arrow

भीमसेनदास प्रधानको परिवारमा लागेको त्यो दशा, कारण बन्यो एमजीको इलेक्ट्रिक गाडी [भिडियो]

पछिल्लो ११ महिनामा इलेक्ट्रिक भेहिकल ११ हजार भन्दा धेरै नेपालमा भित्रिएको तथ्यांक छ तर यसलाई परीक्षण र नियन्त्रण गर्ने कुनै उपकरण छैन, दशौँ अर्ब राजश्व छली 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २४ सोमबार
bhimsen-das-pradhan-accident.jpg

काठमाडौँ । गत साता मंगलबार नेपाली कांग्रेसका नेता तथा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानको परिवार एउटा ठूलो दुर्घटनामा पर्यो । अमेरिका उडेकी छोरीको बिदाइ गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्किनै लाग्दा उनकी श्रीमती विद्या वनमालीले एउटा अकल्पनीय दुर्घटना भोग्नुपरेको हो । यो दुर्घटनाको कारण थियो इलेक्ट्रिक भेहिकल । 

बागमती प्रदेश ०१–०२७ च १५९० नम्बरको उक्त गाडी एमजीको जेडएस भेरियन्ट मोडलको हो । यो प्रधानको परिवारले प्रयोग गर्दै आएको छ । छोरीलाई बिदाइ गरेर फर्किने क्रममा विभानस्थलको अराइभलतर्फको पार्किङबाट वनमालीले उक्त कार स्टार्ट मात्रै के गरेकी थिइन् गाडी अचानक हुँइकियो । 

प्रधानका अनुसार उक्त गाडीले एक्कासी एक सय भन्दा बढी किलोमिटर प्रतिघण्टाको स्पिड लिएपछि नियन्त्रण बाहिर गएको थियो । अरु गाडीसँग पनि ठोक्किन थालेपछि थप क्षति नहोस् भनेर वनमालीले कारलाई इँटाको थुप्रोमा ठोक्काइदिएकी थिइन् । 

यो दुर्घटनापछिको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल समेत भएको छ । विमानस्थलभित्रै अचानक त्यति ठूलो दुर्घटनापछि अचेत अवस्थामा रहेकी उनलाई ट्राफिक प्रहरी, प्रहरी र सर्वसाधारणले उद्दार गरी अस्पताल पठाएका थिए । उनको टाउकोमा गम्भीर चोट लागेको छ भने हात तथा छातीका विभिन्न हड्डीहरु भाँचिएको प्रधानले बताएका छन् । 

‘प्राविधिक कमजोरी मुख्य कारण’
यो दुर्घटनाको पछाडि सबैभन्दा मुख्य कमजोरी गाडीको प्राविधिक कमजोरी रहेको प्रधान बताउँछन् । स्टार्ट हुनेबित्तिकै गाडी एक्कासी हुत्तिनु र गाडी ठोक्किँदा पनि एयरब्याग नखुल्नुले अहिलेको क्षति भएको उनको भनाइ छ । सोही कारण घाइते वनमालीको अवस्था अहिले गम्भीर छ । 

कुनै पनि सवारी साधन ठूलो दुर्घटनामा पर्दा चालकको टाउको र छाती जोगियोस् भनेर एयरब्यागको व्यवस्था गरिएको हुन्छ । गाडीको स्टेरिङमा रहने उक्त एयरब्याग गाडी ठोक्किएर उच्च प्रेसर भएको ५ मिलिसेकेन्डभित्रै खुल्ने र यसले टाउको र छातीलाई स्टेरिङ वा त्योभन्दा अगाडिको भागसँग ठोक्किनबाट जोगाउँछ । 

यस्तो एयरब्याग सिटबेल्टले छातीमा पार्ने प्रेसरलाई समेत कम गराउने उद्देश्यले डिजाइन गरिएको हुन्छ । तर यो दुर्घटनामा एयरब्यागले समेत काम नगरेको प्रधानको भनाइ छ । 

एमजीले बेवास्ता गरेको गुनासो
एमजी चिनियाँ ब्राण्डको गाडी हो । उक्त गाडीलाई नेपालमा बिक्री वितरणको जिम्मेवारी प्यारामाउन्ट मोटर्स नामक कम्पनीले गरिरहेको छ । मुरारका अर्गनाइजेसन अन्तर्गतको उक्त कम्पनीमा मुख्य लगानी नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाको हो । 

दुर्घटनापछि प्रधानले गाडीको प्राविधिक अवस्था र दुर्घटनाबारे मुरारकासँग कुरा गरेका थिए । शुरुमा आफूले यसबारे बुझ्न लगाउने बताए पनि त्यसपछि भने मुरारका सम्पर्कमै आएका छैनन् । 

अहिलेसम्म गाडीको प्राविधिक पक्ष, दुर्घटनाको कारण र क्षतिपूर्तिबारे कुरा गर्न कम्पनीको तर्फबाट कोही नआएको र आफूले सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउनसमेत नचाहेको प्रधानको गुनासो छ ।

कम्पनीको मार्केटिङ विभागका सन्दीप क्षेत्रीले भने अहिले उक्त गाडीको प्राविधिक परीक्षण भइरहेको त्यसको निष्कर्ष आउन बाँकी रहेको बताए । यसका लागि केही समय लाग्नसक्ने उनको भनाइ छ ।  ‘उक्त दुर्घटना र गाडीको प्राविधिक पक्षबारे परीक्षण गरिरहेका छौँ, आयातित सामान भएकोले यसको परीक्षण गर्न समय लागेको हो । त्यसबारे केही दिनभित्रै रिपोर्ट सार्वजनिक गर्छौं,’ उनले भने । 

भगवान् भरोसामा ईभीको बजार
पछिल्लो समय नेपालमा इलेक्ट्रिक भेहिकलको बजार तीव्र बन्दै गएको छ । चालु आर्थिक वर्षको ११ महिनामा मात्रै ११ हजार भन्दा धेरै यस्ता सवारीसाधन नेपालमा भित्रिएको तथ्यांक छ । तर यसलाई परीक्षण र नियन्त्रण गर्ने कुनै उपकरण छैन । 

पछिल्लो समय ईभीको प्राविधिक पक्षदेखि क्षमता परीक्षणसम्मको काम सरकारको नियन्त्रणबाहिर रहेको छ । अहिलेसम्म नेपालमा यस्ता सवारी साधनको प्राविधिक पक्ष र गुणस्तर मापन गर्ने यन्त्र नै नभएको यातायात व्यवस्था विभागमा अधिकारीहरु बताउँछन् । उता क्षमता मापन गर्ने उपकरण नहुँदा वार्षिक दशौँ अर्ब राजश्व छली भएको तथ्यसमेत बाहिर आएको छ । 

केही समयअघि एमजीकै गाडी एक्कासी आगो लागेको घटना सार्वजनिक भएको थियो । त्यो समयमा कम्पनीले आफ्नो प्राविधिक कमजोरी अस्वीकार गरेको थियो । एमजी मात्रै नभएर अरु इलेक्ट्रिक भेहिकलहरुमा समेत पछिल्लो समय एकपछि अर्को यस्ता समस्या देखिँदै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ