उच्च तहका सबै नेताको सम्पत्ति छानबिन हुन्छ [भिडियो]
सुन तस्करी सामान्य हेलचेक्र्याइँले भएको होइन, ठूलै मान्छेको संलग्नता छ: कानूनमन्त्री
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १ शुक्रबार
596
Shares
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले उच्च तहका नेता सबैको सम्पत्ति छानबिन गर्ने दिशातर्फ सरकार अघि बढ्ने बताएका छन्। शुक्रबार नेपाल निजामती कर्मचारी युनियनको राष्ट्रिय भेला तथा विधान अधिवेशनमा कानूनमन्त्री गुरुङले सरकारले शीर्ष नेताहरूको सम्पत्ति छानबिन गर्ने बताएका हुन् ।
उनले सरकारको नीति तथा कार्यक्रममा उच्च तहका नेताहरू सबैको सम्पत्ति छानबिन गर्नुपर्ने कुरा उल्लेख रहेको भन्दै त्यसको कार्यान्वयन हुने बताए । गुरुङले सरकार मुलुकलार्ई सुशासन स्थापित गरेर अघि बढाउन प्रतिबद्ध रहेको बताए । बजारमा नक्कली भूटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरणसँगै अहिले सुन काण्ड आएको भन्दै सरकारले भ्रष्टाचारमा संलग्न जो कोहीलाई कारबाही गर्ने बताए । उनले भ्रष्टाचारको लिङ्ग, जात, धर्म हुँदैन भन्ने मान्यताका साथ सरकार अगाडी बढ्ने बताए ।
उनले सुन तस्करीलाई सामान्य हेलचेक्र्याइँका रूपमा हेर्न नहुने बताए । सामान्य हेलचेक्र्याइँले सुन तस्करी भएको हो भन्ने प्रतिवेदन बाहिर ल्याइएको भन्दै सुन तस्करी सामान्य व्यक्तिबाट हुनै नसक्ने जिकिर गरे ।
उनले भन्नुभयो, ‘आज मात्रै पढ्दै थिएँ मैले सुन तस्करी प्रकरण साधारण हेलचेक्र्याइँले गर्दा भएको हो रे । त्यति ठुलो पहेँलो हात्ती गेटबाट छिर्दा खेरी साधारण हेलचेक्र्याइँ हो भन्ने प्रतिवेदन आयो भन्ने पढ्दै थिएँ । तर, त्यस्तो होइन । हामीले धेरै कुरा सुधार्नुपर्ने रहेछ ।’