arrow

गाउँ नै लुट्ने समूह पक्राउ, तीन जना सार्वजनिक पाँच अझै फरार

logo
नृपेन्द्रबहादुर मल्ल, 
प्रकाशित २०८१ असार २३ आइतबार
loot-group-mugu-81-3-23.jpg

मुगु । गाउँ र यार्सा लुट्दै हिँड्ने लुटेरा समूहलाई नेपाल प्रहरीले अत्याधुनिक हतियारसहित पक्राउ गरी सार्वजनिक गरेको छ । आइतबार साँझ पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय मुगुले लुटेर समूहमा संलग्न ३ जनालाई सार्वजनिक गरेको हो ।

जुम्लाको पातारासी गाउँपालिका–३ महरीगाउँको चनेलेख नजिकको पाटनबाट अत्याधुनिक हतियारसहित प्रहरीले ६ जना पक्राउ गरेको थियो । पक्राउ परेका ६ जनामध्ये ३ जनाको मात्र प्रत्यक्ष संलग्नता देखिएको प्रहरीले जनाएको छ । 

पत्रकार सम्मेलनमा प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले दिएको जानकारी अनुसार  घटनामा संलग्न अन्य ५ जना अझै फरार रहेका छन् । उनीहरुलाई नियन्त्रणमा लिन प्रहरीले खोजी तिव्र पारेको छ ।

गत जेठ १२ गते मुगुम कार्मारोङ गाउँपालिका–१ डोल्फु गाउँका स्थानीयहरू यार्सागुम्बा संकलन गर्न पाटनतिर गएको मौका छोपी लुटेरा आठ जनाको  हतियारधारी समूहले गाउँमा लुटपाट गरेको थिए । 

लुटेरा समूहले गाउँका २४ वटा घर १ गुम्बाबाट सुन ३५ तोला,चाँदी ९९४ दशमलव ५ तोला, बुद्धको मूर्ति,रिणिमोक्क्ष माइको मूर्ति,मुगाको माला ९५ तोला,यार्सा,मोबाइल र ५० लाख २५ हजार नगद लुटेर लिएको भन्दै स्थानीयले प्रहरीमा जाहेरी दिएका थिए ।

घटना लगत्तै मुगु प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक प्रकाश सिंह कमाण्डमा प्रहरी खटिइ विभिन्न ७ वटा स्थानमा अनुसन्धान शुरु गरेको थियो । यो अनुसन्धान र खोजतलासमा मुगु प्रहरीले  जुम्ला, हुम्ला, कालिकोट र डोल्पाका प्रहरीसँग समन्वय सहकार्य गरी नाकाहरुमा प्रहरी परिचालन गरेको  थियो । 

घटना भएको झण्डै एक महिनापछि गाउँ र  यार्सा लुटपाटमा संलग्न आठ जनाको टिममध्ये प्रहरीले ३ जनालाई  पक्राउ गर्न सफल भएको प्रहरी नायव उपरीक्षक थापाले बताए । 

प्रहरीका अनुसार यार्सा तथा गाउँ लुटन संलग्न रहेका आठ जनाको टिम  जुम्ला जिल्लाकै भएको पृष्टि भएको छ । उनीहरुबाट लुटपाटमा प्रयोग गरिएको अत्याधुनिक हतियारसमेत प्रहरीले बरामद गरेको छ ।

प्रहरीले बरामद गरेका हातहतियारमा कटुवा पेस्तोल १ थान, एसएलआर १ थान, २ थान म्याग्जिन, २५ राउण्ड गोली, ३ थान ओकेटोके, १ थान बाइनाकुलर, ५ सेट आर्मीको कम्व्याक ड्रेस, १ वटा ट्रेकिङ झोला  र १ वटा सल रहेका छन ।

यस्तै पक्राउ परेकाहरुबाट प्रहरीले सुनको रिङ्ग २ थान, सुनकै माडुली २ थान (बिक्री गरेर पश्चात जुम्ला प्रहरी मार्फत बरामद) पनि बरामत गरेको छ ।

पक्राउ परेका जुम्ला जिल्ला  गुठिचौर गाउँपालिकाका वडा नं ३ का आक्रोश पर्शे भनिने गणेश भण्डारी,सोही ठेगानाका पुर्णप्रसाद भण्डारी र  वडा नं ४ का कमल थापाको घटनामा प्रत्यक्ष संलग्नता रहेको पाइएको  प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका अनुसार विगत तीन वर्षदेखि जुम्ला, डोल्पा र मुगु जिल्लाका पाटनहरुमा पुगी यो समूहले यार्सा संकलक तथा व्यापारीहरुबाट समेत यार्सागुम्बा लुट्दै आएको  थियो ।

लुटेराहरुसँग अत्याधुनिक हतियार कसरी पुग्यो,यो समूहमा अन्य को को संलग्न  छन् भन्ने अनुसन्धान भैरहेको पनि प्रहरीले बताएको छ । 

गत वर्ष पनि वडा नं १ वाङ्री गाउँमा पनि लुटेरा समूह र स्थानीयबीच झगडा भएको थियो । त्यो बेला लुटेराहरुले स्थानियहरुबाट यार्सा लुटेर भागेका थिए भने प्रतिकार गर्ने करिब १ दर्जन स्थानीय घाइते भएका थिए ।

मुगुका २ दर्जन पाटनहरुमा पाइने यार्सागुम्बा लुट्न बर्सेनि यो समूह कहिले कुनै पाटन त कहिले कुनै पाटन पुग्ने गरेको र मुगु,डोल्पाका पाटनहरुमा सधै यार्सा लुट्न पुग्ने यही समूह भएको हुन सक्ने अनुसन्धानले देखाएकोसमेत प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले आइतबार आयोजित पत्रकार सम्मेलनमा बताए । 

प्रहरीले आइतबारै मुगु जिल्ला अदालतबाट २०  दिन लुटेरा समुहलाई थुनामा राखी अनुसन्धान गर्न अनुमति लिइसकेको छ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ