arrow

मासुमा आत्मनिर्भर बनाउन बाख्रा वितरण

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २० शनिबार
Mirchaya nagarpalika.jpg

सिरहा । सिरहाको मिर्चैया नगरपालिकाले उन्नत जातका एक सय बाख्रा वितरण गरेको छ । नगरपालिकालाई मासु उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई बाख्रा वितरण गरेको हो । 

नगरपालिकाले तीन समूहका ५० किसानलाई दुई वटाका दरले समूहको १० प्रतिशत र नगरपालिकाको ९० प्रतिशत लगानीमा एक सय बाख्रा नगरप्रमुख श्रवणकुमार यादवले हस्तान्तरण गरेका हुन् । 

उनले भने, “आर्थिक अवस्था कमजोर भएका दलित, गरिब, असहाय परिवारको आर्थिक अवस्था सुधार गर्दै स्वरोजगार बनाउन र मासु उत्पादनमा आत्मनिर्भर बनाउनका लागि नगरपालिकाले यो नीति अघि सारेको हो ।”

नगरपालिकाबाट दुईवटा उन्नत जातका बाख्रा पाउँदा खुसी लागेको मिर्चैया नगरपालिका-५ बस्ने चन्द्रकलादेवी महराले बताइन् । 

“नगरपालिकाले कुनै सेवासुविधा प्रवाह गर्दा हामीलाई केही जानकारी दिँदैन, छ वर्षमा यसपालि एकै पटक दुईवटा बाख्रा पाए निकै खुसी छु”, महराले भनिन्, “घरको आर्थिक अवस्था यसले सुधार हुन्छ भन्ने विश्वास लिएको छु । यसलाई दुईबाट चार बनाएर उचित मोलमा बिक्री गर्ने योजना छ ।”

गौरी महिला बाख्रापालन समूह मिर्चैया नगरपालिका-५ का १५, जितमहान बाख्रापालन समूह वडा नं ६ का १० र प्रगतिशील बाख्रापालन समूह वडा नं ३ का २५ किसानलाई जमुनापारि, खरी, बोयरक्रस जातको उन्नत बाख्रा वितरण गरिएको नगरपालिका पशुसेवा शाखाप्रमुख नागेश्वर हाथीले जानकारी दिए । 

उनका अनुसार आव २०७९/८० मा नयाँ बाख्रा पकेट क्षेत्र विकास कार्यक्रमअन्तर्गत रहेको १० लाख विनियोजित रकमले बाख्रा हस्तान्तरण गरिएको हो । रासस



नयाँ