arrow

विद्यालय पुनःनिर्माणमा महायज्ञबाट चार करोड सङ्कलन

logo
प्रकाशित २०७३ कार्तिक ६ शनिबार
Baglung-hamrakura.jpg.jpeg
बागलुङ। विद्यालय पुनःनिर्माणका लागि शिक्षक, कर्मचारीले आफ्नो तलब कटाएर सहयोग गरेका छन्। यहाँस्थित विद्यामन्दिर माध्यमिक विद्यालयका शिक्षक, कर्मचारीले रु १२ लाख ५० हजार सहयोग जुटाएका हुन् । सबैले आआफ्नो हैसियतमा आर्थिक सहयोग उपलब्ध गराएको विद्यालयले जनाएको छ।
 
विद्यालय पुनःनिर्माणको उद्देश्यले सुरु भएको धान्याचल महायज्ञको अवसर पारेर सो सहयोग प्रदान गरिएको विद्यालयका प्राचार्य जगन्नाथ आचार्यले बताए। गत वर्षको भूकम्पले जीर्ण बनाएको विद्यालय भवन पुनःनिर्माणको लागि गत बुधबारदेखि महायज्ञ सुरु भएको छ। “आफूले सेवा गरिरहेको विद्यालयको भवन निर्माणको लागि शिक्षक, कर्मचारीले आआफ्नो तलब कटाएर सहयोग गरेको” प्राचार्य आचार्यले भने।
 
भवनको एउटा कोठा निर्माणका लागि आवश्यक पर्ने रु १२ लाख ५० हजार विद्यालय परिवारलेनै उपलब्ध गराएको हो। विद्यालयले सुविधा सम्पन्न २५ कोठे भवन निर्माणको काम सुरु गरेको छ।
 
भवनकै लागि आर्थिक सहायता जुटाउन लगाइएको महायज्ञका क्रममा २५ भन्दा बढी दाताले एक÷एक कोठा निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्। महायज्ञका महासचिव समेत रहेका आचार्यका अनुसार महायज्ञको तेस्रो दिनसम्ममा रु चार करोड बढी रकम सङ्कलन भइसकेको छ।
 
विद्यालयका पूर्व विद्यार्थी, उद्योगी, व्यवसायी, शुभेच्छुकलगायतले एउटा कोठा निर्माणका लागि चाहिने रु १२ लाख ५० हजार सहयोग गरेका हुन् । आगामी १० गतेसम्म चल्ने महायज्ञमा रु १० करोड बढी रकम उठ्ने अपेक्षा गरिएको छ।
 
इतिहास बोकेको विद्यालयको चौतर्फी विकासको लागि सहयोग गरेको दाताले प्रतिक्रिया दिएका छन्। आफ्ना स्व हजुरबुबा, हजुरआमा, बुबा, आमालगायतको स्मृतिमा परिवारका सदस्यले सो रकम विद्यालयलाई प्रदान गरेका हुन्।
 
विद्यालयको नयाँ भवनमा कोठाको नामाकरण दाताकै नामबाट गरिने जनाइएको छ। रु १२ लाख ५० हजारभन्दा माथिको सहयोग गर्ने दाताको नामबाट कोठाको नामाकरण गर्ने व्यवस्था गरिएको छ । यसरी, सिङ्गै कोठा निर्माणको लागि सहयोग गर्नेमा महायज्ञका अध्यक्ष एवम् बागलुङ निवासी लालचन्द्र राजभण्डारी, बागलुङ घर भई हाल अमेरिका रहनुभएका जयप्रकाश श्रेष्ठ रहेका छन्।
 
यसैगरी, विद्यामन्दिर माध्यमिक विद्यालयका शिक्षक÷कर्मचारी, विद्यालयका संस्थापक ओमप्रसाद गौचनका छोरा ओमकारप्रसाद गौचन, बागलुङ घर भई हाल अमेरिका रहनुभएका हीरालाल गौतम रहेका छन्। देशकै पुरानोमध्येमा पर्ने विद्यामन्दिर माध्यमिक विद्यालय विसं १९९७ मा स्थापना भएको हो। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ