arrow

भारत र श्रीलंका मैदानमा, श्रीलंका ब्याटिङमा, त्रास वर्षाको

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ३१ आइतबार
asia-cup-final-2023-09-17a.jpg

काठमाडौँ । एसिया कप क्रिकेटको उपाधिका लागि भारत र श्रीलंका भिडिरहेका छन् । खेल श्रीलंकाको घरेलु मैदान कोलम्बोमा भइरहेको छ । 

आर प्रेमदासा क्रिकेट मैदानमा टस जितेर श्रीलंकाले पहिले ब्याटिङ गरिरहेको छ । तर वर्षाका कारण भने खेलमा असहज परिस्थिति आइलागेको छ । 

यसअघि नै वर्षा हुने सम्भावना ९० प्रतिशत आँकलन गरिएको थियो । सोहीअनुसार टस हुनासाथ वर्षा हुँदा आधा घण्टा बढी समय खेल हुन सकेन । मौसम अझै पनि खुल्न सकेको छैन । 

खेल समीकरण
यो खेल दुवै टिमका लागि निकै नै चुनौतीपूर्ण रहेको छ । भारतले पाँच वर्षको उपाधि खडेरी चिर्ने प्रयास गर्नेछ भने साविक विजेता श्रीलंका सामु उपाधि रक्षा गर्ने चुनौती छ । 

दुवै टिम आठौँ पटक एसिया कपको उपाधिका लागि फाइनलमा भिड्दै छन् । यसअघि भएका सात आपसी भिडन्तमा भारतले ४ तथा श्रीलंकाले ३ पटक उपाधि जितेको थियो । 

हेड टु हेड 
भारत र श्रीलंकाबीच अहिलेसम्म १६६ एक दिवसीय खेल भइसकेको छ । 

जसमा भारतले ९७ तथा श्रीलंकाले ५७ खेल जितेको छ । ११ खेल भने नतिजाविहीन भएको थियो । एक खेल बराबरी (टाइ) मा सकिएको थियो ।  
एसिया कपमा यी दुईबीच २० खेल भएकामा दुवै टिमले १०–१० खेल जितेका छन् । 

यो श्रृंखलामा भारतका शुबमन गिल सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले ५ खेलमा २७५ रन बनाएका छन् । त्यसतै कुलदीप यादव सबैभन्दा बढी ९ विकेट लिने खेलाडी हुन् । 

श्रीलंकाका तर्फबाट सदिरा समराविक्रममाले सबैभन्दा बढी २१५ रन बनाएका छन् । त्यस्तै मथिरा पथिरानाले ११ विकेट लिएका छन् । 

यो पिच स्पिनरका लागि मद्धतकार रहने छ । त्यस्तै यो ब्याटिङ पिच रहेकोसमेत विज्ञहरुले बताएका छन् । 

तीव्र गतिका बलरलाई भने विकेट लिन मुस्किल पर्ने क्रिकेट पंडितहरुको अनुमान छ । 

त्यसो त यो फाइनल कसले जित्छ भन्ने कौतुहल उत्तिकै छ । निकै नै फर्ममा रहेको भारतले गत शुक्रबारको खेलमा बंगलादेशसँग ६ रनले हारेपछि झस्केको छ । 

सुपर फोरमा ४–४ अंकसहित भारत र श्रीलंकाले फाइनल खेल्न लागेका हुन् । बंगलादेश र पाकिस्तानले समान २–२ अंक बटुले । 

पहिलो पटक एसिया कप खेलेको नेपाल र बंगलादेश भने समूह चरणबाटै बाहिरिएका थिए । 

नेपालले पहिलो खेलमा पाकिस्तानसँग २३८ रनको तथा भारतसँग १० विकेटको हार बेहोरेको थियो । पाकिस्तानसँग आधा समय बढी बलिङमा लिएको नियन्त्रण र भारतविरुद्ध बनाएको २३० रन नेपालका लागि प्रशंसायोग्य थियो । 

अहिलेसम्म भएका १५ संस्करणमा भारतले सात पटक उपाधि जितेको छ । भारत ३ पटक उपविजेता भएको छ । 

श्रीलंका ६ पटक विजेता तथा ६ पटक उपविजेता भएको छ । पाकिस्तानले २ पटक उपाधि जितेको छ । ३ पटक उपविजेता भएको छ । 

यसपटक फाइनलमा पुगेसँगै भारत ११ पटक फाइनलमा पुगेको छ भने श्रीलंका १३ औँ पटक फाइनलमा पुगेको छ ।  
 



नयाँ