काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले आइतबार बस्ने व्यवस्थापिका–संसद बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरुलाई ‘ह्वीप’ जारी गरेको छ ।
एमाले संसदीय दलको विहीबार बसेको बैठकले अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीकाविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावबारेको छलफलमा अनिवार्य उपस्थित हुन सांसदहरुलाई ह्वीप जारी गरेको संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए ।
बैठकले कार्कीकाविरुद्धको महाअभियोग लगाउने प्रस्तावका पक्षमा लाग्न वुधबार हस्ताक्षर गर्न छुटेका सांसदहरुलाई निर्देश समेत गरेको छ । वुधबार एमाले र माओवादी केन्द्रका १५७ जना सांसदले हस्ताक्षर गरेर संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गराएका थिए ।