काठमाडौँ । नेपाली काँग्रेसले पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा सहरस्थित प्रहरी तालिम केन्द्रमा गरिएको आत्मघाती बम विस्फोटन घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
सोमबार भएको सो घटनामा ४४ जनाको ज्यान जानुका साथै १०६ जनाभन्दा बढी घाइते भएका थिए । नेकाका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा मंगलबार जारी विज्ञप्तिमा आपराधिक समूहबाट भएको सो घटनामा पाकिस्तान सरकार र जनताले व्यहोर्नुपरेको क्षतिप्रति नेका र आफ्नो व्यक्तिगततर्फबाट सहानुभूति प्रकट गरेका छन् ।
विज्ञप्तिमा घटनामा परी निधन भएका सबैप्रति पार्टीका तर्फबाट श्रद्धाञ्जलि अर्पण गर्नुका साथै दिवङ्गत आत्माको चिर शान्तिको कामनासमेत गरिएको छ । रासस