arrow

सुनसरीको धरान , जहाँ दिउँसै यात्रु लुटिन्छन्

लेगुवा भोजपुरमा पनि उस्तै

logo
सुनिल सापकोटा
प्रकाशित २०७३ कार्तिक ५ शुक्रबार
Dharan_Sunsari.jpeg
धरान। पूर्वी नेपालको धरान चलेको शहरको नाम हो | सुनसरी जिल्लाको पहाडी भागसँगको सम्पर्क बिन्दुको रुपमा रहेको धरान भौगोलिक र वातावरणीय हिसाबले पनि अत्यन्तै सुन्दर छ | तर यातायत व्यवस्थापनका हिसाबले धरान भनेको पूर्वको नर्क हो भन्दा फरक पर्दैन |
 
प्रशासनको बेवास्ता र यातायत व्यवसायीको मनपरीतन्त्रको कारण यति सुन्दर शहर यात्रुका लागि नर्क जस्तै भएको हो | धरानको सवारीसाधन व्यवस्थापन यति फितलो छ कि यात्रुले दिउसै लुटिनु पर्ने खालको छ | मनलाग्दी ढंगले बिसौनी तोकिएको छ |
 
काठमाडौंबाट धरान आउने नाईट गाडीलाई नयाँ बसपार्कमा बिसौनी तोकिएको रहेछ | त्यसैले नाइट गाडी भन्छ ' बरगाछीबाट अगाडी जान मिल्दैन |' धरान हुँदै पूर्वी पहाडका धनकुटा , भोजपुर , तेह्रथुम , संखुवासभा लगायतका जिल्लाबाट आउने गाडीको लागि बस स्टप भानु चोकमा तोकिएको छ | यसैका कारण यात्रुहरु मर्कामा परेका छन् |
 
गाडीहरुले यात्रुलाई बरगाछी चोकमा ल्याएर अलपत्र छाडिदिने गरेका छन् | त्यो चोकबाट पहाडी जिल्लामा जाने गाडी चढ्न लगभग २.५० किलोमिटर हिडेर भानुचोक जानुपर्ने बाध्यता रहेको छ | सबै यात्रुले झोलामा समान बोकेको हुनाले हिडेर जान गाह्रो पर्छ | त्यसैले अटोले लिने चर्को भाडा तिरेर यात्रु भानुचोकको गाडी चढ्न जनाका लागि बाध्य छन् |
 
अटोले यसै बेला यात्रुलाई लुटेर मौकाको फाइदा उठाउँछ | बरगाछी चोकबाट भानुचोक जान यात्रुलाई अलपत्र पारेर अटोलाई मालामाल बनाउने षड्यन्त्र कतै प्रशासनले नै त गरेको होइन प्रश्न उठ्न स्वभाविक छ | नत्र प्रशासन किन मुकदर्शक र मौन छ ? प्रशासनले नै यात्रुलाई लुट्न छुट दिएको हो ? प्रशासन नालायक हो भन्दा अतियुक्ति नहोला |
 
अन्य गाडी नयाँ बसपार्क जाने व्यवस्था गर्ने प्रशासनले पहाडी जिल्लाबाट आउने गाडीलाई भानुचोकमा नै रोक्ने व्यवस्था किन गर्यो ? पहाडी जिल्लाबाट आउने गाडीलाई पनि नयाँबसपार्क नै जाने व्यवस्था किन लागु गरेन ? यदि पहाडी जिल्लाबाट आउने गाडी पनि अन्य गाडी झैं नयाँ बसपार्क जान पाउने हो भने यात्रु दिउँसै लुटिने थिएनन् |
 
कि त यात्रुलाई बरगाछी चोकमा होइन भानुचोकमा उतारेर नयाँ बसपार्क जाने व्यवस्था गर्नुपर्न्थ्यो नालायक प्रशासनले | तर प्रशासन र यातायात व्यवसायीको मनपरीतन्त्रले यात्रु ठगिने र लुटिने क्रम जारी छ |
 
अटोको दशैं भएको छ भने यात्रुलाई दसा लागेको छ | यस्तै ताल हो भने धरान आउने आन्तरिक पर्यटकले त्यहाँ लुटिन जाने भन्ने अवस्था नआउला भन्न सकिन्न |
 
पूर्वी पहाडी जिल्ला भोजपुरको प्रवेशद्वार भनेको लेगुवा हो | लेगुवा बजारको  धनकुटातिरको भाग (रामबजार ) अलि ठूलो छ भने भोजपुर तिर सानो बजार छ  | धरानबाट आउने गाडीले लेगुवामा लगेर यात्रुलाई ओराल्छ | त्यहाँबाट भोजपुर जाने रुटको गाडी अहिले पाइँदैन |
 
बाटो बिग्रेको कारण देखाउंदै यातायात व्यवसायीले रुटको गाडी दशैंको अवसर पारेर बन्द गरेका छन् | हुन् पनि लेगुवाबाट भोजपुर जाने सडक अत्यन्तै खराब हालतमा छ | तर लेगुवाबाट भोजपुर जाने हो भने ३५ हजारमा बस रिजर्भ गरेपछि भने चढ्न पाइन्छ |
 
लेगुवा भोजपुरको कानुनीरुपमा ५०० भाडा हो तर रिजर्भ जाने हो भने ७ सय देखि १२ सय सम्म यात्रुले तिर्नुपर्छ | लगुवाबाट भोजपुर जादाँ आधा दूरीमा रहेको प्याउली र त्यस आसपासका गाविसहरु चरम्बी, याङ्‌गपाङ्ग ( सिस्नेरी ) , चम्पे , हेलौछा लगायतको ठाउँका बासिन्दाले पनि उत्तिकै भोजपुरकै रिजर्भको चर्को  भाडा तिर्नु पर्छ । यातायात व्यवसायीको यो एक प्रकारको खुलेआम लुटाई हो ।भोजपुरका बासिन्दाहरु लेगुवा पुग्नु र बस चढ्ने बेलाको अवस्था र विदेशबाट दु:ख पाएर घर फर्केका नेपालीले मुलुकको एकमात्र अन्तर्राष्ट्रिय बिमानस्थलमा लुटिनु र हैरानी पाउनुको पीडा उस्तै उस्तै छ |
 
दशैमा घर हिडेका मान्छेहरु लेगुवा पुगेपछि ठगिनु पर्छ | आफ्नै गृह जिल्लामा लुटिएर आउनुपर्छ | इटहरीबाट गएका धराने गाडीले पनि यात्रुलाई बीचबाटोमा लगेर अलपत्र पारेर छाडिदिने गरेका छन् |
 
धराने गाडीले भोजपुरको ओदानेसम्म मात्र यात्रु लिएर जान्छन् | त्यहाँ लगेर यात्रुलाई बेबारिसे अवस्थामा छाडी दिन्छन् | यति गर्दा पनि भोजपुरमा प्रशासन नै छैन जस्तो भान हुन्छ | हुन त देश माफियाले चलाए पछि यस्तै हुन्छ । यहाँ नियम र कानूनले काम गदैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ