arrow

महाअभियोग प्रस्ताव: काँग्रेसलाई जनताले 'राम-राम' भन्न नपरोस

logo
प्रकाशित २०७३ कार्तिक ५ शुक्रबार
congress_lokman.jpeg
काठमाडौं। महाअभियोग प्रकरणमा विभिन्न कोणहरु देखिन थालेका छन्। देशका प्रम पनि बिच्किएका छन् भने नेपाली काँग्रेसले कुनै आधिकारिक निर्णय गरेको छैन्। सबै पार्टीहरुले आन्तरिक छलफलमा भनेर संसदसँग समय माग गरेका छन्। सर्वसाधारण पुरै अलमलमा रहेको स्थिती छ। अब के हुन्छ ? अहलेको सबैभन्दा ठुलो प्रश्न रहेको छ। 
 
पछिल्लो समयमा नेपालका सबैभन्दा विवादित पात्र लोकमान सिंह कार्की रहेका छन्। उनी ६२-६३को आन्दोलन हुँदा मुख्य सचिव रहेका थिए र आन्दोलन सफल भए लगत्तै निलम्बनमा परेका थिए। उनको नियुक्ति प्रक्रियामा त्रुटी रहेको भन्दै सर्वोच्च अदालतमा मुद्दा बिचाराधीन रहेको अवस्थामा उनी माथि संसदमा महाअभियोगको प्रस्ताव पनि दर्ता भएको छ। 
 
सर्वोच्च अदालतले तामेलीका लागि पठाएको चिठ्टी पनि बुझ्नका लागि अनेक प्रयत्न गरेका लोकमान नेपाली समाजमा दिनदिनै उदांगो हुँदै गर्इरहेका छन्। संवैधानिक आयोगका प्रमुखले अदालतको मानमर्दन गर्नु भनेको उनी कस्ता सोच भएका मानिस हुन भन्ने प्रष्ट भएको छ। 
 
यस्तो सोचकासाथ संवैधानिक पदमा बस्न कुनै पनि सभ्य समाजले पचाउन सक्दैन भन्ने हेक्का उनले राख्नु पर्ने हो तर मानिसको सोच र दम्भले अन्तमा विनाश निम्त्याउँछ भन्ने कुरा याद नगर्नाले नासिनु नै नियती हुन जाने निश्चित छ। अब सायद लोकमानलाई कसैले पनि बचाउन सक्दैनन्। उनको पद जाने क्रममा अरु धेरै लहरो तानिएलान् र समाजले धेरै नकाबहरु खुलेको देख्न पाउन सक्ने संभावना रहेको छ। 
 
नियुक्तिका बेला नै धेरै विवादमा परेका पात्र लोकमानलाई नेपालका ठूला दलका शीर्षहरुले काँध थापेका थिए। किन त्यसरी काँध थापे उनीहरुले नभने पनि संचारको यो युगमा समाजले सजिलै आंकलन गरिसकेको छ। भारतको आड र दवाव थेग्न नसकेपछि नेपाली नेताहरु निरीह बनेका थिए। 
 
अहिले फेरि भारतले उनको महाभियोग रोक्न कसरत गरिरहेको समाचारहरु बाहिर आउन थालेको कुरा स्पष्ट भएको छ । नेपालको राजनीतिमा खेलेर अस्थिरतामा राखिराख्ने ध्येय भारतको रहेको छ। मीठा र चिप्ला कुरामा हाम्रा नेताहरु जबसम्म फसिरहनेछन् तबसम्म नेपालमा स्थिरता कल्पना नगरेको नै राम्रो रहेछ। 
 
नेपाली नेताहरु निश्कलंक रहेका भए सायद उनको नियुक्ति हुन दिदैन थिएहोला । तर उनको नियुक्तिका बेला निरीह भर्इयो भन्ने अभिव्यक्तिले नेताहरुको छवी कस्तो छ भनेर सजिलै आंकलन गर्न सकिन्छ। बहुदलीय लोकतन्त्रमा विश्वास राख्ने अधिकांश नेपालीहरु नेताहरु सुध्रिन्छन् भनेर आशमा बसेका छन् तर लक्षण पुरै प्रतिकूल रहेको छ। 
 
एक चरण तीन ठुला दलका शीर्ष नेताहरुबीच छलफल भएपछि आएको महाअभियोगमा सत्ताधारी पार्टीहरु अलमलमा परेका छन्। शीर्ष र केही प्रमुख नेताहरु बाहेकका पार्टी पङ्ति महाभियोगको पक्षमा रहेको छ। काँग्रेसका गगन थापा, धनराज गुरुङ, विश्वप्रकास शर्मा लगायतका प्रभावशाली दोस्रो पुस्ताका नेताहरु महाभियोगको पक्षमा रहेका छन्। उनीहरुको जोडबलले काँग्रेस ढिलै भए पनि महाभियोगको पक्षमा उभिने छ भन्ने विश्वास उसका आम मतदाताले गरेका छन्। 
 
काँग्रेसले के गर्ला ?
 
अहिलेको स्थितीमा काँग्रेस महाभियोगको बिपक्षमा गयो भने अर्को चुनावमा इतिहासमा नभोगेको हार व्यहोर्ने निश्चित रहेको छ। लोकतन्त्रकालागि  लडेको र आफूलाई लोकतन्त्रको हिमायती ठान्ने पार्टीले लोकले मागेको बेला अनुकूल निर्णय गर्न सकेन भने कसैले बचाउन सक्नेछैन । सम्भवत: काँग्रेस भित्र ठूलै भुईँचालो जानेछ र चिराहरु परेर फाँटिने स्थिती पनि आउन सक्ने आंकलन सजिलै गर्न सकिन्छ।
 
पछिल्लो समयमा गरेका अनगिन्ती गल्तीहरुकालागि जनतासँग माफी माग्नकालागि पनि यो महाभियोगमा काँग्रेसले खुलेर समर्थन जनाउनु पर्नेछ। अहिले काँग्रेसले समर्थन जनाएमा उसले बिगतमा गरेका गल्तिहरुकालागि जनताले सजिलै माफ गरिदिनेछन् नत्र थप गल्ति गर्दै जाने हो भने काँग्रेसले अर्को चुनावमा भाग नलिंदा राम्रो हुनेछ। 
 
काँग्रेसले आफ्नो लोकतान्त्रिक बिगतको ईज्जतकालागि भए पनि अलोकतान्त्रिक प्रवृतीका बिरुद्ध उभिनु पर्छ नत्र केही काँग्रेसी ठुला नामहरु निश्चित रुपमा बदनामी भोग्नु पर्नेछ।
 
काँग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो सुझबुझ लगाएर महाअभियोगका पक्षमा काँग्रेसलाई ल्याउने छन् भन्ने आशा उनका कार्यकर्ता र काँग्रेसका भोटरहरुले गरेका छन्। आशलाग्दा दोस्रो पुस्ताका नेताहरु भएको पार्टीले लोकले खोजेको निर्णय गर्ने छ। नत्र भीरमा उभिएको स्थितिमा रहेको काँग्रेसलाई राम राम भन्नु पर्ने हुन्छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ