arrow

हानझाव एसियाडमा २९ खेलमा दुई सय ५३ खेलाडीले खेल्ने, प्रधानमन्त्री प्रचण्डले गरे बिदाइ

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २८ बिहिबार
asiad-2023-nepali-players.jpeg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १९ औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली टोलीको बिदाइ गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री दाहालले टोलीलाई बिदाइ गरेका हुन् । 

केही खेलका खेलाडी वैदेशिक प्रशिक्षण र उपत्यका बाहिर प्रशिक्षणमा रहेकाले कार्यक्रममा उपस्थित थिएनन् । आगामी सेप्टेम्बर २३ देखि चीनको हानझावमा हुने १९ औँ एसियाडमा कुल २९ खेलमा नेपालका दुई सय ५३ खेलाडी सहभागी हुँदै छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले एसियाली खेलकुदका लागि नेपाली खेलाडीलाई चीनमा राम्रो व्यवस्थापन भइसकेकाले चिन्ता नलिन आग्रह गर्दै ‘यस पटक नेपालले राम्रो गर्ने विश्वास व्यक्त गरे । उनले आफू पनि एसियाडको उद्घाटन सत्रमा सहभागी हुने जानकारी गराए । 

उनले खेलकुद मात्र यस्तो एउटा क्षेत्र हो जहाँ खेलमार्फत ठूला युद्ध र मानव सिर्जित विपत्तिहरु समाधान हुने बताएका छन् ।

युवा तथा खेलकुद मन्त्री डिगबहादुुर लिम्बूले सिंगो नेपाली जनता खेलाडीहरुको साथमा रहने उल्लेख गर्दै उच्च मनोबलका साथ प्रदर्शन गर्न प्रोत्साहन गरे । अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्न जाँदा नेपाली खेलाडी विमानस्थलमा घण्टौँसम्म लाइनमा बस्नुपर्ने दुःखद अवस्था सिर्जना हुँदै आएकाले आगामी दिन उनीहरुका लागि रातो पासपोर्ट बनाउने प्रस्ताव आफूले अगाडि बढाउने मन्त्री लिम्बूले बताएका छन् ।

सोही कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले तीन चरणको छनोट प्रतियोगिताबाट स्वदेश र विदेशमा प्रशिक्षण गरी तयारी गरेका नेपाली खेलाडीले १९ औं एसियाडमा सुखद नतिजा ल्याउने विश्वास व्यक्त गरेका छन् ।

सदस्यसचिव घिसिङले नेपाली खेलाडीहरुको तयारी राम्रो रहेको उल्लेख गर्दै नतिजा पनि सुखद हुने विश्वास व्यक्त गरेका हुन् । 

एसियाडकै तयारीका क्रममा नेपाली खेलाडीले अन्तर्राष्ट्रिय एक्सपोजर पनि पाएको र चरणबद्ध प्रशिक्षणको तयारी पनि राम्रो भएकाले सुखद नतिजा आउने सदस्यसचिव घिसिङले बताएका छन् ।

बिदार्ईका अवसरमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले कुनै पनि अन्तर्र्राष्ट्रिय प्रतिस्पर्धा अगाडि समयमा नै सरकारद्वारा बजेटको सुनिश्चिता भएर नेपाली खेलाडीले तयारी गर्न पाए उत्कृष्ट नतिजा ल्याउने विश्वास व्यक्त गरे । 

राखेपले विगतको प्रदर्शन र वर्तमानको नतिजाको आधारमा तेक्वान्दो, कराते र बक्सिङका खेलाडीलाई पहिलो प्राथमिकतामा राखेर तयारी गर्दै आएको थियो । नेपाली टोलीको सेफ दी मिसनमा सदस्यसचिव घिसिङ तथा डेपुटी सेफ दी मिसनमा राखेप बोर्ड सदस्य अन्जन धमला र ओलम्पिक कमिटीका उपाध्यक्ष चतुरानन्दराज वैद्य छन् ।

हाङझाव एसियाडमा ४५ राष्ट्रका १२ हजार पाँच सय खेलाडीले कुल ४० खेलमा चार ८१ विधामा चुनौती प्रस्तुत गर्दैछन् । 

नेपालका तर्पmबाट एक सय २७ महिला र एक सय २६ पुरुष खेलाडीले चुनौती प्रस्तुत गर्ने छन् । 

परिषद्को बैठक
यसअघि राष्ट्रिय खेलकुद परिषद्को ११७ औँ बोर्ड बैठक बिहीबार बसेको थियो । युवा तथा खेलकुद मन्त्री लिम्बूको अध्यक्षतामा बसेको बैठकले १९ आँै  एसियाली खेलकुदमा सहभागी हुने खेलाडीसहितको नेपाली टोलीको संख्या टुंगो लगाएको थियो । 

२९ खेलका १२७ महिला र १२६ पुरुष गरी २५३ खेलाडीसहितको टोली टुंगो लगाएको हो । यस्तै बैठकले कर्मचारीको बढुवा सम्वन्धि पदपूर्ति समितिले गरेको सिफारिस अनुमोदन गरेको छ । 

लामो समय देखि रोकिएको बढुवा प्रक्रियालाई अघि बढाउने गरि अघिल्लो बोर्ड बैठकले पदपूर्ति समिति गठन गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ