- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । एसिया कप क्रिकेट अन्तर्गत भारत र पाकिस्तानबीचको सुपर फोरको खेल आज पनि निरन्तर भएको छ ।
श्रीलंकाको कोलम्बोमा आइतबार भएको खेलमा वर्षाले खेल रोकिनुपूर्व भारतले पहिले ब्याटिङ गर्र्दै २४.१ ओभर खेल्दै २ विकेटको क्षतिमा १४७ रन बनाएको थियो ।
पहिलो विकेटका लागि १२१ रनको साझेदारी गर्ने क्रममा शुबमन गिलले ५८ तथा कप्तान रोहित शर्माले ५६ रन बनाएका थिए ।
त्यसपछि पानी परेपछि नरोकिँदा आज दिउँसो ३ः१५ बाट निरन्तर हुनुपर्ने थियो । तर आज पनि वर्षा भएपछि पौने २ घण्टापछि भारतले ब्याटिङलाई निरन्तर दिएको छ ।
कुनै ओभर घटाइएको छैन । आज केएल राहुल १७ तथा विराट कोहली ८ रनबाट अगाडि खेलेका थिए ।
आज पनि खेल पूरा हुन सम्भव नभए दुवै टिमले १–१ अंक बाँड्ने छन् । भारत र पाकिस्तानबीचको क्रिकेट खास हुने गर्छ । तर एउटै समूह चरणमा रहेका यी दुई टोलीको समूह चरणको खेल पनि वर्षाले पूरा हुन पाएको थिएन ।
यता, सुपर फोरमा लगातार दुई खेल हारेसँगै बंगलादेश एसिया कप क्रिकेटबाट एक खेलअघि नै बाहिरिएको छ ।
सुपर फोरको पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको बंगलादेश दोस्रो खेलमा शनिबार राति श्रीलंकासँग हारेको हो ।
कोलम्बोमा भएको खेलमा बंगलादेश २१ रनले पराजित भयो । श्रीलंकाले पहिले ब्याटिङ गर्दै प्लेयर अफ द म्याच सदीरा समराविक्रामाको ९३ रनको मद्धतले ९ विकेटको क्षतिमा २५७ रन बनायो ।
जवाफमा बंगलादेशले ४८.१ ओभरमा अलआउट हुँदै २३६ रनमात्र बनाउन सक्यो । टहिड हृडोएले ८२ रन बनाए पनि टिमलाई जिताउन सकेनन् ।
यो हारले बंगलादेश भारतसँग खेल्नुअघि नै सुपर फोरबाट बाहिरिएको छ ।
सुपर फोरमा खेलेका १–१ खेलमा जित हासिल गर्दै पाकिस्तान र श्रीलंकाले २–२ अंक बटुलेका छन् । शीर्ष दुई टिमले उपाधिका लागि फाइनल खेल्नेछन् ।
पहिलो पटक एसिया कप खेलेको नेपाल र अफगानिस्तान भने समूह चरणबाटै बाहिरिएका थिए ।
नेपाल भारतसँग १० विकेटले र पाकिस्तानसँग २३८ रनले पराजित भएको हो । नेपाली टिमको निकै नै प्रशंसा भएको थियो । भारतविरुद्ध नेपालले २३० रन बनाएको थियो । पाकिस्तानले नेपाली बलर सामु ब्याटिङ गर्न निकै संघर्ष गर्नुपरेको थियो ।