । परिवारमा बाबु आमाको शेषपछि वा अनुपस्थितिमा घरको जेठो छोरोले स्वतः जिम्मेवारी सम्हाल्ने प्रचलन रहेको छ । यद्यपि यस जातिको परिवारमा महिला र पुरुषको समान भूमिका रहेको हुन्छ ।

जीवन शैली
लाप्चा जातिको पुर्ख्यौली पेशा परम्परागत कृषि हो । जीविकोपार्जनको लागि आवश्यक हातहतियार, लत्ताकपडा, भाडाकुँडा, तथा दैनिक उपभोग्य सामग्रीहरु आफैँ निर्माण र उत्पादन गर्ने यो जाति पुर्ख्यौली ज्ञान, सिप, भाषा, संस्कार, मौलिक भेषभुषा र सामाजिक जीवनशैलीका कारण स्वावलम्बी र निकै मेहनती मानिन्छ ।

वर्तमान समयमा उनीहरु आधुनिक कृषि प्रणाली र जीवनशैली तर्फ उन्मुख हुँदै गएका छन् ।

संस्कार संस्कृति
यस जातिको संस्कार संस्कृति मौलिक र विशिष्ट प्रकारको छ । उनीहरु जन्मदेखि मृत्युसम्मको संस्कार र पूजा आजा, “नामथर” नामक पुस्तकको आधारअनुसार गर्छन् । जीवनमा आईपर्ने यावत कुराहरु जन्म, मृत्यु, विवाह लगायत पाप, पूण्य जस्ता आत्मिक र आध्यात्मिक हरेक कर्मको निम्ति यो समुदायमा १३ भन्दा बढी संस्कारजन्य पुस्तक पाइन्छन् ।

उनीहरुमा छोरा वा छोरी जन्मनुमा कुनै फरक वा भिन्न महत्व राख्दैन तर पनि छोरी भए ३ दिन अनि छोरा भए ५ दिनमा सुत्केरी चोख्याउने चलन छ । 

उनीहरुमा परम्परागत विवाह हुँदा केटा वा केटीको व्यक्तिगत ईच्छा भन्दा घरायसी आवश्यकतालाई प्राथमिकतामा राखेर अग्रज बुढापाकाहरुको सरसल्लाह बमोजिम गरिन्छ ।

कसैको मृत्यु हुँदा गाउँठाउँमा चली आएको रीति अनुसार कतै जलाउने वा कतै जमीन मुनि गाडने गरिन्छ अनि
मलामी चोख्याउन घेवा गरिन्छ जुन उनीहरुको परम्पराअनुसार ७ दिन, २२ दिन वा ४९ दिनमा उपयुक्त दिन हेरेर गरिन्छ । उक्त कार्यमा मृतकलाई यावा वा लामाले आफ्नो संस्कारअनुसार विधिपूर्वक बाटो लगाउँछन् ।

थरको विकास
अन्य जातजातिहरुको जस्तै लाप्चा जातिको पनि उत्पत्ति विकास हुँदै जाँदा समयको अन्तरालसँगै विभिन्न
थर अनि उपथरहरु निर्माण भएको कुरोमा दुईमत नहोला । यसरी वंश विकाससँगै मौलिक परम्पराको पनि विकास हुँदै गयो । 

यही क्रममा आफ्नो सन्तान दरसन्तानलाई नजिक–टाढा छुट्याउनु, बिहेबारी अनि अन्य सामाजिक परिपाटीलाई सहज बनाउन थर–उपथरको विकास भएको हुन्छ र लाप्चा जातिमा पनि यही कुरो लागु हुन्छ । 

प्रचलित जनश्रुतिअनुसार शुरुमा दश ओटा थर बनेको र ती थरहरुको आ–आफ्नै कर्म र महत्व रहेको पाइएको छ । 

१, मनलोममु –प्रार्थना गर्ने
२, करबोमु – हतियार बनाउने
३, आदेनमु –सेवा सुविधामा ध्यान दिने
४, फ्युङ तालिम – धनुकाँड बनाउने
५, जोरिबु – खानपानको बन्दोबस्त गर्ने
६, ब्रिमु – पुलहरुको निर्माण र धनुमा चढाउने डोरी बनाउने
७, लतसोम मु –मुङ्पुनु आँखा फुटाइदिने
८, सिमिक मु –मुङपुनुको हातखुट्टा र टाउको काटिदिने 
९, साङदाङमु – मुङपुनुको जिउ धुलोपिठो बनाएर हावामा उडाइदिने ।

द्रष्टव्यः मुङपुनु –लाप्चा जातिको मिथक वा मान्यता अनुसार मुङपुनु एउटा भयानक राक्षस थियो । उक्त राक्षसलाई लाप्चाहरुको पुर्खा तामसँग थिङले युद्धमा पराजित गरेका थिए र त्यस युद्धमा आफूलाई सहयोग गरे वापत लाप्चाका पुर्खाहरुलाई विभिन्न दर्जाहरु दिइएको थियो । जो पछिबाट उनीहरुको थरको रुपमा प्रचलित भएको मानिछ ।

इलाम र लाप्चा जाति
माथि उल्लेख गरिए अनुसार नेपालको विभिन्न लोपोन्मुख भाषिक समुदायमध्ये लाप्चा जातिको बसोबास पूर्वी नेपालको पहाडी जिल्ला इलाम र सिमापारी सिक्किम, दार्जिलिङतिर आदिमकालदेखि रहेको तथ्य प्रष्ट भइसकेको छ । 

अन्तु र समालबुङ्ग हाल सूर्योदय नगरपालिकामा परापूर्वकालदेखि नै लाप्चा जातिहरुको ऐतिहासिक बसोबासको क्षेत्र मानिन्छ । इलामका इतिहासविद युद्धप्रसाद वैधका अनुसार अन्तु लाप्चा अर्थात् मोङ भाषाको अथुबाट व्युत्पति भएको हो । 

साथै इलाम जिल्लाभरिका स्थान नामहरु अधिकांश लाप्चा अर्थात रोङ भाषामा रहेका छन् भन्ने तथ्य प्रस्तोता प्रा डा नोवलकिशोर राई अनि डा नेत्रमणि दुमी राईद्वारा लिखित, प्रकाशित ‘इलामका लाप्चा जाति र स्थाननाम’  पुस्तकमा भेटन सकिन्छ । 

अन्तु अहिले नेपालकै एक प्राकृतिक सौन्दर्य र सूर्योदयको मनोरम दृष्यावलोकन गर्न पाइने पर्यटकीय गन्तव्यको रुपमा आकर्षणको केन्द्र बन्दै गएको छ । 

अन्तु र समालबुङ्ग लाप्चा जातिहरुको आदिम गड मानिएता पनि हाल अन्तु र समालबुङमा गरेर जम्मा १३० घर लाप्चा जाति रहेको संख्यात्मक विवरण छ ।

यद्यपि “रोङ सेंजुम ठि (लाप्चा उत्थान मंच)” का अध्यक्ष वीरबहादुर लाप्चा तथा समाजसेवी सरोज प्चाद्वयबाट प्राप्त विवरण अनुसार यस दुई स्थान बाहेक इलाम जिल्ला भरी छरिएर रहेका लाप्चा जातिहरु जम्मा ६४४ घरधुरी रहेका छन् । 

ती घरपरिवारहरुबाट १,४७४ जना महिला १,५८७ जना पुरुष गरी जम्मा ३०६० जना लाप्चाहरुको कुल जनसंख्या रहेको जनाइएको छ ।

काजी जगतबहादुर लाप्चा
लाप्चा जातिहरुको विभिन्न पेशा, समाजसेवा र सिर्जनात्मक कार्यहरुमा विशेष स्थान र पहिचान बनाएका शीर्ष व्यस्तित्वहरुको सूचीमा काजी जगतबहादुर लाप्चाको नाम ग्रपंक्तिमा आउँछ । 

आथिङ् काजी जगतबहादुर लाप्चा स्मृतिग्रन्थ नामक पुस्तकका अनुसार यस्तो छ उनको विवरण

काजी जगत बहादुर लाप्चा
जन्म– वि स १९८६ मंसिर २५ गते
मृत्यु– वि स २०६४ साउन १३ गते
माता– सीता लाप्चा
पिता– काजी जीतबहादुर लाप्चा
जन्मस्थान– साविक श्रीअन्तु ३

योगदान
१, साविकको श्रीअन्तु २ स्थित उत्तरे खेल मैदानको निर्माण काजी जगत बहादुर लाप्चाकै अगुवाईमा २०१० सालतिर भएको ।

२, २०१६ साल ताका वीपी कोइराला प्रधानमन्त्री हुँदा फिक्कल ग्राम विकास ब्लक अफिस मातहतको
अन्तु गाउँ सुधार सम्तितिको अध्यक्ष ।

३, २०१८ सालमा श्रीअन्तुको छिरुवामा प्रहरी चौकी स्थापना काजीकै पहलमा भएको थियो । त्यसबेला
धेरै गावीसलाई सोही चौकीले हेर्ने गर्दथ्यो ।

४, २०२० सालदेखि २०४३ सालसम्म श्रीअन्तु गाउँ पञ्चायतको प्रधानपञ्च ।

५, २०२२ सालमा सिद्धिखोलामा झोलुङे पुल निर्माण । तर सो पुल २०२५ सालमा
पहिरोले बगाएको ।

६, २०३० सालदेखि २०६० सालसम्म चार वर्ष वा दुई पदावधि बाहेक सबै पदावधि जनक मावीको
अध्यक्षमा कृयाशील ।

७, फिक्कल अन्तु मोटरबाटो निर्माण समितिको शुरुदेखि अध्यक्ष ।

८, लाप्चा उत्थान मंच (रोङ सेजुम ठि) संस्थापक अध्यक्ष ।

९, फिक्कल स्थित कजेनी गुम्बाको व्यवस्थापन तथा संचालन समितिको संस्थापक अध्यक्ष ।

१०, २०३८ सालमा अन्तु डाँडालाई पर्यटन विकास गर्न तत्कालीन प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएपछि उक्त सरकारले अन्तुडाँडालाई दीपेन्द्रदीप नामाकरण गरी चासो दिएको ।

११, २०३९ सालमा अन्तु पोखरीको निर्माण कार्य शुरु गरी निरन्तर सकृय रहेको ।

१२, श्रीअन्तुमा निर्माणाधीन लाप्चा संग्रहालय लाप्चाकै अध्यक्षतामा शुरु भएको ।

१३, अन्तुडाडामा सल्लाका रुखहरु २०३४ सालतिर लाप्चाकै अगुवाईमा रोपिएको ।

१४, हाल मेची राजामार्गको इलाम खण्डको भाग झापा र इलाम सीमाना हालको जोर कलशबाट फिक्कल –
इलाम आउने सडक निर्माणमा शुरुबाट सकृय भूमिका ।

१५, २०४९ सालमा श्रीअन्तुमा पहिलो उप–स्वास्थ्य चौकी भवन लाप्चाकै अध्यक्षतामा भएको ।

१६, २०२० सालमा तकपत बहुमुखी शहकारी संस्था इलाम माइपार दर्ता गरी सचिवको रुपमा काम
गरेको । 

१७, साना किसान सहकारी संस्था अन्तुको संस्थापक सदस्य । 
१८, अन्तु पर्यटन विकास केन्द्रको संस्थापक सदस्य ।

सन्दर्भ सामग्री–
१, इलामका लाप्चा जाति र स्थाननाम (पुस्तक) प्रस्तोता प्रा डा नोवलकिशोर राई अनि डा नेत्रमणी दुमी
राई ।
२, आथिङ काजी जगत ।
बहादुर लाप्चा –स्मृतिग्रन्थ  (प्रकाशक) काजी जगत बहादुर लाप्चा स्मृतिग्रन्थ
प्रकाशन समिति ।
३, गुगल 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ