- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
गलेश्वर । म्याग्दीको बेनी नगरपालिका-२ खबराकी ५४ वर्षीया पवित्रा कार्कीको दिनचर्या दुई किलोमिटरको दूरी पार गर्दै आफ्नै बारीमा फलेको तरकारी लिएर बेनी बजारमा बेच्नमै व्यस्त हुन्छ ।
प्रत्येक साँझ बारीमा फलेको तरकारी टिपेर घरको छानामाथि शीतमा राख्ने र भोलिपल्ट बिहानै ती तरकारीलाई डोकोमा बोकेर बजारसम्म पुर्याएर बिक्री गर्ने उनको दिनचर्या हो ।
उनले मौसमअनुसार तरकारी खेती गरेकी छन् । दैनिक कति किलो तरकारी बिक्री हुन्छ यसको कुनै हिसाब नै छैन उनीसँग ।
‘आफ्ने बारीमा फलाएको तरकारीको के हिसाब राख्नु र ? बारीबाट टिप्यो, डोकोमा हाल्यो, भोलिपल्ट बिहानै बजार ल्यायो, बेच्यो, सिद्धियो’, कार्कीले भनिन्, ‘अन्तबाट ल्याएर बेच्ने भए पो यति किलो खरिद गरेँ भन्ने हिसाब हुन्छ । यी सबै आफ्नै बारीमा फलाइएका हुन् ।’
कार्कीले १० वर्षदेखि यसैगरी डोकोमा बोकेर तरकारी बेच्दै आएकी छन् । बेनी बजारमा आफूलाई ‘तरकारी आमै’ भनेर चिन्ने र बोलाउने गरेको कार्की बताउँछिन् ।
प्रत्येक बिहान बेनी बजारका घरघरमा तरकारी पुर्याउने कार्कीले दैनिक एक डोका तरकारी बिक्री गरेर दुई हजारदेखि तीन हजारसम्म कमाउने गरेको बताइन् ।
उनका अनुसार गत जेठदेखि साउनको तेस्रो सातासम्म बर्खे तरकारी बेचेर साढे दुई लाख रुपैयाँ भन्दा बढी कमाइ भएको छ ।
उनको बारीमा साग र धनियाँ भने कहिल्यै टुट्दैन ।
‘दैनिक थोरै भनेको दुई हजार आम्दानी हुन्छ । प्रायः तीन हजार पाँचसयसम्म भइरहन्छ । बर्खे तरकारी बेचेर दुई लाख ६५ हजार रुपैयाँ कमाएछु’, कार्कीले भनिन् ।
तरकारीबाट कमाएको पैसाले कार्कीले म्याग्दीको पर्यटकीय स्थल लभ्लीहिलमा चारतले पक्की घर बनाएकी छन् ।
कार्कीका पति चन्द्रबहादुर र छोरा नारायणले गाउँमा नै तरकारी खेती गर्छन् ।
चन्द्रबहादुर जिल्लाकै अगुवा कृषक हुन् ।
कार्कीले झैँ आफ्नै बारीमा फलेको तरकारी बेचेर विगत पाँच वर्षदेखि घर चलाउँदै आएकी छन् मंगला गाउँपालिकाकी चन्द्रमाया सापकोटाले पनि ।
३८ वर्षीया सापकोटाको दैनिक सात सयदेखि एक हजारसम्म आम्दानी हुने गर्दछ । उनले बर्खे बालीभन्दा हिउँदे बालीबाट बढी आम्दानी गर्ने गरेको बताइन् ।
‘हिजोआजको समयमा फलेको तरकारीबाट भन्दा हिउँदे बाली चना, केराउ, साग, जाँतोमा पिसेको दाल र अन्य गेडागुडीबाट मैले दिनको एक हजार पाँच सयसम्म आम्दानी गरेको छु’, उनले भनिन् ।
कार्की र सापकोटा जस्तै जिल्लाका धेरै महिला पछिल्लो समय तरकारी खेतीबाट आत्मनिर्भर बन्दै गएका छन् ।
जिल्लाका कृषकले अहिले गोलभेँडा प्रतिकिलो रू एक सय ५० सम्ममा बिक्री गर्दै आएका छन् ।
वर्षाको समयमा यहाँका किसानले आलु, प्याज, बर्खे खुर्सानी, भेन्टा रायोको सागलगायत हरियो तरकारी बेच्ने गर्दछन् ।
साथीले गरेको देखेर आफूले पनि सकिँदो रहेछ भनेर तरकारी खेती सुरु गरेको स्थानीय अप्सरा घिमिरेले बताइन् ।
बारीमा फलेको तरकारीलाई नजिकको बजारसम्म ल्याएर बेच्न सुरुसुरुमा लाज लागेको भन्दै उनले अहिले त उमेरले साथ दिएसम्म यही व्यापार गर्ने बताइन् ।
‘बजारका घरघरमा डुलाएर बेच्न मलाई पहिला त लाज लागेको थियो । अहिले आफ्नो पेसा/व्यापार हो भन्ने बुझेको छु । अब सकुञ्जेल यही काम गर्ने हो’, अप्सराले भनिन् ।
उनका अनुसार बेनी बजारमा प्रत्येक बिहान अर्ग्यानिक तरकारी किन्ने ग्राहकको भीड देख्न सकिन्छ । प्रायः ‘मर्निङ वाक’ गर्नेले तरकारी किनेर लैजान्छन् ।