- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
केही दिनअघि अष्ट्रेलियाको उत्तर–सिड्नीस्थित अमेरिकी महावाणिज्य दूतावासको एक सामूहिक कार्यकक्षमा काम गरिरहेको समयमा एक जीवित संग्रहालय नै भन्न सकिने विशेष व्यक्तित्वलाई भेट्ने दुर्लभ अवसर प्राप्त भयो ।
त्यसदिन दिउँसो राजधानी शहर क्यानबेराबाट आएकी अमेरिकी राजदूत क्यारोलाइन केनेडी बिना सूचना हाम्रो कार्यकक्षभित्र प्रवेश गरिन् । उनले हामी सबैसँग मुसुमुसु हाँस्दै पालैपालो 'ह्यान्ड्सेक’ गरिन् । हाम्रो छोटो ब्यक्तिगत जीवन अनि हामीले गरिरहेको कार्यक्रमको बारेमा चासो लिएर सुनिन् ।
त्यसपछि हामी सबैलाई तोकिएको विशेष काम सम्पन्न गर्नको लागि घर परिवार छोडेर छोटै समयको लागि मात्रै भए पनि सिड्नी आएकोमा धन्यवाद दिइन्।
अन्त्यमा हामीसँग छुट्टिनुअघि सामूहिक फोटो लिने इच्छा यसरी जाहेर गरिन् मानौँ हामी चर्चित ब्यक्तित्व थियौँ र उनी एक सर्वसाधारण ब्यक्ति थिइन् जो असाधारण ब्यक्तित्वको किनारमा उभिएर तस्बिर खिच्नको लागि सधैँ प्रतिक्षित रहन्छ ।
जोन एफ केनेडी सन् १९६० मा अमेरिकाको ३५ औँ राष्ट्रपतिको रुपमा निर्वाचित भएपछि सन् १९६३ मा टेक्सास राज्यको डालास शहरमा चुनावी प्रचार प्रसार गर्दै गर्दा एक बन्दुकधारीको आक्रमणबाट नमारिउन्जेलसम्म ह्वाइट हाउसमा ‘प्रथम सुपुत्री’ को रुपमा ज्यादै छोटो तर सुखद बाल्यकाल बिताएकी क्यारोलाइनलाई पहिलो पल्ट प्रत्यक्ष रुपमा भेटिरहेको यथार्थलाई प्रोसेसिंग गर्न मेरो मष्तिष्कलाई केही समयसम्म हम्मे हम्मे भएको थियो।
क्यारोलाइनको सामान्य भन्दा पनि सामान्य मानिस जस्तै बनेर,भब्य पारिवारिक विरासतलाई केहीबेर सुटुक्क एक कुनामा थन्क्याएर सबैसँग घुलमिल हुन सक्ने मिजासिलोपन देखेर म अचम्ममा परेको थिएँ। सबै साथीहरु क्यारोलाइनलाई भेटेर उनीसँग फोटो खिच्न पाएकोमा दङ्ग थिए । केहीबेर त म पनि दङ्ग भएँ।
तर मेरो खुशी अलिक लामो समयसम्म टिकेन । उनी हिँडेको केही मिनेटपछि मेरो मन अचानक भारी भएर आयो । म यसरी आफैसँग अप्ठेरो गरी टसमस भएँ जसरी भरिएर बिर्को लगाएर राखिएको बोतलको पानी चलमल गर्न नसक्ने भएर बसेको हुन्छ। मेरा आँखा अचानक रसाउन थाले । आँशु खस्नुअघि म अवरुद्ध गला लिएर कार्यालय बाहिर निस्केँ ।
मिलर स्ट्रिटमा दायाँ मोडिएर म्याक्माहन पोइन्ट हुँदै वर्तमान प्रधानमन्त्री एन्थोनी अल्बानिजको निजी निवास हुँदै सिड्नी हार्बरको किनार नभेटिउन्जेल एकोहोरो हिँडिरहेँ ।
बाटोभर मेरो दिमागको पर्दामा सन् २०२० मा सार्वजनिक भएको उनकी आमा ज्याकी केनेडी ओनासिसको जीवनमा आधारित ‘‘आइ एम ज्याकी ओ’’ नामक वृत्तचित्रमा कैद भएका क्यारोलाइन केनेडीका बाबु, काका, भाइ र निर्दोष बालापनलाई असमयमै गुमाउनु पर्दाका कारुणिक दृश्यहरु एकपछि अर्को गर्दै आए ।
हार्बरमा पुगेपछि प्यासिफिक महासागरलाई सुटुक्क छोडेर अलिक होँचो जमीनमा लुक्न आएको त्यो नुनिलो पानीको सर्फ सहितको सर्सराहटले बालुवाको फैलावट अनि ढुंगाको पर्खाललाई दिएको हल्का स्पर्समा मेरा आँखा त्यसरी नै अल्झिए जसरी मेरो मन क्यारोलाइनलाई देखेपछि अल्झिरहेको थियो ।
क्यारोलाइनलाई भेटेपछि म किन दुखेँ ? मेरा आँखा किन रसाए ? मेरो गला किन निसास्सियो ? किन कसैले मेरो घांटीमा कसैले हात राखे जस्तो महसुस भयो, म यसै भन्न सक्तिन ।
कतै मेरो मनले मलाई थाहा नदिइकन क्यारोलाइनको बाल्यकालीन जीवनलाई आफ्नो विगतसँग दाँज्दै त थिएन ? नत्र मलाई किन त्यति विधि सकस भइरहेको थियो ? किन म अरु सबै रमाइरहेको त्यस सुखद क्षणमा पनि दुःखी थिएँ ? के मन मनोवैज्ञानिकहरुले भने जस्तो आफ्नो खुशीका लागि अति नै पर-निर्भर हुन्छ ? किन मेरो मनले विगतलाई बिर्सन दिन्न ?
हामी सानो हुँदा नेपालमा परीका कथाहरु पढ्ने–पढाउने अनि सुन्ने–सुनाउने चलन थिएन। आमाले साँझको घर ब्यवहार सक्दा नसक्दै हजुरआमाले हामीलाई नीति कथाहरु सुनाएर सुताइसक्नु भएको हुन्थ्यो । बुबाको त कुरा गर्नै परेन । हामीले हात र साथ खोज्ने समयमा उहाँ कहिल्यै घरमा हुनुहुन्थेन ।
पछि कलेज पढ्दै गर्दा मैले 'बायोग्राफी’हरु पढ्ने क्रममा प्रसिद्ध ब्यक्तित्वहरुका छोराछोरीहरु राजकुमार अनि राजकुमारी अर्थात् परीको जस्तो बाल्यकाल बाँच्दछन् होला जस्तो अनुमान गर्थेँ ।
अमेरिकाका अति प्रसिद्ध राष्ट्रपति जोन एफ केनेडीको वृतान्तबारे पढ्दा शुरु शुरुमा उनकि एक मात्र छोरी क्यारोलाइन केनेडीले निश्चय पनि परी कथाको जस्तो रमाइलो चरित्र बाँचेकी होलिन् भन्ने कल्पना गरेको थिएँ । तर जब यथार्थमा उनले परी जस्तै जिन्दगी बाँच्न पाउनु पर्ने उमेरमा त्यति प्रिय र प्रभावशाली पिता गुमाउनु पर्दा कस्तो दुःखबाट गुज्रिनु परे होला भन्ने यथार्थले मलाई धेरै समयसम्म सताएको थियो ।
एउटा बच्चाको लागि बाबु नभएको घर बाबु भएको घर जस्तो कसरी हुन सक्थ्यो ?
तपाईले ताप नभएको सूर्यको कल्पना गर्न सक्नु हुन्छ भने शायद त्यस्तै हुन्छ बुबा नभएको घर।
म स्वयंले पनि अनुभव गरेको कुरा हो –पानी नभएको गहिरो इनार वा भनौँ दाउरा नभएको चिसो चुल्हो जस्तो हुन्छ पिताजी नभएको घर। सुख्खा बालुवाको घर जस्तो ठडिनै नसक्ने हुन्छ पिताजी नभएको घर।
बिल्कुलै निरश एवम रंगहीन इन्द्रेणी जस्तो महसुस हुन्छ घरको मूली नभएको घर।
मेरो तुलनामा त क्यारोलाइनको बाल्यकाल सयौँ गुणा बढी तनावपूर्ण थियो। हामी त अनुमान गर्न पनि सक्दैनौँ ११ वर्षकी नहुँदै उनका माइलाबुबा रबर्ट केनेडीलाई धर्म पिताको रुपमा स्वीकार गरेर पितृ वात्सल्य पाउँदै गर्दा फेरि उनको पनि हत्या भएपछि उनी कति विक्षिप्त भएकी थिइन् होला भनेर ।
तर समयले उनलाई विस्तारै परिपक्व एवम् निडर पनि बन्न सिकाएको हुनुपर्छ। आफ्नी आमा ज्याकलिनले मन पराएर दोस्रो बिहे गरेको एरिस्टोटल ओनासिसलाई ‘एक रत्ति पनि मन पर्दैन’ भनेर मुखै छोडेर भन्न सक्नुमा क्यारोलाइनको सत्य प्रतिको निर्मम इमानदारी देखिन्छ ।
उनले जीवनभर मानिसमा सधैँ हृदयले दिएको आवाजलाई ब्यक्त गर्न सक्ने क्षमता हुनुपर्छ भन्ने मान्यतामा विश्वास गरिरहिन् ।
पछि ज्याकलिनले क्यारोलाइनको पितृ वात्सल्य बिनाको रुखो बाल्यकाल देख्न नसकेर उनका कान्छा देवर स्वर्गीय टेडि केनेडीलाई पुत्रीको रुपमा स्वीकार्न अनुरोध गरेको यथार्थले पनि पुष्टि गर्छ उनको अप्ठेरो बाल्यावस्था ।
समयको कुटील ज्वारभाटाले चुटेको कठोर बाल्यकाल बितेपछि पनि केनेडी परिवारमा दुखद मृत्युका दर्दनाक क्षणहरु आउन रोकिएनन् ।
दुर्भाग्य टर्यो अब त लाउँला, खाउँला, रमाउँला भन्ने उमेरमा भाइ जोन एफ केनेडी जुनियरको जहाज दुर्घटनामा मृत्यु भएको दुःखद समाचारले फेरि एक पटक क्यारोलाइनलाई एकदमै निर्मम बनेर पिट्यो ।
लण्डन भ्रमणमा रहँदा उनलाई नै लक्षित गरी विष्फोटक पदार्थ पड्काउँदा भाग्यले बाँच्न सफल भइन् क्यारोलाइन । माथि उल्लेखितलगायत अरु धेरै पीडादायी क्षणहरुसँगै अगाडि बढ्दै गइन् उनी । हरेश खाइनन् क्यारोलाइनले ।
अमेरिकाको उत्थानका लागि, नागरिक हक र अधिकारको रक्षाका लागि उनले आफ्नो समय, अध्ययन र अनुभवको अधिकतम प्रयोग गर्दै सधैँ भिडिरहिन् ।
सन् २०१३ मा राजनीतिमा आउने प्रयासलाई किन बीचैमा त्यागिन् त्यो भविष्यमा कुनै दिन प्रकाशमा आउला ।
उनको आतिथ्यमा यतिबेला सिड्नी शहरमा केहि हप्ता अरु बस्दै गर्दा म समयलाई उनीप्रति दयालु बन्न र उनको कूटनीतिक यात्रा एकदमै सफल बनाउन भनी सविनय अनुरोध गर्ने बाहेक अरु के नै गर्न सक्छु र अब।