काठमाडौं । लामो समय देखि अख्तियार प्रमुख लोकमानसिंह कार्कीको कार्यशैली र मौलाउँदो भ्रष्टाचारविरुद्ध संघर्ष गरिरहेको विवेकशील नेपाली पार्टीले संसदमा महाभियोग समिति गठन हुनु र कार्कीविरुद्ध महाभियोग दर्ता हुनु सुखद् भएको प्रतिक्रिया दिएको छ ।
विवेकशील नेपालीका प्रवक्ता रमेश पौड्यालले विहिबार जारी गरेको विज्ञप्तिमा छिल्लो राजनीतिक विकासक्रमका रूपमा संसदले ११ सदस्सीय महाभियोग समिति गठन गरेको र त्यस लगत्तै नेकपा एमाले र नेकपा माओवादी केन्द्रका १५७ सांसदहरुले विवादास्पद भूमिकामा रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई महाभियोग लगाउने प्रस्ताव दर्ता गराएका छन् यी दुवै घटनाक्रमको विवेकशील नेपाली दल हार्दिक स्वागत गर्दछ– भनिएको छ ।
विज्ञप्तिमा अगाडी भनिएको छ, ‘यस घटनाले ढिलै भएपनि सार्वभौम संसदको विश्वसनीयता केहि हदसम्म जोगिएको हामीले ठानेका छौं ।’
यस्तै, कडाईका साथ विज्ञप्तिमा ‘डा. गोविन्द केसीको पटकपटकको सत्याग्रहद्वारा हासिल उपलब्धि तुहाउने तथा चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई सिमित व्यापारिक स्वार्थका खातिर आमनागरिकको पहुँचबाट टाढा पुर्याउने षडयन्त्रले पहिलो धक्का खाएको छ’–भनिएको छ ।