arrow

‘आहा रारा गोल्डकप’मा तीन लाख बचत

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १३ बुधबार
Aaha rara goldcup pokhara.jpg

लेखनाथ (कास्की)। सहारा क्लब पोखराद्वारा आयोजित ‘आहा रारा गोल्डकप’ फुटबलको २२औँ संस्करणमा रु तीन लाख १८ हजार बचत भएको छ ।

मङ्गलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा क्लबका महासचिव रामजीप्रसाद अधिकारीले यसअघिका तीन संस्करणमध्ये दुईवटामा कोरोना महामारी, आर्थिक मन्दीलगायत कारणले रकम बचत गर्न नसकिएको जानकारी दिए । बाइसौँ संस्करणको गोल्डकप २०७९ पुस १४ देखि २३ गतेसम्म पोखरा रङ्गशालामा भएको थियो । उक्त प्रतियोगितामा १० टोली सहभागी भएका थिए । गोल्डकपमा टिकट बिक्री एवं विभिन्न प्रायोजकबाट रु ९४ लाख ६५ हजार रकम सङ्कलन भएको थियो ।

महासचिव अधिकारीका अनुसार उक्त प्रतियोगितामा १० हजारभन्दा बढी दर्शकले खेल अवलोकन गर्दा टिकट बिक्रीबाट रु १७ लाख ८६ हजार सङ्कलन भएको थियो । सो गोल्डकपको उपाधि सङ्कटा क्लबले हासिल गरेको थियो भने अमेरिकी टोली भुटनीज युथ स्पोर्टस् क्लब मिनोसोना युएस उपविजेता बनेको थियो ।

खेलका माध्यमबाट युवालाई कुलतबाट जोगाउन २०५८ सालमा क्लबको स्थापना गरिएको थियो । फुटबल खेलाएरै क्लबले सहारा फुटबल एकेडेमी सञ्चालन गर्दै आएको छ । क्लबले ‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रुपमा विकास गरौँ’ नारासहित प्रत्येक वर्ष आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।

प्रतियोगितामा बचेको रकम पोखरा महानगरपालिका–१७ दोभिल्लास्थित एकेडेमी सञ्चालनमा उपयोग गरिँदै आएको क्लबले जनाएको छ । विभिन्न जिल्लाका २८ बालक राखेर प्रारम्भ गरिएको एकेडेमीले उनीहरूको बास, शिक्षाको प्रबन्ध र फुटबल प्रशिक्षणको काम निःशुल्करूपमा गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ